को हुन् प्रहरी इन्काउन्टरमा मारिने सहनी ?

को हुन् प्रहरी इन्काउन्टरमा मारिने सहनी ?

 भैरहवा : प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका केदार सहनी शनिबार मध्यरात इन्काउन्टरमा मारिएका छन्। खानतलासीका क्रममा प्रहरीउपर गोली चलाएपछि जवाफी कारबाहीमा सिद्धार्थनगर–६ का सहनीको मृत्यु भएको रूपन्देहीका प्रहरी प्रमुख हृदय थापाले बताए। तस्करी हुन लागेको सूचनाका आधारमा खटिएको प्रहरी टोलीले सिद्धार्थनगर–१० शंकरपुरमा सुरक्षा जाँच गरेको थियो। सहनीसहित दुई जना मोटरसाइकल चढेर आएका थिए।

मुठभेडमा प्रहरी जवान कृष्ण श्रेष्ठ घाइते भएका छन्। उनको बायाँ पाखुरामा गोली लागेको प्रहरीले जनाएको छ। ‘गुन्डा नाइके’ मनोज पुन र सोम आले गत वर्ष देवदहमा इन्काउन्टरमै मारिएका थिए। तस्करी नियन्त्रण थालेको प्रहरीले हतियारसहित गोप्य स्थानमा टोली खटाउने गरेको छ। सोही टोलीले सहनीलाई इन्काउन्टर गरेको हो। केही दिनअघि सादा पोसाकमा खटिएको एक हवल्दारले नाकाबाट तस्करी रोक्न खोजेपछि तस्करले कुटपिट गरी हात भाँचिदिएका थिए। त्यसपछि प्रहरी तस्करीविरुद्ध आक्रामक रूपमा उत्रिएको छ। रूपन्देही प्रहरीले जिल्लाका अधिकांश नाकामा हतियारसहित टोली खटाउन थालेको छ। रातको समयमा आत्मरक्षाका लागि प्रहरी टोलीलाई गोली चलाउन आदेश दिएको स्रोतले जनाएको छ।

‘हामीले तस्करी हुन लागेको सूचना पाएपछि टोली खटाएका थियौं’, एसपी थापाले भने, ‘मोटरसाइकलमा आएका दुई व्यक्तिले एकाएक प्रहरीउपर गोली चलाएपछि जवाफी कारबाहीमा सहनी मारिए र अर्का व्यक्ति फरार भए।’ उनीहरू चढेको भारतीय नम्बर प्लेटको मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ। यसको नम्बर यूपी५३एच २०२८ छ। एक थान पेस्तोल र गोली बरामद गरिएको उनले सुनाए। सहनीको सनाखत उनका भाइले गरेका छन्।

१ करोड फिरौती नपाएपछि हत्या

सहनीलगायतले २०७१ भदौ २८ गते सिद्धार्थनगर–८ का ३८ वर्षीय आकाश गुरुङलाई अपहरण गरी १ करोड फिरौती मागेका थिए। परिवारले उक्त रकम दिन नसक्ने बताएपछि नवलपरासीको बर्दघाट जंगलमा असोज ११ गते गुरुङको हत्या गरेको प्रहरीले जनाएको छ। घटनामा संलग्न केही अभियुक्तलाई प्रहरीले पक्राउ गरी अपहरण तथा कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो। उनीहरूले नवलपरासी कारागारमा सजाय भुक्तान गरिरहेका छन्। अभियुक्तमध्ये सहनी इन्काउन्टरमा परे भने रामजित हरिजन फरार छन्।

आकाशकी आमा उषाकिरण गुरुङले प्रहरीको कारबाहीले न्याय पाएको महसुस भएको बताइन्। हरिजनलाई पनि पक्राउ गरी कारबाही गर्नुपर्ने उनको माग छ। ‘मेरो छोरोलाई अपहरण गरेर निर्ममतापूर्वक हत्या गरिएको थियो’, उनले भनिन्, ‘अन्यलाई पनि सताएको थियो। प्रहरीको कारबाहीले सुरक्षाको आभास दिलाएको छ।’

जो सुरुङ खनेर भागेका थिए

सहनीविरुद्ध कपिलवस्तु, नवलपरासी, पर्सालगायत जिल्लामा कर्तव्य ज्यान, बम विस्फोट, अपहरण चन्दा–फिरौतीलगायत मुद्दा परेका छन्। उनी विगतमा तत्कालीन माओवादीमा आबद्ध थिए। त्यसपछि जनतान्त्रिक तराई मुक्ति मोर्चा आजाद समूहमा प्रवेश गरी उनले चन्दा आतंक मच्चाएका थिए।

प्रहरीका अनुसार उनी २०६५ असार २३ गते कपिलवस्तुमा पेस्तोलसहित पक्राउ परेपछि कारागार चलान भएका थिए। उनी २०६६ माघ २ गते सुरुङ खनेर भागेका थिए। लगत्तै चैत ७ मा हतियारसहित नै पुनः पक्राउ परेपछि उनलाई कपिलवस्तु कारागार चलान गरिएको थियो। सजाय भुक्तान गरेर बाहिरिएपछि उनी आपराधिक कार्यमै लागेका थिए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.