२४.३ प्रतिशतले बढ्यो व्यापार घाटा

२४.३ प्रतिशतले बढ्यो व्यापार घाटा

काठमाडौं : वैदेशिक व्यापारको नाममा पछिल्लो सात महिनामा आठ खर्ब ३३ अर्ब रुपैयाँ बाहिरिएको छ। स्वदेशमै उत्पादन गर्न सकिने वस्तु पनि विदेशबाट आयात गर्नुपर्दा यति ठूलो नेपाली मुद्रा बाहिरिएको हो।

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र (टीईपीसी)ले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पछिल्लो सात महिना (साउनदेखि माघ)को तथ्यांकअनुसार महँगा र विलासी वस्तुको नाममा आठ खर्ब ३३ अर्ब २७ करोड रुपैयाँ भारतसहित तेस्रो मुलुक बिदेसिएको हो। अघिल्लो वर्षको सोही अवधिको तुलनामा यस वर्ष २३.४ प्रतिशतले आयातमा वृद्धि भई विदेशी वस्तु उपभोगको नाममा यो रकम बाहिरिएको हो। अघिल्लो वर्ष यस अवधिमा ६ खर्ब ७५ अर्ब को विदेशी वस्तु नेपालमा आयात भएको थियो।

माघ महिनामा मात्रै नेपालमा एक खर्ब १० अर्ब रुपैयाँको वस्तु आयात भएको छ।पछिल्लो तथ्यांकअनुसार सात महिनाको अवधिमा नेपालले विभिन्न मुलुकसँग आठ खर्ब ८६ अर्ब ३५ करोड रुपैयाँबराबरको कुल वैदेशिक कारोबार गरेको छ। अघिल्लो वर्षको यस अवधिको तुलनामा यो कारोबार २०.४ प्रतिशतले बढी हो। नेपालले अघिल्लो वर्ष यस अवधिमा सात खर्ब २२ अर्ब ३२ करोडको वैदेशिक कारोबार गरेको थियो। निर्यातमा झिनो सुधार देखिए पनि आयातमा भएको वृद्धिले सात महिनामा सात खर्ब ८० अर्ब रुपैयाँको व्यापार घाटा मुलुकले व्यहोरेको छ। यस अवधिमा नेपालले १५ रुपैयाँ सात पैसाको वस्तु आयात गर्दा एक रुपैयाँबराबरको वस्तु निर्यात गरेको छ।

काउन्टर भेलिङ तथा एन्टी डम्पिङ ऐनको व्यवस्थालाई आकर्षित गरी अत्यावश्यकबाहेक वस्तुको आयातमा नियन्त्रण गर्ने तयारी सरकारले गरेको छ।

समीक्षा अवधिमा १२.२ प्रतिशतले वृद्धि भएर ५३ अर्ब ८ करोड रुपैयाँको नेपाली वस्तु भारतलगायत तेस्रो मुलुक निर्यात भएको छ। कुल वैदेशिक व्यापारमा आयातको ९४ प्रतिशत र निर्यातको ६ प्रतिशत हिस्सा छ। निर्याततर्फ धागो, फलाम तथा स्टिलजन्य वस्तु, ऊनी गलैंचा, तयारी पोसाक, चिया, जुस, टेक्सटाइल, अलैंची, पश्मिना सल, फेल्ट, जडीबुटीलगायत वस्तुको निर्यात दर झिनो रूपमा सुधार भएको छ।

सरकारले व्यापार घाटा न्युनीकरण गर्न अनियन्त्रित रूपमा आयात हुने महँगा तथा विलासी वस्तुको आयात नियन्त्रण गर्ने तयारी गरेको छ। स्वदेशमै उत्पादन हुन सक्ने वस्तु बाहिरबाट आयात हुँदा व्यापार घाटा बढ्दै गएको ठहर उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको छ।

मन्त्रालयका सहसचिव रविशंकर सैंजूकाअनुसार केही वस्तु स्वदेशमै सहज रूपमा उत्पादन गर्न सक्ने अवस्था भए पनि बाहिरबाट ठूलो परिमाणमा सस्तो मूल्यमा आयात हुने गरेकाले व्यापार घाटा उच्च परिमाणमा बढ्दै गएको हो। यसका लागि मन्त्रालयले केही वस्तुको सूची तयार पार्ने काम सुरु गरेको छ। मन्त्रालय स्रोतकाअनुसार मुख्य गरी विलासी, महँगा, वातावरणलाई नकारात्मक प्रभाव पार्ने र सर्वसाधारणको स्वास्थ्यमा हानि पु¥याउने वस्तुको सूची तयार पारिएको छ। यस्तै खाद्यान्न, काष्ठजन्य वस्तुको सूची पनि तयार पारिएको छ।

भाडावर्तन, बेभरेज, विद्युतीय सामग्री, महँगा सवारीसाधन र दुईपांग्रे सवारी, सिसाका भाडावर्तन, मासु, खैनी, चुरोट, कस्मेटिक्स, सजावटका सामग्री, गरगहना, खेलौना, मदिरा, फलफूल, मसलालगायत वस्तुलाई उक्त सूचीमा सुचीकृत गरिएको छ। नेपालमा उत्पादन हुने वस्तुको लागतभन्दा सस्तोमा अन्य मुलुकबाट आयात हुने वस्तुको आयातमाथि पनि नियन्त्रण गर्ने तयारी मन्त्रालयले गरेको छ।

विश्व व्यापार संगठनले सदस्य राष्ट्रका लागि तोकेको परिधिभित्रै रहेर भन्सार शुल्क वृद्धिदेखि आउन लागेको काउन्टर भेलिङ तथा एन्टी डम्पिङ ऐनको व्यवस्थालाई आकर्षित गरी अत्यावश्यकबाहेकका वस्तुको आयातमा नियन्त्रण गर्ने तयारी छ।

पछिल्लो समय प्रधानमन्त्री केपी ओलीले आयात दर कम गर्न स्वदेशी वस्तुमात्रै उपभोगमा ल्याउन आग्रह गरे पनि स्वदेशी वस्तु उपभोग नीति नआउँदा आयात दरमा वृद्धि भएको हो।

आयातित प्रमुख वस्तु

सरकारले आयात दर घटाउन विभिन्न योजना कार्यान्वयनमा ल्याइरहँदा आयातको हिस्सा घट्नुको साटो बढ्ने क्रममा छ। नेपालले प्रमुख गरी भारत, चीन, यूएई, फ्रान्स, इन्डोनेसिया, थाइल्यान्ड, क्यानडा, स्विट्जरल्यान्ड, मलेसिया, अर्जेन्टिना, संयुक्त राज्य अमेरिका, युक्रेन, भियतनाम र दक्षिण कोरियाबाट उपभोग्य वस्तु आयात हुन्छ। यसमध्ये नेपालले सबैभन्दा बढी भारतबाट आयात गर्छ।

तथ्यांकअनुसार नेपालमा व्यापार घाटाको ठूलो हिस्सा पेट्रोलियम पदार्थले ओगटेको छ। सात महिनाको अवधिमा ३७.६ प्रतिशतले पेट्रोलियम पदार्थको आयातमा वृद्धि भएर एक खर्ब २० अर्बको पेट्रोलियम पदार्थ आयात भएको छ। यस अवधिमा फलाम तथा स्टिल र यसबाट उत्पादित वस्तुको आयात ४१.६ प्रतिशतले वृद्धि भएर एक खर्बको आयात भएको छ। त्यस्तै मेसिनरी तथा पार्टपुर्जातर्फ ४.० प्रतिशतले कमी आएको छ।

सात महिनाको अवधिमा ६८ अर्ब ७४ करोडको मेसिनरी तथा पार्ट्स आयात भएको छ। यातायात र पार्टपुर्जाको आयातमा १२.८ प्रतिशतले वृद्धि भएर ५६ अर्ब ९८ करोड, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स वस्तुतर्फ पनि ३३.६ प्रतिशतले वृद्धि भएर ३४ अर्ब २७ करोड, खाद्यान्न (धान, मकै, गहुँ, कोदो)तर्फ २०.४ प्रतिशतले वृद्धि भएर ३२ अर्ब ५२ करोड, तयारी पोसाकतर्फ एक सय ६८ प्रतिशतले वृद्धि भएर २१ अर्ब २९ करोड, सुनतर्फ १५.९ प्रतिशतले वृद्धि भएर २० अर्ब ५५ करोड, ९ अर्ब ७१ करोडको सिमेन्ट क्लिन्कर, दुई सय २७ प्रतिशतले वृद्धि भएर हवाईजहाज तथा हवाईजहाज पाटर््सपुर्जातर्फ १८ अर्ब ९८ करोड रुपैयाँको आयात भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.