देशभर बदली, कतै हिमपात, कतै असिना पानी (तस्बिरसहित)

देशभर बदली, कतै हिमपात, कतै असिना पानी (तस्बिरसहित)

रुकुम पूर्व : रुकुम पूर्वका विभिन्न स्थानमा हिमपात भएको छ। निरन्तर परेको हिमपातले जनजीवन कष्टकर गएको छ। लगातार हिउँ पर्दा भेडा र भेडिगोठाला हिमाल उक्लन पाएका छैनन्।गाउँका वस्तुभाउ पनि लेक उक्लन सकिरहेका छैनन् ।यतिबेला यहाँका सर्वसाधारण हिउँ पग्लने दिन कुर्दै बसेका छन्। परेको हिउ बिलाउने बेला हिउँ थपिदै गएको छ। 

जिल्लाको पुथाउत्तरगंगाको तिज्याँङ्ग, दुले, जुनाङ र हिमगुइबाङ बस्तीमा बाक्लो हिमपात भएको छ।एक महिना अघि परेको हिउँ नपग्लिदै बुधबार फेरी हिउँ थपिएको छ। चिसोमा पनि विद्यालय चलेका त छन् तर विद्यार्थी भने आधा मात्रै आउने गरेका छन्। चिसोकै कारण विद्यार्थी तथा बालबालिका मौसमी ज्वरोको समस्याबाट प्रभावित भएका छन्।

हिपातका कारण व्यक्तिगत तथा विकास निर्माणका कार्यमा समेत अवरोध भएको वडाध्यक्ष मानबहादुर बुढाले बताए। हरेक दिन साँझपख हुने हिमपातका कारण दैनिकी कष्टकर बन्दै गएको उनले सुनाए। यस जिल्लाका अधिकांश ठाउँमा हिउँदमा मात्रै घर बनाउने चलन छ। हिमपातकै कारण यो वर्ष कमैले मात्रै घर बनाउन थालेका छन्। हिउँ र चिसोका कारण घर बनाउने योजनमा रहेका अधिकांशले त्यसको सुरुवात समेत गरेका छैनन्। 

उत्तरी धादिङमा वर्षकै बाक्लो हिमपात

उत्तरी धादिङको रुवीभ्याली गाउँपालिकामा यस वर्षकै बाक्लो हिमपात भएको छ। बुधबार बिहानैदेखि चिसो बढेको र राति भारी वर्षा भएसँगै बिहीबार बिहानैबाट बाक्लो हिमपात परेको रुवीभ्यालीको सेर्तुङबाट स्थानीय दिलिप घलेले जानकारी दिए।

तस्बिर : दिलिप घले, सेर्तुङ

रुवीभ्याली गाउँपालिकाको लापा, तिप्लिङ, सेर्तुङलगायत झालाङ, रीगाउँ, दार्खाको उच्च क्षेत्रहरुमा पनि बाक्लो हिमपात भएको स्थानीयले जानकारी दिएका छन्। यो वर्ष यसअघि २ पटकसम्म हिमपात भएपनि सामान्य हिमपात मात्रै भएको घलेले बताए। 'उच्च क्षेत्रमा स्थानीय घर बाहिर निस्कन सकेका छैनन्, घरभित्रै आगो तापेर बसिरहेका छन् भने तल्लो क्षेत्रमा स्थानीय हिमपातसँगै रमाइरहेका छन्।'

तस्बिर : दिलिप घले, सेर्तुङ

घलले भने, 'बाक्लो हिमपात परेपछि चौपाय, वृद्धवृद्धा र बालबालिका प्रभावित भएका छन्। उत्तरी धादिङकै मुख्य बालीको रुपमा रहेको आलु लगाउने तयारीमा रहेका कृषक समस्यामा परका छन्। हिमाली क्षेत्रमा आलु रोप्ने सिजन भएपनि अत्याधिक चिसोका कारण रोप्न नमिल्ने भएको छ भने हिमपातका कारण गहुँवालीलाई भने फाइदा पुगेको स्थानीय कृषक सोमबहादुर तामाङले बताए।

बुटवलमा असिना

रुपन्देही : जि्ल्लाको बुटवल आसपासमा आज बिहान भारी असिनासहितको पानी परेको छ। अहिले बुटवलका सबै गल्लिहरु असिनाले सेताम्मे छन् भने घरका छतहरु असिनाले भरिएका छन्। बुटवलसँगै रुपन्देहीका अन्य भागमा पनि असिना पानी वर्षा भएको छ।

बुटवलमा परेको असिना। तस्बिर : लक्ष्मण पोखरेल

असिनाका कारण यहाँका किसानले लगाएको बालिमा भने नोक्सान पुगेको छ। गहुँ र समुरोलगायत बालिमा क्षति पुगेको छ । बुटवलमा निकै वर्षपछि असिना परेको हो। अहिले रुपन्देहीका अधिकांश क्षेत्रमा पानी परिरहेको छ। असिना पानीपश्चात बालबालिका असिनासँग खेलिरहेका छन्।

निरन्तरको हिमपातले दिक्‍क

सुर्खेतः विगत एक दशकयता आवश्कयता अनुसार हिउँ नपर्दा निराश भएका कर्णालीका किसान यसपटकको हिमपातले हैरान भएका छन्।तीनपटकसम्म परेको हिउँले कृर्षि क्षेत्रमा राम्रो गर्ने भएपनि यसपटक कर्णालीमा आठपटकसम्म हिउँ परेपछि स्थानीय दिक्‍क भएका छन्।

पुसदेखि निरन्तर हिउँ पर्ने क्रम रोकिएको छैन। सुरुवातीमा धेरै हिँउ पर्दा खुशी भएका किसान र स्थानीय फागुनको दोस्रो साता पुग्दासमेत हिउँ पर्नेक्रम नरोकिएपछि दिक्‍क मान्न थालेका छन्।'माघ महिनासम्म हिउँ पर्दा ठीकै थियो। जुम्ला चन्दननाथ-१० का कृषक शंकुराज न्यौपानेले फागुनसम्म पनि हिउँ पग्लिन नरोकिएपछि दिक्‍क लाग्न थालेको बताए।

निरन्तर हिउँ पर्न थालेपछि हिउँदे बाली बिग्रने चिन्तामा कर्णालीका किसान छन्। यहाँको नागरिकको दैनिकी पनि कष्टकर बन्दै गएको छ।कर्णालीका जाजरकोट, सुर्खेत र दैलखेको उच्च भेक, रुकुम पश्चिम साविक कर्णालीका पाँचवटै जिल्लामा भारी हिमपात भएको छ। जसका कारण केही जिल्लामा बाहेक अन्यत्रको जनजीवन नराम्ररी प्रभावित बनेको छ। 

हवाई यात्राको विकल्प नभएका हुम्ला, मुगु र डोल्पामा भने दैनिक उपभोग्य सामग्रीको अभाव देखिन थालेको छ। उच्च क्षेत्रमा चार फिटसम्म हिउँ जमेको छ भने सदरमुकाम आसपासमा एक फिट बढी हिउँ परेको स्थानीयले बताएका छन्। 

पानीसँगै परेको हिउँले पहिरो आउन सक्ने भन्दै स्थानीय प्रशासनले नागरिकलाई सचेत गराएका छन्। भारी हिमपातका कारण लामो समयदेखि साविकका कर्णाली बिजुलीविहीन बनेको छ। यस्तै केही दिनअघि डोल्पामा गएको हिमपातले ८० भन्दा बढी चौंरी मरेका छन् भने सैयौं हराएको प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले बताए।

तीन महिनादेखि हिमपातकै कारण मुगु जाने राजमार्ग अवरुद्ध छ। मालबाहक गाडीहरु बाटोमै थन्किएका कारण बजारमा दैनिक उपभोग्य वस्तुको अभाव खड्किन थालेको छ।लामो समयसम्म चिसो बढेपछि कर्णालीका अधिकांश अस्पतालमा चिसोबाट प्रभावित बिरामीहरुको संख्या बढेको अस्पतालले जनाएको छ। 

जाजरकोटमा सातौ पटक हिमपात

जाजरकोट : जिल्लाको उत्तरी तथा पश्चिमी क्षेत्रका लेकाली भुभागमा सातौ पटक भारी हिमपात भएको छ। हिमपातसँगै अत्याधिक चिसो बढेपछि यहाँको जनजीवन कष्टकर भएको छ। मानिस घरबाहिर निस्कन सकिरहेका छैनन्। बुधबार बिहानैदेखि जिल्लाको उच्च भू- भागमा हिमपात र तल्लो क्षेत्रमा पानी परेपछि विद्यालयमा पठनपाठन समेत हुन सकेको छैन।

बारेकोटमा परेको हिमपाततस्बिर : राजेन्द्र कार्की

जिल्लाका सबै विद्यालय बन्द छन्। हिमपातले खलंगा पाँचकाटिया पैक सडक समेत बन्द भएको छ। गाडी बन्द हुँदा यात्रुहरु गन्तब्यमा पुग्न सकिरहेका छैनन्।

चरिकोटमा १८ वर्षपछि हिमपात

 चरिकोट : दोलखाको सदरमुकाम चरिकोटमा १८ वर्षपछि हिमपात भएको छ । जिल्लाको उच्च पहाडी तथा हिमाली भेगमा १३ औं पटक हिमपात हुँदा बिहीबार सदरमुकाम चरिकोटमा  पनि हिमपात भएको हो । यसअघि २०५८ सालमा यसैगरी हिमपात भएको यहाँका ज्येष्ठ नागरिकले बताएका छन् ।

चरिकोटमा परेको हिमपात। तस्बिर : रविन्द्र गौतम

चरिकोटमै हिमपात भएपछि नयाँपुस्ताका युवा युवतीहरू हिउँ खेलेर रमाइलो गरिरहेका छन् । बुधबार बिहानदेखि बदली भएको मौषम रातभरको वर्षा पछि  बिहान ६ बजेदेखि करिब २ घण्टा हिमपात भएको हो। १९२० मिटर उचाईमा अवस्थित सदरमुकाम चरिकोटको करिब २० मिटर तलको उचाईसम्म हिमपात भएको छ ।

उच्च हिमपातको कारण लामोसाँघु-जिरी सडकको भीमेश्वर नगरपालिका-९, खरिढुङ्गादेखि बोचसम्मको सडकखण्डअवरुद्ध भएको दोलखाका प्रहरी नायव उपरीक्षक माधव काफ्लेले जानकारी दिए । बाटो अवरुद्ध भएपछि निजी तथा सार्वजनिक यातायातका साधनहरू विपी राजमार्ग हुँदै राजधानी आवतजावत गरिरहेको प्रहरीले जनाएको छ ।

चरिकोटमा परेको हिमपात। तस्बिर : रवीन्द्र गौतम

-महेश केसी/मनिष दुवाडी/गोविन्द देवकोटा/लक्ष्मण पोखरेल/राजेन्द्र कार्की/ रवीन्द्र गौतम


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.