सुदूरपश्चिममा चार दिनदेखि हिमपात, जनजीवन कष्टकर बन्दै
![सुदूरपश्चिममा चार दिनदेखि हिमपात, जनजीवन कष्टकर बन्दै](https://annapurnapost.prixacdn.net/media/albums/himpat-sudoorpaschim_20190125112559_llpdnzxXG7.jpg)
धनगढी : चार दिनदेखि परिरहेको हिमपात र वर्षाले सुदूरपश्चिमको जनजीवन कष्टकर बनेको छ। बैतडीमा चार दिनदेखि विद्युत सेवा अवरुद्ध भएको छ भने सुदूरपश्चिमका भीमदत्त पन्त राजमार्ग, केआईसिह राजमार्ग, दसरथचन्द राजमार्ग र महाकाली राजमार्ग छिनछिनमा अवरुद्ध हुने र खुल्नेक्रम जारी छ।
बझाङमा चार दिनदेखि यातायात नियमित नहुँदा यात्रुलाई कष्ट भएको छ। बैतडी र बझाङको सीमानाश्रीभावर र खोड्पे क्षेत्रका भारी हिमपात भएको छ। मानिस ४/५ घण्टा पैदल हिँडेर आफ्नो गन्तब्यतिर लागिरहेका छन्।
डडेलधुराको गन्याधुरा गाउँपालिकाको क्षेत्रमा पर्ने भीमदत्त राजमार्ग, बैतडीको अनाराखोली विन्द्रावन बचपानी श्रीभावर क्षेत्रमा हिउले बढी बाटो अवरुद्ध हुने गरेको छ। डडेलधुरा घनघस्याको लेख अनारखोलीमा डडेलधुराको स्थानिय प्रशासनको सक्रियतामा हिउँ सफा गरी बाटो खुलाउने क्रम जारी छ।
धनगढी र महेन्द्रनगरबाट पहाडका लागि हिँडेका सवारी साधन बीच बाटोमा अलपत्र परेका छन्। लगातार परिरहेको हिमपातले एकपटक हिउँ फालेर सडक सूचारु गरेपनि लगत्तै हिमपातले फेरि सडक अवरुद्ध हुने गरेको बैतडीको खोडपेका हरिश विष्टले बताए।
बैतडीको दुदेलाखान र मुस्याचौरभन्दा अगाडी बझाङतिर जाने सडक अवरुद्ध भएको छ। बझाङको सदरमुकाम चैनपुरबाट हिँडेका सवारी साधन श्रीभावर र ढोल्यामोड आसपासमा अलपत्र छन्। बैतडीको अनारखोली क्षेत्रमा रहेको इन्टरनेटका र मोबाइलका रिपिटर टावरमा पनि हिमपातले अवरोध ल्याएपछि धेरै जिल्ला मा इन्टरनेट सेवा अवरुद्ध भएको दार्चुलाबाट राजेन्द्र धामीले बताए।
सडक डिभिजन कार्यालय बैतडी, बझाङ र डोटी तथा डडेल्धुराका आधा दर्जन जेसिबी सडक खोल्न खटाइएका छन्। बिहीबार हिउँ पर्ने र घाम लाग्ने भए पनि बिहीबार रातिदेखि फेरि पहाडी जिल्लामा फेरि बाक्लो हिपमत भएको हो।
बझाङका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले तीनदेखि हिमपातका कारण यातायातका साथै गाउँबस्तीको जनजीवन पनि प्रभावित भएको बताए। गाउँमा हिमपात भएपछि उच्च लेकाली क्षेत्रका वृद्धवृद्धा, महिला र बालबालिका सबैभन्दा बढी प्रभावित भएका छन्। बैतडीको खोडपेका किसनसिंह विष्टले यसपाली विगत दुई दशककै बाक्लो हिमपात भएको बताए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)