स्थानीय तहहरुको खर्च गर्ने क्षमता घट्दै
दोलखा : करिब तीन वर्षको कार्यानुभव हुँदा समेत दोलखाका स्थानीय तहहरुले पूर्वयोजना अनुरुप खर्च गर्न सकेका छैनन् ।
खर्च गर्ने क्षमता बढ्नुको सट्टा घट्दै गइरहेको पाइएको छ । जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकाको अघिल्लो आर्थिक वर्षको ६ महिनाको अवधिमा गरेको खर्चसँग चालु आर्थिक वर्षको ६ महिनाको खर्च तुलना गर्दा खर्च गर्ने क्षमता घट्दै गइरहेको पाइएको हो ।
चालु आर्थिक वर्षको ६ महिनामा दोलखाका स्थानीय तहले वीत्तीय समानिकरणतर्फ कूल १२ दशमलव ५२ प्रतिशत मात्र खर्च भएको कोष तथा लेखा नियन्त्रक कार्यालय दोलखाले जनाएको छ ।
अघिल्लो आवको सोही अवधिमा २८ दशमलव ६७ प्रतिशत खर्च भएको तथ्याङ्क छ । अघिल्लो आवको ६ महिना र चालु आवको सोही अवधिको तथ्याङ्कअनुसार दोलखाको स्थानीय तहहरुको खर्च गर्ने क्षमता १६ प्रतिशतले घटेको पाइएको हो ।
चालु आवको ६ महिना बितिसक्दा समेत न्युनतम २ प्रतिशतदेखि बढीमा २० प्रतिशतसम्म मात्र बजेट खर्च गरेको पाइएको छ ।
दक्षिणि तामाकोशी गाउँपालिकाले विकास बजेट २ प्रतिशत मात्र खर्च गरेको छ भने उत्तरी गौरीशंकर गाउँपालिकाले विकास बजेट २४ प्रतिशत खर्च गरेको छ ।
तामाकोशी गाउँपालिकाका प्रमुख प्रशासकीय प्रमुख दिपेश कट्टेल भने भुक्तानी ढिला भएकाले यस्तो समस्या देखिएको बताउँछन् । उनले भने, ‘भुक्तानी दिन ढिला भएकोले वीत्तीय प्रगती कम देखिएको हो ।’
तामाकोशी गाउँपालिकाको कूल विकास बजेट ११ करोड ५४ लाख रहेकोमा पुस मशान्तसम्ममा २३ लाख ६४ हजार मात्र खर्च भएको प्रमुख प्रशासकीय अधिकृत कट्टेलले बताए ।
गौरीशंकर गाउँपालिकाले तुलनात्मक रुपमा सबैभन्दा बढी २४ प्रतिशत विकास बजेट खर्च गरेको छ । गौरीशंकर गाउँपालिकाको १० करोड ५४ लाख बिकास बजेट रहेकोमा ५ महिनाको अवधिमा २ करोड ५३ लाख रुपैयाँ खर्च भएको प्रशासन प्रमुख लिलाराज पौडेलले जानकारी दिए ।
भीमेश्वर नगरपालिकाले १७ करोड ११ लाख विकास बजेटमध्ये करिब १२ दशमलव ६४ प्रतिशत खर्च गरेको छ भने जिरी नगरपालिकाले ९ करोड ९४ लाख विकास बजेटमध्ये १६ दशमलव ३३ प्रतिशत विकास बजेट खर्च गरेको छ ।
कालिञ्चोक गाउँपालिकाले १३ करोड १८ लाख विकास बजेटमध्ये ६ प्रतिशत मात्रै विकास बजेट खर्च गरेको छ भने बैत्यश्वर गाउँपालिकाले ११ करोड ८० लाखमध्ये १२ दशमदव २० प्रतिशत, मेलुङ गाउँपालिकाले ११ करोड ९६ लाखमध्ये १३ दशलमव ६४ प्रतिशत र शैलुङ गाउँपालिकाले ११ करोड ३१ लाखमध्ये ७ दशमलव ७२ प्रतिशत मात्र खर्च गरेको पाइएको छ ।