दोलखामा सेनाको स्वास्थ्य शिविर, महिलामा पाठेघरसम्बन्धी समस्या बढ्दो
चरिकोट : नेपाली सेनाले दोलखाको गौरीशंकर गाउँपालिका-१, जुँगुमा सञ्चालन गरेको स्वास्थ्य शिविरमा झण्डै ४ सय जनाले स्वास्थ्यलाभ लिएका छन्। रणभीम गण चरिकोटको आयोजना तथा गौरीशंकर गाउँपालिकाको सहकार्यमा सञ्चालित एक दिने सैनिक स्वास्थ्य शिविरमा ३ सय ८५ जनाले स्वास्थ्य उपचार गराएका हुन्।शिविरमा जनरल ओपीडी, स्त्रीरोग, आँखा र दाँतसम्बन्धी रोगको उपचार गरिएको रणभीम गणका सेनानी अमरराज कट्टेलले जानकारी दिए।
उपचारमा आएकामध्ये धेरैमा आँखाको समस्या देखिएको थियो। ३ सय ८५ जनाले स्वास्थ्य जाँच गर्न आएकोमा १८० जनाले आँखाको जाँच गराए थिए। त्यसैगरी स्वास्थोपचारका लागि आउनेमध्ये महिलाको संख्या धेरै थियो।शिविरमा १५० भन्दा बढीको स्त्रीरोगसम्बन्धी उपचार गरिएको डा. क्षमता घिमिरेले जानकारी दिइन्। तीमध्ये करिब १० प्रतिशतमा पाठेघर खस्ने समस्या देखिएको र अन्य १० प्रतिशतमा पाठेघरको मुखमा घाउ भएका बिरामी भेटिएको उनले बताइन्।
शिविरमा दाँतसम्बन्धी रोगका बिरामी पनि धेरै पाइएको थियो। ५० जना बढीमा दाँतको समस्या देखिएको र उनीहरुको दाँत झिकिएको डा. प्रतिमा खड्काले जानकारी दिइन्। उपचारमा आएका धेरैजसो बिरामीले एकभन्दा बढी रोगको उपचार गराएको सहसेनानी डा. अमिररत्न शाक्यले जानकारी दिए ।बिरामीलाई एन्टीबायोटिक, दुःखाइ कम गर्ने औषधि, भिटामिनलगायतका सय भन्दा बढी प्रकारका औषधि निशुल्क वितरण गरिएको थियो।
मुलुकलाई शान्तिसुरक्षाका साथै जनतालाई स्वास्थ्योपचार दिने दायित्वपूर्ण उद्देश्यसहित दोलखाको साविक जुँगुस्थित नीलकण्ठेश्वर माविमा स्वास्थ्य शिविरको आयोजना गरिएको सेनानी अमरराज कट्टेलले बताए।