हिउँले पुरिए गोरखाका दुई गाउँ

हिउँले पुरिए गोरखाका दुई गाउँ

गोरखा : चुमनुब्री गाउँपालिका–१ का सामागाउँ र साम्दो दुई सातादेखि हिउँले पुरिएका छन्। गाउँमा साढे सात फिटभन्दा बाक्लो हिउँ जमेको छ।

‘एकतले घर साढे ६ फिट अग्लो हुन्छ। यस्ता घर त सबै ठ्याम्मै पुरिएका छन्’, साम्दोका वडासदस्य निमा दोर्जेले भने, ‘दुईतले घरका माथिल्लो तलाचाहिँ देखिन्छ।’ २० वर्षपछि भारी हिमपात भएको उनले बताए।

उनका अनुसार जनजीवन ज्यादै कष्टकर र अत्यासलाग्दो भएको छ। ‘हिउँ थपिएको थपियै छ। एउटा घरको मान्छे अर्कोमा जान सक्ने अवस्था छैन’, उनले भने, ‘घाँस, पराल, पानी नपाएर पशु–चौपायाको पनि बिचल्ली छ।’ हिमपहिरोको त्रासले साम्दोको माथिल्लो टोलका ४० घरका बासिन्दा तल्लोमा सरेका छन्। ‘हिमपहिरोले २० वर्षअघि पनि घर, गोठ, गुम्बा सबै लगेको रहेछ’, उनले भने, ‘अहिले पनि त्यस्तै हिमपहिरोको डरले गाउँलेहरू तल्लो टोलमा सरेर बसेका छन्। बिहान र बेलुका गाईवस्तुलाई खानेकुरा दिने बेला मात्र माथिल्लो टोलमा जान्छन्।’

सामागाउँका १ सय २० घर पनि हिउँले पुरिएको अर्का वडासदस्य मिङ्मार लामाले सुनाए। ‘एकतले घर त जति खोतल्दा पनि भेटिएको छैन’, उनले भने, ‘बारी र जंगलमा छाडिएका याक, चौरी त कति मरे भन्ने अत्तोपत्तो छैन। खोज्न जाऊँ भने मान्छे पनि मर्छ कि भन्ने डर छ।’

सामागाउँ ३ हजार ५ सय २० मिटर र साम्दो ३ हजार ७ सय मिटर उचाइमा छन्। हिमपातका कारण लोपोन्मुख जनावर पनि मर्न थालेका छन्। जंगली कुकुरले कस्तुरी, नाउर, थारलाई मारेको लामाले बताए। ‘हिउँ परेपछि ती जनावर भाग्न सक्दैनन् अनि जंगली कुकुरले मारेको भेटिएको छ’, उनले भने, ‘तीन कस्तुरी, चार नाउर र चार थार मारेको हामीले फेला पारेका छौं।’

गाउँमा विपत्ति पर्दा सरकार र जनप्रतिनिधिले वास्ता नगरेको स्थानीयको गुनासो छ। उनीहरूका अनुसार नजिकैका तिब्बती गाउँमा सरकारले केही समस्या हुन दिएको छैन। ‘हाम्रो सरकारले पशु–चौपाया त परै जाओस्, मान्छेलाई कस्तो छ ? जोगिएर बससम्म भनेको छैन’, एक स्थानीयले भने, ‘हामीले भोट दिएर जिताएर पठाएका थियौं। तर, दुःख परेका बेला हाम्रोे पनि सरकार छ, संरक्षण गर्छ, अभिभावक छ भन्ने महसुस भएन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.