झापाको अचार अमेरिका निर्यात

झापाको अचार अमेरिका निर्यात

बिर्तामोड : झापा अर्जुनधारा नगरपालिकाका–९ का दिनानाथ शिवाकोटीले अचार बेचेरै मासिक ५० हजार रुपैयाँ कमाउँछन्। स्थानीय कृषि उपज प्रयोग गरेर बनाएको अचारबाट राम्रै आम्दानी हुन थालेपछि उनले उद्योग नै स्थापना गरेका छन्। उद्योगबाट ठूलो परिमाणमा अचार उत्पादन भइरहेको छ। उनले स्थानीय बजारको माग धानेर अमेरिकासम्म अचार निर्यात गर्छन्। शिवाकोटीले आफूले उत्पादन गरेको अचार अमेरिका निर्यात हुन थालेको जानकारी दिए।

‘१० वर्षदेखि अचार बनाउँदै आएको छु। पछिल्लो समय १० लाख लगानीमा उद्योग सञ्चालन नै गरेको छु’, उनले भने, ‘महिनाको ५०÷६० हजार रुपैयाँ कमाउन विदेश जान पर्दोरहेनछ भन्ने एउटा उदाहरण प्रस्तुत गर्न सकेकोमा गर्व गर्छु। स्थानीय बजारसँगै मुलुकका विभिन्न भाग र अमेरिकासम्म अचारको माग पनि उच्च छ।’ स्वदेशमै केही गर्नु पर्छ भन्ने सोच रहेका शिवाकोटीले एकल लगानीमा उद्योग चलाइरहेका छन्। शिवबाबा नामको उद्योगले अचार उत्पादन गरेर बजारसम्म पुर्‍याउँछ।

शिवाकोटीले प्रदेश १ का झापा, मोरङ, सुनसरी र पश्चिमका काठमाडौं, पोखरा तथा ठूलो परिणाममा अमेरिकासम्म अचार पुर्‍याउने गरिएको बताए। उनले २०४२ सालदेखि २० वर्षसम्म बिर्तामोडको कृषिथोक बजारमा फलफूल पसल चलाए। उनको उद्योगमा १६ प्रकारका अचार उत्पादन गरिन्छ। उनले भने, ‘अचार उत्पादन गरेर व्यावसायिक बन्नु मात्र मेरो उद्देश्य होइन। अन्तर्राष्ट्रिय रूपमै पहिचान बनाउनु पनि हो।’

स्थानीय कृषि उपज प्रयोग गरेर बनाएको अचारबाट राम्रै आम्दानी हुन थालेपछि उनले उद्योग नै स्थापना गरेका छन्।

शिवकोटीले बजारमा अचार पुग्दा ग्राहकबाट आउने प्रतिक्रियाले धेरै हौसला मिलिरहेको प्रतिक्रिया दिए। अचारको बजार व्यवस्थापनमा उनी आफै खटिन्छन्। ‘नेपालमा खोलिएका उद्योगले विदेशी कच्चा पदार्थ प्रयोग गर्छन्,’ उनले भने, ‘मेरो उद्योगमा नेपाली कच्चा पदार्थ मात्रै प्रयोग हुन्छ।’ व्यवसाय सुरु गर्दा केही समस्या झेले पनि अहिले त्यस्तो नरहेको शिवकोटीले सुनाए।

अकबरे खुर्सोनीबाट मात्र ६ प्रकारका अचार उत्पादन गरिन्छ। अकबरे दाना, अकबरे मसला, अकबरेमा टिम्मुर र लसुन मिक्स, अकबरेमा कागती मिक्स, अकबरेमा आँप मिक्स र अकबरेमा तामा मिक्स। किवी, जलपाइ, आँप, तामाको अचार शिवाकोटीले उत्पादन गर्दै आएका छन्। नेपालमै पहिलोपटक स्याउको अचार बनाएर बजारमा पुर्‍याउन आफू सफल भएको उनको दाबी छ। उनका अनुसार शिवबाबाको उत्पादन १८ महिनासम्म प्रयोग गर्न स्वस्थकर मानिन्छ। अचार उत्पादन गर्न मनाङ, मुस्ताङ, लमजुङदेखि स्याउ ल्याउने गरेको शिवाकोटीले सुनाए।

शिवाकोटीलाई यतिबेला वडा कार्यालय र सहकारी संस्थाले अचार बनाउने तालिमको प्रशिक्षकका रूपमा बोलाउँछन्। आफूले मात्र होइन, थप आठ जनालाई पनि उनले रोजगारी दिएका छन्। उनी भन्छन्, ‘मेरो व्यवसायले मलाइ मात्र फाइदा गरेको छैन। उद्योगमा काम गर्ने सबैलाई आर्थिक उपार्जनको बाटो बनाइदिएको छ।’ काममा कुनै जोखिम नरहेको उनले सुनाए। व्यवसायबाटै ६ जनाको परिवार राम्रोसँग चलाउन सफल भएको उनी सुनाउँछन्। बजारमा अचारको माग दिनानुदिन बढ्दै गएको शिवाकोटीको तर्क छ।

अचार ठूलो बजारमा बिक्री गर्न उच्च ढुवानी खर्च लाग्ने हुँदा आफूजस्ता उद्योगीलाई व्यवसाय गर्न समस्या रहेको उनले बताए। उनले भने, ‘बजारको माग कस्तो छ र आजको पुस्ताले कस्तो उत्पादनलाई प्रोत्साहन गर्छ भनेर मैले १० वर्ष बजारमा गएर बुझेको छु।’ अचारले खानाको स्वाद जसरी बदलिदिन्छ त्यसैगरी शिवकोटीको जीवनस्तर पनि परिवर्तन गरिदिएको छ। सरकारी तहबाटै यस प्रकारका उद्योगलाई प्रोत्साहन गर्न सके नेपालमै लगानी गरेर राम्रो आम्दानी गर्न सकिने उनले बताए। ००००००००००००


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.