सरकारसँग पीडित महिलाको माग : विदेश जाने बाटो खुलाऊ, नत्र त्यही बाटो जाने हो !

सरकारसँग पीडित महिलाको माग : विदेश जाने बाटो खुलाऊ, नत्र त्यही बाटो जाने हो !

काठमाडौं : झापाकी २८ वर्षीया युवती पार्वती थापाले साउदी, मलेसिया र कुवेतमा बसेर काम गरेको झन्डै १० वर्ष भइसक्यो ।

पछिल्लो तीन वर्षको अवधिमा परिवारका तीनैजना सदस्य गुमाउनु परेपछि उनी नेपाल फर्कन बाध्य भइन् । पहिले त सात महिनाकै हुँदा छाडेर गएको छोरी टाइफाइडका कारण बितिन् । त्यसपछि आफूले कमाएकोमध्ये चार लाखभन्दा बढी रकम उपचारमै खर्च गरेर पनि आमालाई बचाउन सकिनन् । यसलगत्तै अर्को वर्ष उनको जेठो भिनाजुको पनि मृत्यु भयो ।

कुवेतबाट फर्किएपछि उनले झापाको दमकमा गएर केही समय ज्यामी काम पनि गरिन् । तर दिनमा कमाई हुने चार पाँच सय रुपैयाँले खानु कि छोराछोरीको विद्यालयको शुल्क तिर्ने ! घर खर्च टार्नै हम्मे परेपछि फेरि विदेश जाने बिचारले उनी दमकबाट काकरभिट्टा, त्यसपछि भारतको बिहार अनि कलकत्ता हुँदै मणिपुरसम्म पुगेकी थिइन् ।

नेपाल र भारत सरकारको संयुक्त पहलमा हालै भारतको मणिपुरबाट उद्धार गरेर गत बुधबार नेपाल फर्काइनेमध्ये उनी पनि एक हुन् । एक छोरा र एक छोरीलाई होस्टेलमा राखेरै विदेश हिँडेकी पार्वती छोराछोरीको ‘डाक्टर बन्ने सपना’ पूरा गर्न कुवेत जान लागेको बताउँछिन् । त्यसो त, पुरानो सम्पर्कको आधारमा त्यहाँको घरधनीलाई भनेर काम र भिजा दुवै मिलाइसकेको बताउँछिन् उनी ।

पहिले पनि १५ महिनाको छोरालाई छाडेर कुवेत जाँदा छोरा ठूलो भएपछि समेत आफूसँग नबोल्ने गरेको पीडिा पार्वतीको छ । अहिले फेरि पाँच वर्षीय छोरालाई यतै छाडेर जाने सोचमा छिन् ।

‘तर पनि तिनै छोराछोरीको भविष्यका लागि मुटुमाथि ढुंगा राखेरै जान लागेको’ बताउँछिन् पार्वती । मणिपुरसम्म पुग्ने क्रममा उनको २० हजारभन्दा बढी खर्च भइसक्यो । ‘अब यो खर्च कसले दिने ?’ उनले आक्रोशित मुद्रामा भनिन्, ‘नेताहरु भोट माग्न मात्रै आउन्, जुत्ताको माला लगाइन भने म एउटा बाबुको छोरी होइन !’
कुवेतबाट फर्केर आएको करिब २० दिनमै उनको नयाँ भिजा आइसकेको थियो । तर श्रम स्विकृति नभएका कारण जान पाएकी थिइनन् । भारतको मणिपुरबाट जान पाइन्छ रे भन्ने सुनेपछि उनले त्यही बाटो अपनाएकी थिइन् ।

मणिपुरमा प्रहरीले उद्धार गरेपछि पनि आफूहरुलाई १८ दिनसम्म त्यहीको संस्थामा बस्नुपर्दा पनि नेपाल सरकारले वास्ता नगरेको गुनासो उनको छ । भनिन्, ‘अरु देशमा मानिस समातिएका भए, सरकारले २४ घण्टाभित्र आफ्नै देशमा झिकाउँथ्यो, तर हाम्रो सरकारले हामीलाई १८ दिनसम्म पनि वास्ता गरेन ।’

त्यसो त, उनी आफू जसरी पनि कुवेत जाने उपाय निकाल्ने तयारीमा छिन् । ‘सरकारले बाटो खुलाओस्, कि भने जुन बाटो आएको त्यही बाटो जाने हो । उता प्रहरीले समाते फेरि त्यही बाटो फर्केर नेपाल आउने हो !’ उनको गुनासो छ ।

मणिपुरबाट उद्धार गरेर काठमाडौं आइपुग्ने एक सय ७९ जनामध्ये दुबई जान लागेकी विनिता गुरुङ पनि एक हुन् । उनी ५ वर्ष लेबनन र दुई वर्ष दुबईमा काम गरेर फर्केकी हुन् । नेपालबाटै जाने धेरै कोशिस गर्दा पनि सम्भव नभएपछि आफूले यो बाटो रोजेको उनको भनाइ छ ।

दिल्लीको विमानस्थलबाट पनि उड्ने प्रयास गरेकी थिइन् विनिताले । तर त्यहाँ पनि प्रहरीले उनलाई जान दिएन । मणिपुरस्थित इम्फाल पुगेको चार दिनमै अन्य ३० जनासहित उनलाई पनि प्रहरीले नियन्त्रणमा लियो ।

दुबईमा काम गर्ने घरको साहुनीले उनी बिरामी पर्दा पनि पटक पटक गरी ३२ हजार रुपैयाँ पठाइसकेकी छिन् । ‘तिमीले सकेसम्म नेपालमै काम खोज्नु नपाए यतै आऊ’ भनेकाले आफू जान लागेको उनी सुनाउँछिन् ।

भारतको बाटो भएर जान उनको मन त खुसी थिएन, तर पनि घर बनाउँदा लिएको ऋण सम्झेर यस्तो निर्णयमा पुगेको बताउँछिन् विनिता । पति पनि पहिले नै केही वर्ष साउदीमा बसेर फर्किए । नेपालमा अहिले उनी विरामी अवस्थामा छन् । छोराछोरी, सासुससुरा र परिवार सबैको जिम्मेवारी आफ्नै काँधमा परेकाले विदेश जानुभन्दा अर्को विकल्प नभएको उनको गुनासो छ ।

विनितासँगै फर्किएकी रुकुम छेलापासाकी ३८ वर्षीया हिरादेवी रोकाको पनि दुख यस्तै हो । उनी पनि आमा र बाबु दुबैको जिम्मेवारी वहन गर्नुपर्ने भएपनि रोजगारीका लागि दुबई हिँडेकी हुन् ।

भारतबाट पक्राउ परी नेपाल भित्र्याएका अधिकांश महिला वैदेशिक रोजगारीका लागि अवैध उपायको खोजीमा बाध्य हुन् । कुवेत लगायत विदेश जाने वैध बाटो खुलाउने वा नेपालमै रोजगारी दिनुपर्ने उनीहरुको गुनासो छ । उनीहरुमध्ये वर्षौँसम्म विदेशमा बिताइसकेका छन् । लामो समय विदेशमा बस्दा त्यहाँको भाषा र काम सिकेकाले पनि श्रम स्वीकृति दिनुपर्ने उनीहरुको तर्क छ ।

उद्धार गरिएकामध्ये ९४ जना माइती नेपालमा राखिएको थियो । उनीहरुको १० जनाभन्दा बढी कर्मचारीमार्फत परामर्श र स्वास्थ्यउपचार गराएर संस्थाले पारिवारिक पुर्नमिलनको कार्यक्रम सुरु गरिसकेको छ । संस्थाका अध्यक्ष विश्वराम खड्काका अनुसार मंगलबार आधा संख्यामा महिलालाई परिवारमा पुर्नस्थापना गरिसकेको छ भने बिहीबारसम्म सबैलाई परिवारमै फर्काइने छ ।

पारिवारिक श्रोत सम्पर्कमा नआएका महिलालाई संस्थामै राखिने खड्का बताउँछन् । उद्धार गरेर ल्याइएकामध्ये करिब ८० प्रतिशत पटकपटक विदेशमा गएर श्रम गरेर आउने महिला छन् । नियम परिमार्जन गरेरै यस्ता महिलालाई निश्चित अनुगमन र मापदण्ड तय गरी फेरि काममा जान पाउने व्यवस्थाबारे सरकारले बिचार नगरे यो अवस्था दोहोरिरहने अध्यक्ष खड्काको भनाइ छ ।
(समाचारमा प्रयोग भएका महिलाको नाम परिवर्तित हुन्)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.