सयौं बिघा नेपाली जमिन भारतीय कब्जामा

सयौं बिघा नेपाली जमिन भारतीय कब्जामा

टीकापुर :  कैलालीको दक्षिणी सीमावर्ती भजनी नगरपालिका–३ कुसुमघाटमा भारतीय पक्षले सीमा मिचेको छ। भारतीय पक्षले नेपाल–भारतको सीमा स्तम्भ नेपालतर्फ सारेर नेपालीको खेतीयोग्य जमिन कब्जा गरेको हो। स्थानीयका अनुसार सय बिघाभन्दा बढी खेतीयोग्य जमिन भारतीय पक्षले कब्जा गरी खेती गर्दै आएका छन्।

केही समयअघि सीमा विवाद अन्त्य गर्न आएको दुई देशका टोलीलाई स्थानीयले सीमा स्तम्भ पुरानै स्थानमा राख्न माग गरेका थिए। दुई देशको सिमाना छुट्याउन आएको टोलीले भारतीय पक्षले सीमा सारेकै ठाउँबाट नापी गर्न थालेपछि स्थानीयले सीमा स्तम्भ पुनर्निर्माणमा अवरोध गरेका थिए। टोलीले विवादित १०७ नम्बर सीमा स्तम्भ गुगल म्यापका आधारमा भन्दै हालकै स्थानमा पुनर्निर्माण गर्न खोजेपछि स्थानीयले अवरोध गरेका हुन्। ०५६ सालमा उक्त सीमा स्तम्भ भारतीयले एकलौटी ढंगले नेपालतर्फ झन्डै ५० मिटर सारेको जनाएका छन्।

कुसुमघाटका स्थानीय जनक साउदले त्यसबेला ‘गुगल म्याप’ प्रविधिबारे आफूहरूलाई जानकारी नभए पनि भारतीय पक्षले एकलौटी ढंगले सीमा सारेको बताए। ‘हाम्रो आँखाअगाडि स्तम्भ सारेका हुन्। दुई देशका टोलीले अहिलेकै स्तम्भलाई आधार मान्ने भनेपछि हामीले विरोध गरेका हौं’, साउदले भने, ‘त्यो सीमा स्तम्भ सार्ने बेला गुगल म्याप प्रविधि नै थिएन, कसरी पत्याउन सकिन्छ।’

भारतीय पक्षले दसगजा नजिकैको नेपाली बस्ती हटाउन खोजेपछि सीमा स्तम्भ सारिएको बारे स्थानीयले थाहा पाएका थिए। भारतीय पक्षको प्रतिकार गर्दा पटक–पटक झडप भएको साउदले बताए। भारतीय पक्षले एकलौटी ढंगले ५० मिटर नेपालतर्फ सारेको सीमा स्तम्भ ०६४ सालमा विभिन्न विद्यार्थी संगठनले भत्काएका थिए।

सीमा स्तम्भभन्दा दक्षिणतर्फ भारतको भूभागमा नेपालीको करिब ५० बिघा जमिन परेको छ। केही जमिनमा अझै पनि नेपालीले खेती गर्दै आएका छन्। त्यहाँ रहेका घर भारतीय पक्षको आक्रमणले हटाउन बाध्य भएको स्थानीयको गुनासो छ। स्थानीयका अनुसार केही वर्षअघि १०८ नम्बर सीमा स्तम्भसमेत सारिएको थियो।

१०६ नम्बर सीमा स्तम्भ त्यसअघि मोहना नदीले बगाएको छ। ‘स्तम्भ नदीले बगाएपछि दुई देशको सीमा छुट्याउने आधार नै हराएको छ। झन्डै ५०÷६० बिघा जमिन भारतीय भूमिमा मिसिएको छ’, स्थानीय रमेश बोहराले भने, ‘भारततर्फ गएको जमिन स्थानीयले खनजोत गर्न पाएका छैनन्’, बोहराले भने। ०२४ सालदेखि बसोवास गर्दै आएका नेपालीको घर मोहना नदीपारि थियो।

स्थानीय हर्क साउदले नदीले सीमा स्तम्भ बगाएकाले नेपालीलाई भारतीयले दुःख दिन थालेपछि नदीवारि बसाइँ सरेको बताए। ‘झन्डै पाँच सय घरपरिवार नदीपारि थिए’, उनले भने, ‘नदीले सीमा स्तम्भ बगायो। भारतीयले दुःख दिन थालेकाले कुसुमघाटमा बस्न थालेका हौं।’

सीमा स्तम्भ सारिएको बारे पटक–पटक सरकारी पक्षलाई जानकारी गराउँदासमेत वास्ता नगरेकाले नेपालको सयौं बिघा जमिन भारतीय पक्षले खनजोत गर्दै आएको साउदले बताए। ‘०२४ सालयता नेपालको सयौं बिघा जमिन भारतीयले मिचेका छन्। खेती गरिरहेका छन्’, साउदले भने। भजनी नगरपालिकाका प्रमुख शेरबहादुर चौधरीले भने, ‘सीमा मिचिने क्रम जारी छ। सीमा मिचिएको बारे माथिल्लो तहमा जानकारी गराएका छौं।’

स्थानीयले अवरोध गरेपछि सीमा विवाद त्यत्तिकै छाडेर दुई देशका टोली फर्किएका थिए। टोलीले जिल्लाका कतिपय सीमा स्तम्भको स्पष्ट रेखांकन गर्न सकेको छैन। कैलालीमा रहेका ५३ जंगे (मुख्य) र दुई सय २९ सहायक सीमा स्तम्भमध्ये एक सय ३२ सीमा स्तम्भ गायव छन्। जसमध्ये २० जंगे (मुख्य) र एक सय ३ सहायक सीमा स्तम्भ मात्रै छन्। कतिपय सीमा नदीले बगाएको छ।

...


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.