म्यानचेस्टर सिटीको नौ गोल
लन्डन : इङ्लिस लिग कप फुटबलको बिहीबार बिहान भएको खेलमा म्यानचेस्टर सिटीले विपक्षीको पोष्टमा नौ गोल ठोकेको छ। काराबाओ कपको नाममा चर्चित उक्त प्रतियोगिताको सेमिफाइनलको पहिलो लेग खेलमा म्यानचेस्टर सिटीले बर्टन अल्बियोनलाई ९-० गोलले हराएको हो।
घरेलु मैदान इत्तिहाद रंगशालामा खेलिएको एकपक्षीय खेलमा म्यानचेस्टर सिटीले पहिलो हाफमा चार र दोस्रो हाफमा पाँच गोल गर्यो। म्यानचेस्टर सिटीका लागि ग्याब्रियल जिसस एक्लैले चार गोल गरे। यसैगरी केभिन डी ब्रुन, ओलेकजेन्डर जिनचेन्को, फिल फोडेन, कायल वाल्कर र रियाद माहरेजले पनि एक/एक गोल थपे।
म्यानचेस्टर सिटीले ३१ वर्षपछि कुनै पनि खेलमा आठभन्दा बढी गोल गरेको हो। यसअघि म्यानचेस्टर सिटीले सन् १९८७ को नोभम्बरमा हडर्सफिल्ड टाउनलाई १०-१ गोलले हराएको थियो। म्यानचेस्टर सिटीले पछिल्लो चार दिनयता खेलिएका दुई खेलमा १६ गोल गरिसकेको छ। गत आइतबार खेलिएको एफए कपको तेस्रो चरणमा पनि म्यानचेस्टर सिटीले रोथरहाम युनाइटेडलाई ७-० गोलले हराएको थियो।
म्यानचेस्टर सिटी काराबाओ कपको साविक विजेता पनि हो। तल्लो डिभिजनका क्लबविरुद्घ लिग कपमा खेलिएका पछिल्ला १५ मध्ये १३ खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ। दुई खेल भने बराबरीमा सकिएको छ। ती १५ खेलमा म्यानचेस्टर सिटीले ५० गोल गरेको छ।