८० रुपयाँ तिर्न २ हजार खर्च
![८० रुपयाँ तिर्न २ हजार खर्च](https://annapurnapost.prixacdn.net/media/albums/BIDHUIT-pradhikaran-baitadi_20181223062345_GV1HtfJyO7.jpg)
बैतडी : बैतडीको डिलाशैनी-६ गोकुलेश्वरका कृष्ण नाथको घरमा बिजुलीको बिल उठ्छ ८० रुपैयाँ । तर महसुल तिर्न जाँदा उनको दुई हजार रुपैयाँ चट् हुन्छ । ‘प्रत्येक महिना ८० रुपैयाँ तिर्न सदरमुकाम पुग्नुपर्छ,’ उनले भने, ‘गाडी भाडामै एक हजारभन्दा बढी खर्च हुन्छ । खाना खाँदा र अरुखर्च गरेर दुई हजार नाघ्छ।’
गाउँमा विद्युत विस्तार भएदेखि महसुल बुझाउन सदरमुकाम पुग्नुपर्ने बाध्यता छ । जिल्लाका डिलाशैनी, दोगडाकेदार, सुर्नया गाउँपालिका र पाटन नगरपालिकाका नागरिकलाई बिजुलीको बिल तिर्न समस्या पर्दै आएको छ । महसुल काउन्टर नजिकै छैन । ‘विद्युत महसुल नबुझाउँ भने पनि भएन । बुझाउन जाँदा पनि यो बिघ्नको खर्च छ,’ गोकुलेश्वरकै लोक नाथले गुनासो गरे, ‘यसबारे विद्युत प्राधिकरणलाई जानकारी गराए पनि कुनै पहल हुन सकेको छैन् ।’
कच्ची बाटोमा जीपको महंगो भाडा तिर्नुपर्दा खर्च बढेको सुर्नया-५ का दीपेन्द्रबहादुर विष्टले बताए ।महसुल बुझाउने व्यवस्था पाटन र सदरमुकाममा मात्र छ । ‘हामीले महसुल तिर्न पाटन पुग्नुपर्छ । भनेको समयमा गाडी पाइँदैन,’ पाटन-१० का दीपक महराले भने, ‘नगरपालिका भनेर मात्र के गर्नु ? यत्रो झन्झट बेहोर्नुपरेपछि !’
बैतडीमा महसुल काउन्टर नहुँदा बिजुलीको बिल तिर्न सदरमुकाम नै पुग्नुपर्ने बाध्यता छ भने चार स्थानीय तह विद्युत सेवाविहीन छन्।
प्राधिकरणलाई नजिकै काउन्टर खोल्न आग्रह गरिएको डिलाशैनी-६ का भण्डारीले बताए । ‘तर सुनुवाइ भएन,’ उनी भन्छन् ।प्राधिकरणले भने उपभोक्ताबाट समस्या आएपनि जिल्लालाई काउन्टर सञ्चालन गर्ने अधिकार नभएको जनाएको छ । ‘काउन्टर विस्तार गर्न केन्द्रको निर्णय चाहिन्छ,’ विद्युत प्राधिकरण बैतडी वितरण केन्द्रका प्रमुख मोहनदेव जोशीले भने, ‘हामीले यताको समस्याबारेमा केन्द्रमा जानकारी गराएपनि अहिलेसम्म कुनै परिपत्र आएको छैन ।’
सुरक्षाको अभाव, कर्मचारी अभाव, भौगोलिक विकटताजस्ता कारणले तत्काल अन्य ठाउँमा महसुल संकलन काउन्टर सञ्चालन गर्न नसकिने जोशीको भनाइ छ । ‘टाढाका उपभोक्ताको सजिलोका लागि हामीले एकै पटक तीन महिनाको रिडिङ गरेर महसुल लिने गरेका छौं,’ उनले भने ।
चार स्थानीय तह विद्युतविहीन
बैतडीका चार स्थानीय तहमा अझै बिजुली पुगेको छैन । पुरचौँडी नगरपालिका, मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र सिगास गाउँपालिकामा अझै विद्युत विस्तार भएको छैन । यी ठाउँका अधिकांश बासिन्दा विद्युत सेवाबाट वञ्चित छन् । बिजुली नहुँदा धेरै समस्या खेप्नुपरेको सिगास गाउँपालिका अध्यक्ष हरिसिंह धामीले बताए । ‘राष्ट्रिय प्रशारणको पहुँच नहुँदा सोलारको भरमा गाउँपालिकाको काम गरिरहेका छौं,’ उनले भने, ‘अरु कार्यालयका काम पनि प्रभावित हुन्छन् ।’
मेलौली नगरपालिकाको एउटा वडामा बिजुली पुगेको छ । तर अन्य वडामा बिजुली नपुगेको नगरपालिका प्रमुख कृष्णसिंह नायकले बताए । ‘कतिपय स्कुलमा कम्प्युटर शिक्षा सुरु गर्ने भनिएको थियो । बिजुली अभावमा त्यो काम गर्न सकिएको छैन,’ उनले भने, ‘घाम नलाग्दा सोलारले पनि काम गर्दैन । त्यसैले कार्यालयको काममा बाधा हुने गरेको छ ।’
पुरचौँडी नगरपालिकाबासी बेलाबेला सञ्चार सेवाबाट वञ्चित हुन्छन् । नेपाल टेलिकमको टावर समेत सोलारकै भरमा चलिरहेको छ । घाम नलागे त्यसले काम गर्दैन र टेलिफोन नचल्ने स्थानीय अनिरुद्र जोशीले बताए ।
यसबाट स्वास्थ्य सेवा समेत प्रभावित भएको पुरचौँडीका स्वास्थ्य संयोजक विनोदकुमार कुँवरको भनाइ छ । ‘धेरै भ्याक्सिन फ्रिजमा राख्नुपर्छ । फ्रिज चल्दैन । त्यसैले भ्याक्सिन बिग्रिने गरेको छ,’ उनले बताए ।
राष्ट्रिय जनगणना २०६८ अनुसार बैतडीमा ४५ हजार १ सय ९१ घरधुरी छन् । तीमध्ये साढे १२ हजारमा मात्रै बिजुली पुगेको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र बैतडीले जनाएको छ । जिल्लाका केही ठाउँमा विद्युत विस्तारको काम भइरहेको वितरण केन्द्र प्रमुख जोशीले बताए ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)