मन्दिरसँगै मासु पसल
भक्तपुर : भक्तपुरको भक्तपुर नगरपालिका ९ दत्तात्रयस्थित भीमसेन मन्दिरको सत्तलमा मासुपसल सञ्चालन गर्न दिएको भन्दै स्थानीयले गुठी संस्थानको विरोध गरेका छन्।
सर्वसाधारणले पूजाआजा गर्ने मन्दिरकै सत्तलमा हिंसाजन्य मासुपसल सञ्चालन गर्न दिएको भन्दै गुठी संस्थानको विरोध गरेका हुन्। उक्त सत्तल गुठी संस्थान भक्तपुरले भाडामा सञ्चालन गर्न दिएको हो।
स्थानीयका अनुसार दुई महिना अघिदेखि सत्तलमा मासु पसल सञ्चालनमा ल्याइएको छ। मासु पसलपछाडि भीमसेन र द्रौपतीको गुप्त मन्दिरसमेत रहेको छ। साथै उक्त मासुपसलसँगै भीमसेन मन्दिर प्रवेश गर्ने मुख्य ढोका रहेको छ।
‘सरकारी संस्थानले नै मन्दिरको सत्तलमा मासुपसल खोल्न दिनु आपत्तिजनक छ’, स्थानीय पर्यटन व्यवसायी विकास जंगमले भने, ‘दत्तात्रय पर्यटकीय क्षेत्र हो। सम्पदासँगै मासुपलस खोल्न दिँदा यहाँ आउने पर्यटकहरुलाई राम्रो सन्देश जाँदैन।’
गुठी संस्थानले पसल भाडामा दिनुअघि नै के कस्तो पसल राख्न हुने नहुनेबारे स्पष्ट पार्नुपर्ने उनको भनाइ थियो। भक्तपुर नगरको पर्यटकीय एवं सम्पदा क्षेत्रमा यस्ता पसलले दृश्य प्रदूषण हुने पर्यटन व्यवसायीहरु बताउँछन्।
पर्यटकीय क्षेत्रका सत्तलहरुमा पर्यटकीय पसलको लागिमात्रै भाडामा दिनुपर्ने भन्दै उनीहरुले गुठी संस्थानको ध्यानाकर्षण गरेका छन्।
यता गुठी संस्थान भक्तपुरले भने कार्यालयलाई जानकारी नदिइकनै उक्त सत्तलमा मासु पसल सञ्चालनमा ल्याइएको बताएको छ। कार्यालयका अनुसार पसल भाडामा पाउने व्यक्तिले तेस्रो व्यक्तिलाई मासु पसल राख्न दिएका छन्।
गुठी संस्थान भक्तपुरका प्रमुख हरिप्रसाद सुवेदीले कार्यालयबाट ठेक्का पाएका केदार उलकले अरु नै व्यक्तिलाई मासु पसल राख्न दिएको पाइएको जानकारी दिए।
उनका अनुसार केदार उलकले दुई वर्षअघि उक्त सत्तलमा भाडा लगाउने ठेक्का पाएका थिए। उक्त ठेक्का अवधि २०७८ असार मसान्तसम्म रहेको कार्यालयले जनाएको छ।
ठेक्का हात पारेपछि उलकले नेवारी खाजा पसल सञ्चालनमा ल्याएका थिए तर दुई महिनाअघि उनले खाजा पसल अन्तै सारेर तेस्रो व्यक्तिलाई मासु पसल सञ्चालन गर्न दिएको कार्यालयले जनाएको छ।
‘मठमन्दिर र सत्तलमा मासु तथा मासुजन्य पसल राख्न पाइँदैन’, गुठी प्रमुख सुवेदीले भने, ‘कार्यालयले त्यसलाई हटाउँछ।’
त्यस्तै भक्तपुर नगरपालिका ५ क्वाछेंस्थित कुमारी द्योछेंमा समेत मःमः पसल सञ्चालन हुँदै आएको छ। स्थानीयले पटकपटक ध्यानाकर्षण गर्दा पनि गुठी संस्थानले उक्त मःमः पसल हटाउन सकेको छैन।
स्थानीयले देवदेवीको द्योछेंमा मासु तथा मासुजन्य र जुठो हने पसल राख्न नहुने भन्दै आएका छन्। गुठी संस्थानले उक्त द्योछें पाँचवर्षे सम्झौता गरेर भाडामा लगाउँदै आएको हो।