अवार्ड पाएपछि खुसीले नाचे सलाह
लन्डन : इजिप्टका मोहमद सलाहले सन् २०१८ को अफ्रिकन वर्ष खेलाडी अवार्ड जितेका छन् । २६ वर्षीय सलाहले लगातार दोस्रो पटक यो अवार्ड हात पारेका हुन् ।
इङ्लिस क्लब लिभरपुलबाट व्यावसायिक फुटबल खेल्ने सलाहले अवार्ड जित्ने क्रममा सेनेगलका साडियो माने र गाबोनका पियर एमरिक एउबामियाङलाई पछि पारेका थिए । सेनेगलमा मंगलबार राति आयोजित विशेष समारोहबीच सलाहलाई अवार्ड प्रदान गरियो ।
सलाहले इजिप्टलाई रुस विश्वकपमा छनोट गराउन महत्वपूर्ण योगदान गरेका थिए । क्लब फुटबलमा पनि सलाहले गत वर्ष उत्कृष्ट प्रदर्शन गरे । लिभरपुलका लागि सलाहले गत सिजन ४४ गोल गरेका थिए । सलाहको उत्कृष्ट प्रदर्शनमा लिभरपुल गत वर्ष च्याम्पियन्स लिगको फाइनलमा पुगेको थियो । सलाहले गत डिसेम्बरमा बीबीसी अफ्रिकन वर्ष खेलाडी अवार्ड पनि जितेका थिए । उनले बीबीसी अवार्ड पनि लगातार दोस्रो पटक जितेका हुन् ।
सलाह यसपटक अफ्रिकन ड्रिम टिममा समेत अटाएका छन् । ‘म सानैदेखि यो अवार्ड जित्ने सपना देख्थेँ । अहिले आएर लगातार दुई पटक अवार्ड जित्दा निकै खुसी लागेको छ’, सलाहले भने । अवार्ड समारोहमा सलाह खुसीले नाचेका पनि थिए ।
यसैगरी उत्कृष्ट महिला खेलाडीको अवार्ड दक्षिण अफ्रिकाकी थेम्बी कागतल्नाले जितिन् । उत्कृष्ट युवा खेलाडीको अवार्ड मोरक्कोका असरफ हामिमी, उत्कृष्ट प्रशिक्षकको अवार्ड मोरक्कोका हार्वे रिनार्ड, उत्कृष्ट महिला प्रशिक्षकको अवार्ड दक्षिण अफ्रिकाकी डेसिर्रे इलिस, उत्कृष्ट टिम अवार्ड माउरिटेनिया र उत्कृष्ट महिला टिम अवार्ड नाइजेरियाले जितेको छ । यसैगरी अफ्रिकन फुटबल महासंघले सन् २०१९ को अफ्रिका कप अफ नेसन्स आयोजनाको अधिकार इजिप्टलाई दिएको छ ।