नेपाल–बंगलादेश सीधा यातायात अझै अनिश्चित
बिर्तामोड : बंगलादेश–भारत–नेपालबीच सीधा बस सेवाको गत वैशाख ११ गते मंगलबार परीक्षण भयो। बंगलादेशको ढाकाबाट छुटेका दुईवटा बस तामझामका साथ नेपाल प्रवेश गरे। झापाको काँकडभिट्टा नाकामा बस र बसमा सवार तीनै देशका अधिकारीलाई भव्य स्वागत पनि गरियो। बस ढाकाबाट हिँडेको ५२ घन्टापछि नेपालको पूर्वी नाकाबाट काँकडभिट्टा प्रवेश गरेका थियो। तर, अहिले त्यो दृष्य कथाजस्तै बनेको छ। त्यसपछि नेपाल–बंगलादेश बस सेवाको न चर्चा छ न पुनः सेवाको तयारी नै।
बंगलादेश, भुटान, भारत र नेपाल (बीबीआईएन) मोटर भेहिकल सम्झौता भएको तीन वर्षपछि वैशाखमा ढाका–काठमाडौं सीधा बस सेवा सञ्चालनको पहल सुरु भएको थियो । बस सेवा परीक्षण गरेको वर्षदिन बित्न लाग्दासमेत बस सेवाको औपचारिक सञ्चालन गर्ने÷नगर्ने विषयमा नेपाली र बंगलादेशी अधिकारीले अझै चासो दिएका छैनन्।
नेपाल–बंगलादेश द्विपक्षीय व्यापार तथा पारवहन शाखाकी उपसचिव सिर्जना तिवारीले सम्झौता भएको तीन वर्षपछि गत वैशाखमा परीक्षण गरिए पनि हालसम्म पुनः सञ्चालन गर्ने विषयमा खासै प्रगति नभएको बताइन्। बस सेवा परीक्षणका क्रममा नेपालका तर्फबाट टोलीमा सहभागी परराष्ट्र मन्त्रालयकी उपसचिव रोशन खनालले भुटानको संसद्बाट अनुमोदन भएपछि मात्र बस सेवा सञ्चालनमा आउन र सम्पूर्ण प्रक्रिया सकिन झन्डै ६ महिना लाग्ने बताएकी थिइन्। खनालले उक्त कुरा बताएको ११ महिना बित्न लागेको छ।
परीक्षण गरेको ११ महिना बित्न लाग्दासमेत यस विषयमा भुटानमा कुनै चर्चा नै नभएको नेपाल–बंगलादेश द्विपक्षीय व्यापार तथा पारवहन शाखाकी उपसचिव सिर्जना तिवारीले बताइन्। बीबीआईएन सम्झौतालगत्तै एसियाली विकास बैंकले नेपाल, भारत, भुटान र बंगलादेश जोडिने सडकलाई एसियन हाइवेका रूपमा विकास गर्ने भन्दै स्तरोन्नति गरिरहेको छ। तर, भुटानले अझै यो सम्झौतामा हस्ताक्षर गरेको छैन।
भुटानबाहेक तीनवटा मुलुकले सहमतिमा हस्ताक्षर गरिसकेपछि तीनवटै देशको संसद्बाट अनुमोदन भइसकेको छ। परीक्षणका क्रममा भुटानले परीक्षण यात्राका लागि शुभेच्छा भन्दै नेपाललाई पत्र लेखेको थियो। त्यसपछि भुटानले यस विषयमा चासो नदिँदा परीक्षणपछि सेवा सञ्चालनमा समस्या भएको हुनसक्ने मेची भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख टेकबहादुर अर्यालले बताए। ‘परीक्षण पनि सफल भएको हो। नेपाल, बंगलादेश र भारतले सम्झौता गरिसकेकै हो’, उनले भने, ‘तर भुटानको सहमति देखिएको छैन। कारण यही हुन सक्छ।’
नेपाल–बंगलादेशबीच बस मात्र होइन, रेलवे र हवाई सेवा सञ्चालन गर्ने काम पनि अघि बढ्न सकेको छैन।
बस सेवा मात्र होइन नेपाल–बंगलादेशबीच रेलवे र हवाई सेवा सञ्चालन गर्ने काम अघि बढ्न सकेको छैन। नेपाल–बंगलादेशबीच क्षेत्रीयस्तरमा रेलवे र हवाई सेवा सञ्चालनको सम्भाव्यता अध्ययनसमेत भएको थियो। परराष्ट्र मन्त्रालय र नेपाल–बंगलादेश चेम्बर्स अफ ट्रेडर्सको संयुक्त टोलीले बस, रेल र हवाई सेवा विस्तारबारे एक वर्षअघि पाँच दिन लगाएर विस्तृत अध्ययन गरेको थियो । टोलीले बंगलादेशको पञ्चगढ–धुलाबारी या पार्वतीपुर–विराटनगरबीच रेलवे र सहिदपुर–भद्रपुर र सहिदपुर–विराटनगरबीच हवाई सेवाको सम्भावना रहेको अध्ययनका क्रममा बताएको थियो ।
हवाई सेवा सञ्चालनका लागि दुवै देश तयारी अवस्थामा रहेकाले सम्झौता गरेर सञ्चालन गर्न समस्या नभए पनि भारतले रुट उपलब्ध नगराएको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ। केही महिनाअघि काठमाडौंमा भएको दुई देशबीचको सचिवस्तरीय बैठकमा व्यापार र वाणिज्य विषयमा कुरा उठे पनि बस, हवाई र रेल सेवाबारे कुनै छलफल भएको थिएन।
उक्त समयमा बस सेवाका लागि कुरा गर्ने नेपालको तयारी भए पनि उक्त विषयले छलफलमा प्रवेश नपाएको द्विपक्षीय व्यापार तथा पारवहन शाखाकी उपसचिव तिवारीले बताइन् । ढाकाबाट करिब चार सय किलोमिटर उत्तरमा पर्ने सहिदपुर विमानस्थल भारत–बंगलादेश नाका फूलबारी–बंगलाबन्धबाट एक सय ४४ किलोमिटरको दुरीमा पर्छ । बंगलादेशका पाँच अन्तर्राष्ट्रिय विमानस्थलमध्ये सहिदपुर एक हो ।
सहिदपुरबाट विराटनगर या भद्रपुरसम्म हवाई सेवा जोडिए १५ देखि २० मिनेटमा आवतजावत गर्न सकिने झापा चन्द्रगढी विमानस्थल प्रमुख पूर्ण चूडालले बताए। सन् १९७६ देखि नै बंगलादेशबाट पारवहन सुविधा लिने समझदारी भएको थियो । सन् १९९६ देखि फूलबारी–बंगलाबन्ध हुँदै नेपाल बंगलादेश व्यापार भने जारी छ ।
प्रतिक्रिया दिनुहोस !