आफैले चलाएको अटोरिक्साले किच्दा चालकको मृत्यु
तौलिहवा : आफैले चलाएको अटोरिक्साले किचेर कपिलवस्तुमा अटोरिक्सा चालकको ज्यान गएको छ। लु १ ह ६५४ नम्बरको अटोरिक्साले किचेर ३० वर्षीय ओमबहादुर नेपालीको ज्यान गएको हो। घटना शिवराज नगरपालिका २, हल्लानगरको मन्दिरदेखि १सय मिटर उत्तरपट्टि भित्री बाटोमा भएको हो
छारे (मृगी) रोगका बिरामी नेपाली मध्यरात श्रीमतीसहित झारफुकका लागि अटोरिक्सा चलाएर हल्लानगर पुगेका थिए। झारफुकपछि फर्किंदै गर्दा एक्कासी छारे (मृगी) आएपछि आफैंले चलाएको अटोरिक्साबाट उनी खसेका थिए।
अटोरिक्साबाट खस्दा पछाडिको चक्काले उनलाई किचेको थियो। अटोरिक्सामा उनकी श्रीमती सन्तोषी नेपाली बसेकी थिइन् । चालकबिना अटोरिक्सा अनियन्त्रित भई केही अगाडि बाटो छेउ थुपारिएको परालमा अल्झिएर रोकिएको नेपाली श्रीमतीको भनाई उदृत गर्दै प्रहरीले जनाएको छ।
दुर्घटनामा श्रीमती सन्तोषी भने सकुशल छन्। दुर्घटना मंगलबार बिहान साढे २ बजेको हो। दुर्घटनालगत्तै गम्भीर घाइते नेपालीलाई उपचारका लागि चन्द्रौटास्थित संजीवनी सामुदायिक अस्पताल पुर्याइएको थियो। तर चेकजाँच गर्दा नेपालीको ज्यान गएको उपचारमा संलग्न चिकित्सकले घोषण गरे।
मृतक नेपालीको शव पोष्टमार्टमका लागि बिहान ४ बजे नै शिवराज अस्पताल बहादुरगञ्ज पठाइएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक महेश्वर उपाध्यायले जानकारी दिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक उपाध्यायले बताए।
मृतक नेपालीको स्थायी घर ढाकाबाङ्ग ६, अर्घाखाँची हो। उनी केही वर्षदेखि कपिलवस्तुको शिवराज नगरपालिका ५, चन्द्रौटामा डेरा लिएर परिवारसहित बस्दै आएका थिए। उनी अटोरिक्सा चलाएर जीविकोपार्जन गर्दै आएका थिए।