सेयर बजारमा ‘डिप्रेसन’
काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दैनिक सेयर कारोबारको आकार खुम्चिँदै गएको छ। मंगलबार कारोबार रकम १६ करोड ५६ लाख रुपैयाँमा सीमित भयो। नेप्से परिसूचक उच्च बिन्दुमा हुँदा दुई वर्षअघि सेयर बजारमा एकै दिन पौने ३ अर्बको कारोबार भएको थियो। पछिल्लो निर्वाचनयता पनि सरदर दैनिक १ अर्बको कारोबार हुँदै आएको थियो। यसमा सेयरको मूल्य घट्नु मात्र कारक होइन, कारोबार हुने सेयर संख्यामा भारी गिरावट आएको छ।
लगानीकर्ताको उत्साह कम देखिएको छ। यही कारण सेयर बजार ‘डिप्रेसन’मा गएको लगानीकर्ता टिप्पणी गर्छन्। ‘यो चक्र यस आर्थिक वर्षमा सुधार हुने लक्षण देखिँदैन’, नेपाल इन्भेस्टर्स फोरमका अध्यक्ष अम्बिका पौडेल भन्छन्।
अर्थमन्त्रीले सेयरको आपूर्ति बढ्नु र कर्जा ब्याजदर उच्च हुनुलाई बजार गिरावटको मुख्य कारणका रूपमा औंल्याउँदै आएका छन्। तर, निरन्तर ओरालो लाग्दा पनि नागरिक लगानी कोषजस्ता सरकारका गैरबैंकिङ वित्तीय संस्थालाई सुधारका लागि सर्कुलर गरिएको छैन। सरकारले पुँजी बजारप्रति ‘रेस्पोन्स’ नदिएको बरु नकारात्मक दृष्टिकोण राखेका कारण बजार ओरालो लागेको विश्लेषक बताउँछन्।
नेप्सेमा सूचीकृत लघुवित्त र बिमा कम्पनीबाहेक वित्तीय संस्थाका सेयरको मूल्य–आम्दानी अनुपात २०६८ असारकै अवस्थामा आएको छ। जति बेला बजार ‘क्र्यास’ भएको थियो। पछिल्लो एक वर्षमा मात्र लगानीकर्ताले २ खर्ब ४३ अर्ब रुपैयाँ गुमाएका छन्। गत वर्ष १३५८.९५ बिन्दुमा रहेको नेप्से परिसूचक ११०२.५६ मा झरेको छ। १५ भदौ २०६५ मा ११७५ बिन्दुमा थियो। यो अवधिमा सूचीकृत सेयर संख्या र कम्पनीको विविधिकरण भएको छ तर बजार भने असामान्य रूपले घटेको छ।
एक वर्षमा लगानीकर्ताले २ खर्ब ४३ अर्ब रुपैयाँ गुमाएका छन्। पौने ३ अर्ब पुगेको कारोबार रकम साढे १६ करोडमा सीमित भएको छ।
तत्कालीन अर्थमन्त्री डा. बाबुराम भट्टराईले सेयर बजारलाई जुवाघरसँग तुलना गरेपछि क्रमशः घटेर २०६८ असारमा नेप्से परिसूचक २९२ बिन्दुमा आएको थियो। बजार ‘क्र्यास’ हुने सम्भावना नरहे पनि तत्काल सुधार हुने अवस्था नरहेको विश्लेषक बताउँछन्। बजारलाई लामो समय डिप्रेसनमा छाड्दा यसबाट अस्वाभाविक नतिजा आउन सक्ने उनीहरूको बुझाइ छ।
सेयरलाई जोखिमपूर्ण धितोका रूपमा ग्रहण गर्ने राष्ट्र बैंकको मौद्रिक नीति र सरकारको धारणालाई बजार घटाउने प्रमुख कारकका रूपमा हेरिँदै आएको छ। अर्थमन्त्री डा. युवराज खतिवडाको अभिव्यक्तिलाई बजार घट्ने मुख्य कारण बताउने गरिएको छ। उनले सेयर बजारलाई अनुत्पादक क्षेत्रका रूपमा चित्रण गरेका थिए। सेयर मूल्य तरकारीको जस्तै उतारचढाव भइरहने उनको भनाइ थियो। यसमा सम्पूर्ण रूपमा अर्थमन्त्रीलाई दोषी ठान्दैनन् पुँजी बजार विज्ञ गोपाल भट्ट। तर, मन्त्रीको अभिव्यक्ति भने अपरिपक्व भएको उनी बताउँछन्।
‘बजार निरन्तर घटेपछि साना मझौला लगानीकर्ता निराश भएर गुमाएर निस्किन्छन्’, सेयर बजार विश्लेषक प्रकाश रजौरिया भन्छन्। समस्या समाधान गर्न डेपुटी गभर्नर शिवराज श्रेष्ठ संयोजकत्वमा गठित समितिको सुझाव कार्यान्वयनमा पनि उदासीनता देखिएको उनको ठम्याइ छ। सरकारका गैरबैंकिङ वित्तीय संस्थालाई बजार निर्माताका रूपमा अघि सार्नुपर्ने उनी बताउँछन्।