अहेब नै बेच्छन्, निशुल्क औषधि
ओखलढुंगा : सुनकोसी गाउँपालिका- ७ च्यानमका अहेब मोहन बानियाले सरकारी औषधि बेचेको पाइएको छ। उपचारमा आएका बिरामीमाथि दुव्र्यवहार गर्ने र निःशुल्क सरकारी औषधि बेच्ने गरेको पाइएको स्थानीय टिका कट्वालले बताए। उनले भने, 'धेरै पटक उनीमाथि यस्ता आरोप लागेपनि उनी सच्चिएनन्, सबै स्थानीय उनी विरुद्धमा छन्।'
औषधि बेचेको भेटेपछि १ सय ६८ जना स्थानीय नागरिकले बानियामाथि कारवाहीको माग गर्दै वडा नं. ७ को वडा कार्यालयमा शुक्रबार निवदेन दर्ता गराएका छन्। उनीहरुले बानियमाथि छानविन र सरुवाको माग गरेका छन्।
अहेव बानियाले सेवा लिन जाने सर्वासाधारणलाई गालीगलौज गर्ने गरेको, सरकारी स्तरबाट निशुल्क रुपमा पाइने औषधि बेचबिखन गरेको निवेदनमा उल्लेख गरिएको छ। सर्व साधारणलाई सुलभ सेवा भन्दा गाली गलैज गर्ने र निशुल्क औषधि बेच्ने गरेको अर्का स्थानीय सञ्जिव खत्रीले बताए।
आरोपबारे अहेब बानियाँले भने स्थानीयले झुटो आरोप लगाएको दावी गरे। उनले कार्यालय प्रमुख सुबोध यादवसँग आफ्नो सामान्य विवाद भएकाले उनैले आफू विरुद्ध स्थानीय उतारेको आरोप लगाए। उनले भने, 'केही समय अघिसम्म आफ्नो कोठाबाट औषधि बेचेको भएपनि अहिले बेच्न छाडेको छु, नीजि औषधि बेचेको थिएँ।'
अहेब विरुद्धको उजुरीबारे वडाअध्यक्ष श्यामबहादुर कट्वालले स्वास्थ्य चौकीका प्रमुख, अहेब र स्थानीयकाबीच छलफल गर्ने बताएका छन्। उनले सर्वपक्षीय छलफल पछि अहेब दोषी पाइए कारबाही हुने जानकारी गराए।
यता स्वास्थ्य चौकी प्रमुख सुबोध यादवले अहेब बानियाँको कार्यशैली ठिक नभएको बताए। उनले अहेब बानियाले कोठाबाट औषधि बेच्ने गरेको पाइएपछि स्थानीयले उनीमाथि कारवाही गर्न माग गरेका बताए।