धनगढी प्रिमियर लिगका खेल आजदेखि

धनगढी प्रिमियर लिगका खेल आजदेखि

धनगढी : प्रतिकूल मौसमका कारण दुई दिन पर सरेको धनगढी प्रिमियर लिग (डीपीएल) आजबाट सुरु हँुदैछ। शनिबारबाट हुने भनिएको डीपीएलको तेस्रो संस्करण सुदूरपश्चिमी क्षेत्रमा परेको वर्षाका कारण दुई दिन पर सारिएको थियो।

सोमबारबाट नियमित रूपमा खेल सञ्चालन हुने आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले जानकारी दिए। सोमबारको पहिलो खेल घरेलु टोली धनगढी स्टार्स र काठमाडौं गोल्डेन्सबीच हुनेछ।

‘मैदान पनि सुकेको छ, मैदानको तयारी यसअघि नै सकिएको थियो’ शाहीले भने। विगतका दुई संस्करण धनगढीको मुख्य बजारमा रहेको संघीय प्रहरी इकाई कार्यालयको खेलमैदानमा आयोजना गरिए पनि यस पटक फाप्ला क्रिकेट मैदानमा आयोजना गर्न लागिएको छ।

फाप्ला क्रिकेट मैदानमा गत वर्षदेखि माटो फिलिङ गरिएकाले वर्षाका कारण हिलाम्य भएपछि प्रतियोगिता दुई दिन पर सारिएको थियो। यद्यपि निर्धारित समय तालिकाअनुसार डीपीएलको उद्घाटन भने शनिबार नै एक गरिएको थियो।

प्रतियोगिताको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले अम्पायर मोहम्मद सफिकलाई ब्याट र बल दिएर शनिबार नै उद्घाटन गरेका थिए। मुख्यमन्त्री भट्टले फाप्ला क्रिकेट मैदानलाई प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको बताउँदै त्यसलाई छिट्टै अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाइने बताएका थिए।

आयोजक धनगढी क्रिकेट एकेडेमीले पनि फाप्ला मैदानको प्रचारका लागि नयाँ बनिरहेको मैदानमै खेल आयोजना गर्न लागेको छ। ‘फाप्लाको प्रमोसनकै लागि पनि यसपालिदेखि डीपीएल यहाँ आयोजना गर्न लागिएको हो’ अध्यक्ष सुवास शाहीले भने।

फाप्ला क्रिकेट मैदान निर्माणका लागि डीपीआर बनाउन र केही सुरुआती काम गर्न सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको बजेटमा पाँच करोड रुपैयाँ विनियोजन गरेको छ।

डीपीएलका सद्भावनादूत दक्षिण अफ्रिकका पूर्वखेलाडी जोन्टी रोड्स पनि अहिले धनगढीमा छन्।

डीपीएलको तेस्रो संस्करणमा धनगढी स्टार्स, सीवाईसी अत्तरिया, महेन्द्रनगर युनाइटेड, काठमाडौं गोल्डेन, विराटनगर किङ्स र रूपन्देही च्यालेन्जर्सले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको विजेताले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.