क्लिंकर आयात घट्दा राजस्व प्रभावित

क्लिंकर आयात घट्दा राजस्व प्रभावित

तौलिहवा : क्लिंकर आयात घटेपछि कपिलवस्तुको कृष्णनगर भन्सारको राजस्व संकलनमा कमी आएको छ। चालु आवको झन्डै सात महिना बितिसक्दा कृष्णनगर भन्सार कार्यालय तोकिएको राजस्व उठाउन असफल देखिएको हो। साउनदेखि माघ २१ गतेसम्म कृष्णनगर भन्सारले लक्ष्यको ३८ प्रतिशत मात्र राजस्व उठाएको छ। गत वर्ष यही समयमा झन्डै लक्ष्यको ५५ प्रतिशत राजस्व उठेको थियो।

भन्सार कार्यालयको तथ्यांक अनुसार भदौ र असोजमा मात्रै लक्ष्यअनुसार राजस्व उठेको छ। भदौ महिनामा ९३.५८ प्रतिशत राजस्व उठेको थियो भने असोज महिनामा ९९.५८ प्रतिशत राजस्व उठेको थियो। यी दुई महिनामा चाडपर्व पर्ने भएका कारण लक्ष्य अनुसारको राजस्व उठ्न सफल भएको भन्सार कार्यालयले जनाएको छ। यद्यपि अरु महिनामा लक्ष्यको आधा मात्र राजस्व उठेको तथ्यांकले देखाउँछ। यस भन्सार भन्सार कार्यालयले ८ अर्ब ७२ करोड बराबरको राजस्व उठाउने लक्ष्य पाएको छ। जुन गतको वर्षभन्दा आधा बढी हो। गत आवमा चार अर्ब १३ करोड राजस्व उठाउने लक्ष्य थियो भने ६ अर्ब ३१ करोड बराबरको राजस्व उठेको थियो।

यस वर्ष लक्ष्यभन्दा कम राजस्व उठ्ने देखिएपछि भन्सार कार्यालयले राजस्व बढाउने विभिन्न उपाय अपनाउन थालेको छ। भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत विष्णुप्रसाद पौडेलले बितेका ६ महिनामा तोकिएको राजस्व उठाउन नसकिएको बताए। राजस्व तोकिएभन्दा कम उठेपछि विभिन्न सरोकारवालासँग छलफल गरिरहेको उनले जानकारी दिए। ‘यस वर्ष लक्ष्यअनुसार राजस्व उठ्न गाह्रो देखिएको छ, भन्सार प्रमुख पौडेलले भने, ‘विभिन्न उद्योगीसँग यस विषयमा छलफल गरिरहेका छौं।’

कृष्णनगर भन्सारमा ९० प्रतिशत राजस्व क्लिंकरबाट उठ्ने गरेको छ। गत वर्षदेखि क्लिंकर उत्पादन नेपालमै हुन थालेपछि भारतबाट कम आयात हुने गरेको भन्सार कार्यालय बताउँछ। दाङमा क्लिंकर उत्पादन हुन थालेपछि आयात घटेको भन्सार प्रमुख पौडेल दाबी गर्छन्। ‘भारतभन्दा नेपालबाट क्लिंकर सस्तो पर्दो रहेछ’, उनले भने, ‘त्यसले पनि राजस्व उठ्न गाह्रो भएको हो।’

गत वर्ष सुठौली छोटी भन्सार कार्यालयबाट पनि कृष्णनगरले राजस्व उठाउने गरेको थियो। तर, यस वर्ष छोटी भन्सार स्तरोन्नति भएर मूल भन्सार कार्यालय भएको छ। सुठौली भन्सारले अन्य चारवटा छोटी भन्सार हेर्ने गरेको छ। त्यसले पनि कृष्णनगर भन्सारमा राजस्व संकलनमा असर पुगेको कर्मचारी बताउँछन्।

भन्सार नाकाबाट सिमेन्टका कच्चापदार्थ (क्लिंकर), खरानी, जिप्सम, आइरन डस्ट र बक्ससाइटको आयातबाट सबैभन्दा बढी राजस्व उठ्ने गरेको भन्सार अधिकृत नरेन्द्रप्रसाद चौधरीले बताए। यस्तै कोइला, जिरा चामल र कनिका, गहुँ, खसीबोका, फलफूल, तरकारी, कपडा, जुत्ताचप्पल र औद्योगिक मेसिनरीका पाटपुर्जा आयातबाट पनि राजस्व संकलन भएको भन्सार अधिकृत चौधरीको भनाइ छ।

चोरी बालुवाबाट १९ लाख राजस्व

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले साउनदेखि माघ २६ सम्म खोलाबाट बालुवा चोरीमा संलग्न भएका ९३ वटा साधनलाई पक्राउ गरेको जनाएको छ। खोलानालामा ठेक्का नलागेपछि कारोबारीले खोलाबाट बालुवा चोर्ने गरेका थिए। अहिले भने जिल्लाका अधिकांश स्थानीय तहले खोलानालाको ठेक्का लगाई सकेका छन्। बालुवा चोरीबाट १९ लाख ७० हजार जरिवाना रकम उठेको प्रहरी नायब उपरीक्षक रवि रावलले बताए।

चोरीमा संलग्न भएका ट्र्याक्टरलाई २५ हजार र टिपरलाई ४० हजारका दरले जरिवाना तिराइएको उनले जनाए। खोलामा नदीजन्य पदार्थ चोर्न जाने ८६ ट्रयाक्टर, ६ टिपर र एउटा जेसीबी पक्राउ गरेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, इलाका प्रहरी कार्यालय पिपरा, गोरुसिंगे, चन्द्रौटा, गणेशपुर प्रहरीले बालुवा चोरीमा संलग्न साधनलाई पक्राउ गरी जरिवानाका लागि जिल्ला समन्वय समितिमा चलान गरेको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.