सिटामोल लिन तीन दिन
![सिटामोल लिन तीन दिन](https://annapurnapost.prixacdn.net/media/albums/remort-village_20190126044912_vvvzbntJS6.jpg)
बाजुरा : हिमाली गाउँपालिका–३ गुम्बा गाउँवासीलाई आफ्नै वडामा रहेको स्वास्थ्यचौकी जान–आउन र उपचार गर्न तीन दिन लाग्छ। बिरामी भएपछि तीन दिन बोकिएर स्वास्थ्यचौकी पुगे पनि औषधि नपाएर फकिनुपर्ने बाध्यता छ।
स्वयंसेविका पासाङ लामाले गुम्बाको पूरै गाउँ आधारभूत स्वास्थ्य सेवाबाट समेत वञ्चित भएको बताइन्। गुम्बागाउँमा २५ परिवारका २ सय जना बसोबास गर्छन्। ‘उनीहरू सिटामोल लिन स्वास्थ्यचौकी जान पनि तीन दिन लाग्छ’, स्वयंसेविका लामाले भनिन्।
हिमाली गाउँपालिका साविकका विकट गाविस बिच्छ्याँ, बाँधुको केही भाग र रुगीन गाविस मिलाएर बनेको हो। साविकको बिच्छ्याँ गाविसको देवसैनमा स्वास्थ्यचौकी छ। स्वास्थ्यचौकी पुग्न एक दिन लाग्छ, एक दिन उपचार गर्न र एक दिन फर्कन लाग्ने गरेका कारण स्वास्थ्य सेवाबाट विमुख भएको महिना दिनदेखि ज्वरोले थलिएकी सञ्चुरा गुरुङले बताइन्।
‘स्वास्थ्यचौकी जान सकिँदैन, जडीबुटीको सहारामा बाँचेकी छु’, उनले भनिन्। उनले स्वास्थ्यचौकी पुगे पनि औषधि पाउने ठेगान नभएको बताइन्। ‘जान, आउन र उपचार गर्न तीन दिन लाग्छ, त्यसमा पनि औषधि पाउने निश्चित हुँदैन,’ उनले भनिन्।
गुम्बा गाउँकी ममता कँुवरले भनिन्, ‘सरकारले निःशुल्क दिने सामान्य औषधि लिन पनि बास बस्नुपर्ने बाध्यता छ।’ गुम्बाका महिला र पुरुष परिवार नियोजनका साधनसमेत लिन पाउँदैनन्। जसकारण धेरै बच्चा जन्मिने, यौनरोगको संक्रमण हुने गरेको छ। ‘गाउँका कसैले पनि स्थायी बन्ध्याकरण गरेका छैनन्’, स्वयंसेविका पासाङ लामाले भनिन्। उनले परिवार नियोजनका साधन प्रयोग गर्न नपाएकै कारण एकै दम्पतीले ११ सन्तानसम्म जन्माएको बताइन्।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)