थारु बस्तीमा माघीको रौनक सुरु

थारु बस्तीमा माघीको रौनक सुरु

दाङ : थारु समुदायको विशेष पर्वका रुपमा रहेको माघीको रौनक थारु समुदायमा बढेको छ। नयाँ वर्षको रुपमा लिइने माघीले थारु समुदाय र बस्तीमा रौनक बढाएको छ। पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारु गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको छ। पुसको अन्तिमदेखि माघ महिनाको मध्यसम्ममा थारु समुदायले माघी पर्व मनाउने गर्दछन्।

थारु समुदायमा माघीलाई विशेष महत्वका साथ हेरिन्छ। माघीदेखि नै समुदायमा नयाँ कामको र नयाँ व्यवस्थ‍ा लागु हुने भएकाले यसलाई विशेष रुपमा हेरिने गरेको थारु अगुवा चूर्ण बहादुर चौधरीले बताए।

माघीलाई थारु समुदायमा आ-आफ्नै तरिकाले मनाउने तर नीति व्यवस्था र गाउँ सञ्चालन प्रक्रिया भने एक वर्षलाई एउटै प्रकृतिको हुने हुँदा यसले रोचकता बढाएको चौधरीले बताए। माघी आएसँगै थारुगाउँमा माघीको रौनक र चहलपहल छुट्टै बढेको छ, थारु अगुवा चौधरीले भने, 'संकृतिको संरक्षण र परिस्कृत गर्ने सोच पनि पलाएको छ।'

मुक्तिको पर्वको रुपमा पनि हेरिने माघी स्वतन्त्रताको अनुभुती गरेर धुमधामका साथ मनाउने गरिएको उनले बताए। कामबाट मुक्त भएर तथा स्वतन्त्ररुपमा मनाइने भएकोले यसलाई मुक्ति दिवसको रुपमा थारु समुदायले हेर्ने गरेको चौधरीले बताए। 

माघी थारू समुदायको चाड मात्रै नभएर यस अवसरमा नयाँ रीतिथिति, नयाँ अगुवा (मतहवा,भल्मन्सा, मतहवा, बरघर) चुन्ने र नीति नियम निर्माण गर्ने पर्वको रुपमा रहेको चौधरीको भनाई छ। पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा थारु समुदायको बाक्लो बस्ती रहेकाले पनि माघीको यी जिल्लाहरुमा अझ विशेष महत्वकासाथ मनाउने परम्परा छ।

गाउँको अगुवा कन्दार देखि चौकीदार सम्म चुनिने, वर्ष भरिकालागि कसलाई के जिम्मेवारी दिने, घरको मूली को बन्ने ? लेनदेन घर सल्लाहलगायतका विषयमा छलफल हुने भएकोले यसलाई नयाँ आर्थिक वर्षको रुपमा पनि थारु समुदायले लिने गरेको तुलसीपुर ६  मोतिपुरका थारु युवा अगुवा प्रेम चौधरीले बताए।

थारु समुदायमा विशेष गरेर पुसको अन्तिम दिन देखि माघीको प्रभाव देखिने गर्दछ। अहिले थारु गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा संकलन, पिसान कुटान, रंगरोगन, जाँड बनाउने ढिक्रि पकाउने तथा खानाका अन्य प्रकार निमार्ण पुरा गरिएको छ।

माघीकै अवसरमा विभिन्न ठाउँमा मेला महोत्सवको समेत आयोजन हुन गर्दछन्। मुख्य गरेर दाङको रिहार, बाह्र कुने, बर्दियाको ठाकुरद्वारा , कैलालीको बेहडाबाबा लगायतका स्थानमा मेला लाग्ने गरेको छ। 

थारु समुदायमा माघ १ गतेको अघिल्लो दिन रातभरी आगोको धुनी बालेर ताप्ने गर्दछन्। गाउँभरिका मानिसहरु एकठाउँमा जम्मा भएर गाउँको एक ठाउँमा आगोवाली रातभर आगो तापेर रमाइलो गर्दछन्। राति आगो ताप्ने, भाले बासेसँगै नदी, खोलामा नुहाउने गर्दछन्।

नुहाएर आफुभन्दा ठूलासँग आशिर्वाद लिने र सानालाई स्नेह गर्ने चलन रहेको छ। २ गते गाउँको भेला बोलाएर अगुवा छान्ने र नीति नियम बनाउने चलन छ। त्यस पछि केही दिन नाच गान गरेर पर्व मनाउने चलन रहेको छ।

माघीकै अवसरमा नाचिने माघी नाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायतका नाँचलाई नयाँ नीतिका साथ गाउँगाउँमा गरिन्छ। माघीकै अवसरमा घरघरमा नाचगान गरेर दक्षिणा समेत उठाउने चलन रहेको थारु मतहवा बुदिराम चौधरीले बताए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.