विद्यालय भवन बनाउँदा भ्रष्टाचार, चारजनाविरुद्ध मुद्दा

काठमाडौँ : विद्यालय भवन निर्माण र छात्रवृति वितरणमा अनियमिता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक प्रधानाध्यापकसहित चार जनाविरुद्ध मुद्दा चलाएको छ । अख्तियारले चारजनाविरुद्ध साढे नौ लाख बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा चलाएको हो ।
सप्तरीको साविक त्रिलोक गाविस-४ स्थित राष्ट्रिय प्राथमिक विद्यालयका प्राधानाध्यापक तेजनारायण यादव, तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेदी यादव, तत्कालिन प्रअ चक्रप्रसाद देव, शिक्षक चन्द्रनरायणविरुद्ध मुद्दा दायर गरिएको अख्तियार प्रवक्ता दंगालले जानकारी दिए ।
आर्थिक वर्ष २०६६/०६७ मा भवन निर्माणको रकम अनियमितता गरेको एवं छात्रवृत्ति वितरणमा अनियमितता गरी भ्रष्टाचार गरेको भन्ने उजुरी परेको थियो । उनीहरुले भवन निर्माण, छात्रवृत्तिको लागि निकासा भएको रकममा लागत इष्टिमेट अनुसारको कार्य नगरी छात्रवृत्ती वितरण भरपाई कागजातमा किर्ते सहिछाप पाइएको छ ।
अख्तियारले दायर गरेको मुद्दामा प्रधानाध्यापक तेजनारायणविरुद्ध पाँच लाख आठ हजार ८४०, तत्कालिन विव्यास अध्यक्ष छेदी र तत्कालिन प्रअ चक्रप्रसादविरुद्ध दुई÷दुई लाख विगो दाबी गरिएको छ । त्यसैगरी शिक्षक चन्द्रनारायणविरुद्ध ५१ हजार दुई सय विगो माग दाबी गरिएको छ ।
विद्यालयको पीसीएफ बापतको रकम हिनामिना गरी आफुहरुलाई गैह्रकानूनी लाभ तथा नेपाल सरकारलाई गैह्रकानूनी रूपमा हानीनोक्सानी पुर्याइ भ्रष्टाचारजन्य कार्य गरेको पुष्टि हुन भएको अख्तियारले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !
