वनवाटिकाभित्र अर्बौंका परियोजना
बुटवल : शंकरनगर वन विहारमा करोडौंका परियोजना निर्माणाधीन छन्। प्रादेशिक चिडियाखाना निर्माणको योजनासहित पूर्वाधार तयार गरिरहेको तिलोत्तमा नगरपालिकाले दशतले भ्यू टावर निर्माण गरिरहेको छ। अन्य परियोजनामा फिनिसिङको काम भइरहेको छ। वनवाटिकाले वनस्पति उद्यानदेखि नेपालकै ठूलो चिडियाखाना, पौडी पोखरी र नौका विहार निर्माण कार्य अघि बढेको छ। हाल वनवाटिकाभित्र रहेको मिनी चिडियाखानामा २५ प्रकारका जनावर छन्।
शंकरनगर सामुदायिक वन क्षेत्रमा रहेको वनविहारमा १३ करोड ५८ लाख रुपैयाँ लागतमा भ्यू टावर निर्माण भइरहेको शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्र (वनवाटिका)का अध्यक्ष बलराम आचार्यले बताए। तिलोत्तमा नगरपालिकाको ७० प्रतिशत र अनुसन्धान केन्द्रको ३० प्रतिशत लागतमा बन्ने भ्यू टावरको निर्माण सुरु गरिएको छ। अहिले टावरको तेस्रो तलाको ढलान सकिएको छ। ११ तले उक्त भ्यू टावर चार वर्षमा पूरा गर्ने योजना वनवाटिकाले बनाएको छ।
दुई कठ्ठा क्षेत्रफलमा भ्यू टावर र आसपासको दुई बिघा क्षेत्रफलमा पार्क, बगैंचा र पार्किङस्थललगायत पूर्वाधार निर्माण गर्ने काम अघि बढेको छ। ११ तलाको बन्ने भ्यू टावर एक सय ३५ फिट उचाइको हुनेछ। भ्यू टावरमा सुविधा सम्पन्न होटल, डिमार्टमेन्टल स्टोर, अनुसन्धान केन्द्रको कार्यालय, पुस्तकालयलगायत विभिन्न व्यापारिक तथा व्यावसायिक स्थल बनाउने योजना छ। लिफ्ट सिस्टमको भ्यू टावरबाट टेलिस्कोपको सहायताले लुम्बिनी, बर्दघाट, कपिलवस्तु र चुरे शृंखलाका साथै भारतको नौतनहवा, कुशीनगर, गोरखपुरसम्म अवलोकन गर्न सकिन्छ।
भ्यू टावरको निर्माणले वनवाटिकामा आउने पर्यटकको संख्या बढ्ने र तिलोत्तमाको समृद्धिमा महत्त्वपूर्ण टेवा पुर्याउने तिलोत्तमा नगरप्रमुख वासुदेव घिमिरेले बताए। तिलोत्तमा भ्यू टावरलाई काठमाडौंमा पुनर्निर्माण गर्न थालिएको धरहरापछिको मुलुककै व्यवस्थित र आकर्षक बनाउने नगरपालिकाको लक्ष्य छ।
वनस्पती उद्यान निर्माणका लागि चालु आवमा स्थानीय र प्रदेश सरकारका तर्फबाट दुई करोड रुपैयाँ विनियोजन भएको छ। दुई बिघामा निर्माण हुने पौडी पोखरीमा करिब तीन करोड लागत लाग्ने अनुमान गरिएको वनवाटिकाका सचिव खिमलाल पाण्डेले बताए। ‘करिब एक अर्बको १० वर्षे गुरुयोजनासहित वनवाटिकालाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने योजना बनाएका छौं’, उनले भने, ‘यस उद्यानभित्र विभिन्न जातजातिको संग्राहलय निर्माणदेखि सहिद स्मारकसम्म बन्नेछन्।’
टावरबाहेक वनवाटिकामा खेलौना रेलगाडीसमेत राखिँदै छ। ५० लाख लागतमा एक हजार ५० फिट लामो हुनेछ। बुटवल रोटरी, नपरपालिका र वनविहारको यसमा लगानी छ। शंकरनगर वनविहार तथा अनुसन्धान केन्द्रका अध्यक्ष बाबुराम अर्यालले केन्द्रमा रहेको चिडियाखानालाई क्षेत्रीय स्तर हुँदै राष्ट्रिय स्तरमा स्तरोन्नति गर्न, बाल उद्यान सञ्चालन र बोटानिकल गार्डेनका लागि काम भइरहेको बताए।
वनवाटिकाको चार बिघामा बाल उद्यान बन्दै छ। उद्यानभित्र आउँदो सालसम्म रेल सञ्चालन गर्ने गरी कार्य अघि बढेको सचिव पाण्डेले बताए। करिब डेढ करोड लागतमा निर्माण हुन लागेको बाल उद्यानमा बालबालिका रमाउने नयाँ प्रविधि तथा खेलकुदका सामग्री राखिनेछ।
दुई कठ्ठा क्षेत्रफलमा भ्यू टावर र आसपासको दुई बिघा क्षेत्रफलमा पार्क, बगैंचा र पार्किङस्थललगायत पूर्वाधार निर्माण गर्ने काम अघि बढेको छ।
वनवाटिकामा अहिले तीन सय १२ मिटर मूल सडकमा ५५ लाख लागतमा टायल बिछ्याउँदै छ। सो रकमले नपुग्ने देखिएको पाण्डेले बताए। चालु आवमा तीन सय १५ मिटरमा टायल बिछ्याउने र आउँदो वर्ष बीपी स्मारकसम्म पु¥याउने पाण्डेले बताए।
वनस्पती उद्यानका लागि प्रदेश सरकारले दुई करोड विनियोजन गरे पनि काम थालिएको छैन। वाटिकामा बाघ, हात्ती र गैंडासमेत राख्ने गरी जियोलोजिकल पार्क बनाउन थालिएको अर्यालले बताए। वनवाटिकाले पर्यटक प्रवेश शुल्क र वनभोज स्टलबाट ८० लाख वार्षिक आम्दानी गर्दै आएको छ। सो रकमको अधिकांश हिस्सा कर्मचारी र पशुपंक्षीका लागि खर्च हुने गरेको उनले बताए।
वाटिकाभित्र विभिन्न समुदायले २४ वटा पिकनिक स्पटका लागि सेट निर्माण गरेका छन्। स्पटको पूर्वाधारअनुसार शुल्क निर्धारण गरिएको छ। पिकनिक मनाउन जानेले एक हजार दुई सयदेखि ६ हजारसम्म शुल्क तिर्नुपर्छ। बुटवल बसपार्कबाट सात किलोमिटर दुरीमा रहेको उक्त वाटिका पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको आर्कषण केन्द्र बनेको छ। वाटिका प्रवेश गर्न प्रत्येक व्यक्तिले ४० रुपैयाँ शुल्क तिर्नुपर्ने हुन्छ। वनवाटिकामा अहिले २६ जनाले रोजगारी पाएका छन्। यसका साथै वनवाटिकामा घुम्न आउनेले करिब २० वटा होटल चलेका छन्। वनवाटिका सञ्चालनमा आएपछि यस ठाउँमा प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब चार सय जनाले रोजगारी पाएको स्थानीय बाला कुँवरले बताए।
तीन रुपैयाँ प्रवेश शुल्कबाट सुरु भएको वाटिकामा आम्दानी बढ्दो छ। दुई जना प्रवेश गर्दा खुसी भएका सञ्चालकले दैनिक पाँँच सय भिœयाउन पाउँदा गौरव महसुस गरेको बताए। काठमाडौंबाट वनवाटिकामा पिकनिक मनाउन गएकी पूर्व प्रहरी निरीक्षक बिना केसीले वनवाटिकाभित्र रहेका जमिनलाई सही सदुपयोग हुन सके खुला ठाउँको अभावमा छट्पटिएका मानिसको आकर्षण बन्ने उनले बताइन्। ‘पूर्वाधार निर्माणपछि पश्चिम तथा मध्यपश्चिम क्षेत्र घुम्न आउने पर्यटकका लागि नयाँ गन्तव्य बन्छ’, उनले भनिन्, ‘यसमा राज्यको ध्यान जान जरुरी छ।’ स्थानीय कुँवरका अनुसार वाटिकामा पिकनिक मनाउन २, ३, ४, ५ र ६ नम्बर प्रदेशका मानिससम्म आउने गरेका छन्।
५१.३४ हेक्टरमा फैलिएको वाटिका २०६२ सालमा स्थापना भएको थियो। तत्कालीन गाउँपालिकाले वाटिका बनाउन करिब ३० लाख रुपैयाँ खर्च गरेको थियो।