हिमपातले उज्यालियो सतबाँझ, हिउँ खेल्नेको घुइँचो

हिमपातले उज्यालियो सतबाँझ, हिउँ खेल्नेको घुइँचो

बैतडी : जिल्लाको दशरथचन्द नगरपालिका- १ स्थित सुख्खा फलफूल विकास केन्द्र सतबाँझको क्षेत्रभित्र हिउँ खेल्नेको घुइँचो लागेको छ। सतबाँझमा बाक्लो हिमपात भएसँगै जिल्ला भित्र तथा बाहिरबाट हिउँसँग रमाउनेहरु सतबाँझ पुगेका छन्।

गाडी तथा जीप बुक गरेर हिउँ खेल्ने आउने गरेको दशरथचन्द नगरपालिका-१ का वडा अध्यक्ष भुवनराज भट्टले बताए। उनले भने, 'दुई/तीन दिनको अवधिमा तीन हजार बढी मानिस हिउँ खेल्न आएको अनुमान गरिएको छ। दिनप्रतिदिन हिउँ खेल्ने आउनेको संख्या बढ्दै गएको छ।'

सतबाँझको अग्लो डाँडो हिउँले सेताम्य भएपछि हिउँ खेल्नेको ताँती लागेको स्थानीय व्यापारी मानबहादुर टेरले बताए। उनले भने, 'सतबाँझमा हिउँ खेल्नका लागि सदरमुकामका सरकारी तथा गैरसरकारी कार्यालयका कर्मचारी समेत आएका छन्। दिनभरीजसो सतबाँझमा हिउँ खेल्नेको घुँइचो लाग्ने गरेको छ।'

विगत पाँच वर्षयताकै बढी हिउँ परेकाले हिउँ खेल्नेको घुइँचो लागेको हो। प्रकृतिले सतबाँझ र आसपासका क्षेत्रका डाँडालाई चाँदीजस्तै सेताम्मे बनाइदिएको छ।  हिउँ खेल्नकै लागि सतबाँझ पुगेको सुआहारा बैतडीमा कार्यरत नागेन्द्र धामीले बताए। उनले भने, 'सतबाँझ र आसपासका क्षेत्रमा हिउँले सेताम्य भएपछि  सबै साथी हिउँ खेल्न सतबाँझ पुगेका हौं।'


 
सतबाँझमा हिउँ खेल्नेको संख्या दिनानुदिन बढ्दै गएको सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक अर्जुन खड्काले बताए। उनले भने, 'हाम्रै कार्यालयको क्षेत्रभित्र हिउँ खेल्नेको ताँती लागेको छ । बैतडी मात्रै नभएर दार्चुलाबाट पनि आउने  गरेका छन्।'

किसान खुसी 

लगातारको खडेरीले हिउँदेबाली सुक्नै लागेको बेला बैतडीमा भएको हिमपातले किसान खुसी भएका छन्। सिंचाइ अभाव भएका ठाउँमा हिमपातले सिंचाइको काम गरेको अगुवा किसान देवदत्त भट्टले बताए। उनले भने, 'गहुँखेतीका लागि यो हिमपात बरदान भएको छ। अब चैत महिनासम्म वर्षा नभए पनि यो हिउँले सिंचाइको काम गर्छ। हामीले हिउँदेबालीको उत्पादनमा पनि वृद्धि हुने आशा गरेका छौं।'

हिमपातले हिउँदेबालीमा लाग्ने विभिन्न किसिमका रोगकीरा पनि नष्ट गर्ने कृषि ज्ञान केन्द्र बैतडीका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए। उनले भने, 'पछिल्लो समयमा लाइकीरा,खुम्रेकीरालगायतका प्रकोप देखिने गरेको छ। हिमपातले यी कीराको प्रकोप समाप्त हुन्छ। यसले बालीनालीलाई हुर्कन सहज हुन्छ।'

हिमपातले लेकाली क्षेत्रमा आलु लगाउने तयारी गरिरहेका किसानलाई समेत सजिलो भएको चन्दले बताए। उनले भने, 'बैतडीका उच्च लेकाली क्षेत्रमा आलु लगाउने तयारी भएको छ। यो हिमपातले आलु लगाउने किसानलाई निकै फाइदा पुगेको छ।'

हिमपातले तरकारी खेतीमा लागेका किसानलाई समेत सजिलो भएको अगुवा किसान कृष्णदत्त भट्टले बताए। उनले भने, ' तरकारीका बेर्नाहरु राख्न सहज भएको छ। हिउँदे तरकारीबालीका लागि हिमपातले सिंचाइको काम गरेको छ।'

यस्तै हिमपातले हिउँदे फलफूलका बिरुवाका लागि राम्रो भएको छ।सुख्खा फलफूल विकास केन्द्र सतबाँझका प्राविधिक अर्जुन खड्काका अनुसार हिउँदे फलफूलका बिरुवा रोप्ने ठाउँमा हिमपताले सिंचाइको काम गरेको छ।'


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.