कांग्रेस एकताका अनिवार्य सर्त
अस्तित्वमा देखिएका राजनीतिक दलमध्ये लोकतन्त्र जोगाउन संघर्ष गर्ने, नागरिक स्वतन्त्रता रक्षार्थ उभिने कांग्रेसभन्दा भरपर्दो अर्को शक्ति मुलुकमा देखिएको छैन। राणा र राजासँग लडेको कांग्रेस आज कम्युनिस्ट सत्तासँग लड्न खोज्दै छ। हिजोको भन्दा अबको लडाईं बढी पेचिलो छ। जीवनको अधिकांश समय स्वतन्त्रता र मानव अधिकारको लडाईमा अगुवाइ गरेको कांग्रेस अहिले आफैं उल्झनमा परेको छ।
इतिहासमा थुप्रै राजनीतिक उल्झन सुल्झाएको कांग्रेसमा आज के समस्या छ त ? धेरैजसो कांग्रेसीलाई यो प्रश्न गर्ने हो भने तयारी प्रायः अवस्थाको जवाफ आउँछ, ‘पार्टीभित्रको गुट उपगुट।’ अर्थात पार्र्र्टीभित्र एकता छैन, नेता–कार्यकर्तामा अनुशासन छैन, घात–अन्तर्घात भयो, आदि। आफैंभित्रको द्वन्द्वका कारण पार्र्र्टीले साख र शक्ति गुमाउँदै गएको छ। संस्थापन गुटले स्वेच्छाचारिताको निर्वाध अभ्यासलाई अनुशासन ठान्छ। पार्र्र्टी सञ्चालनका लोकतान्त्रिक मूल्य र विधानका प्रावधानलाई कुल्चिरहन्छ। फरक भनिएको गुटको असहमति प्राज्ञिक वा राजनीतिकभन्दा पनि सानोतिनो भागवन्डामा सीमित रहन्छ। संस्थापन पक्ष पार्टीभन्दा गुट जोगाउन केन्द्रित देखिन्छ। यसको स्वाभाविक प्रतिरोधको सीप, कला र क्षमता वैकल्पिक धारमा देखिँदैन। विषय र विचारभन्दा पनि अवसरले अतृप्तहरूले भरिएका गुटका पसल पार्र्र्टीमा थपिँदैछन्। यसले पार्र्र्टी शुद्धीकरण र सुदृढीकरणका सूचक सकारात्मक लाग्दैनन्। लोकतन्त्रलाई आफ्नो जीवनपद्धति बनाएको नागरिक समाज कांग्रेसको यो अवस्थादेखि चिन्तित छ।
समान राजनीतिक उद्देश्य र विचार बोकेका मानिसको समूह नै राजनीतिक दल हो। र पनि, कांग्रेसमा किन एकता छैन ? आजको आवश्यकता पार्टीभित्रका स्वघोषित गुटाधीशहरूबीच मात्रै एकता हो या हिजो कांग्रेसलाई निर्णायक शक्ति बनाउन भूमिका खेल्ने अन्य आधारभूत पक्षहरूको सन्दर्भमा पनि ? आजको समस्त लोकतन्त्रवादी नागरिक समाज यिनै गुटाधीशहरूकै वरिपरि मात्र सीमित छ त ? शीर्ष नेताहरू उठेर मिलाएका हात उचाल्दैमा पार्टीका सबै अवयव एक हुन्छन् त ? यिनको स्वार्थ पूरा भएपछि तलैसम्म सर्लक्कै एकढिक्का भई पार्र्र्टी अघि बढ्ला त ? अब यी र यस्ता सवालको जवाफ खोजौं।
नीतिगत स्पष्टता
राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नोे आदर्श मान्ने कांग्रेस लोकतन्त्रको विषयमा जति प्रष्ट छ, त्यति प्रष्ट र व्यवहारिक राष्ट्रियता र समाजवादका सन्दर्भमा देखिँदैन। लोकतान्त्रिक शासन प्रणालीका विषयमा वेस्ट मिनिस्टर मोडेलको संसदीय प्रणालीमा कांग्रेस स्पष्ट नै देखिन्छ। आज मुलुक कांग्रेसको यही शासकीय नीतिकै अभ्यासमा छ। यसमा भने पार्टीभित्र खासै समस्या देखिन्न। यही पहिचानले नै कांग्रेस आज नागरिक समाजको मनमस्तिष्कमा जीवित छ।
राष्ट्रियताको सन्दर्भमा कांग्रेस अलि बढी सचेत हुनु जरुरी छ। आज भूगोलमाथि भन्दा पनि यहाँको धार्मिक, सांस्कृतिक मूल्य मान्यतामाथिको अतिक्रमण बढी चुनौतीपूर्ण छ। मानिस आमाको कोखबाट जन्मन्छ, संस्कृतिको काखमा हुर्किन्छ र एउटा धर्तीमा टेक्छ। यसरी राष्ट्रियताको सन्दर्भमा जननी, जन्मसंस्कृति र जन्मभूमि उत्तिकै महत्त्वपूर्ण रहन्छन्। केही बाह्य शक्ति यहाँको पारम्परिक शक्तिको विस्थापनसँगै आफ्नो राजनीतिक, सांस्कृतिक, धार्मिक गतिविधि बढाउन लागिपरेको देखिन्छ। उनीहरू यहाँको धार्मिक, सांस्कृतिक मूल्यमान्यतामाथि अतिक्रमणको वातावरण बनाउन कांग्रेसभन्दा कम्युनिस्टहरू नै उपयुक्त देख्छन्। आन्तरिक रूपमा समेत संगठित र यहाँका मौलिक मान्यताका विरुद्ध उभिन सक्ने कम्युनिस्टको विकल्प उनीहरूका लागि कांग्रेस बन्न सक्दैन। बन्न पनि हुँदैन। अब सत्ता र शक्तिका स्रोत जनतालाई मानेर तिनीहरूसँग टुट्दै गएको एकतालाई पुनस्र्थापित गर्दै अझ मजबुत भई अघि बढ्ने वा बाह्य शक्तिको गोटी बनेर उनीहरूको स्वार्थ र आफ्नोे सत्तामोहलाई मिलाएर जाने ?
माथिल्लो तहका केही नेताको पदीय व्यवस्थापनमा नअल्मलिई मुलुक र लोकतन्त्रको रक्षार्थ नागरिक समाजसँग एकाकार भई पार्टीलाई पूर्णतः जनउत्तरदायी बनाउनुपर्छ।
नीतिगत रूपमै स्पष्ट हुनु जरुरी छ। बीपीले भनेजस्तो राष्ट्रियता भनेको माटो मात्र होइन, जनताको सामूहिक भावना हो। विदेशीलाई खुसी पार्ने नाममा यहाँको भूगोल र सनातन धर्म संस्कृतिमाथि अतिक्रमण हुँदा मौन रहनु उचित होइन। आमा, संस्कृति र जमिनमाथिको अतिक्रमणलाई टुलुटुलु हेरेर बस्ने कोही पनि राष्ट्रवादी बन्न सक्दैन। यसर्थ जनभावनालाई शिरोपर गरी राष्ट्रियताका प्रतीक यहाँको विविध जातजातिले बोकेको सनातन सभ्यता र संस्कृतिको पक्षपोषण गर्दै तिनीहरूसँगको एकतामा जोड दिनुपर्छ।
यससँगै समाजवादको सर्त उदार अर्थतन्त्रको अंगीकार हो वा पूर्ण लोककल्याणकारी राज्यको अवधारणालाई आत्मसात गर्ने प्रष्ट हुनु आवश्यक छ। आन्तरिक साधन स्रोतको पर्याप्त परिचालनबिना बाह्य सहयोगले कुनै पनि मुलुक समृद्ध बनेको छैन र बन्न पनि बन्दैन। अब यहाँका आन्तरिक शक्तिका स्रोत नागरिक समाजसँग एकाकार भई नयाँ गन्तव्य तय गर्ने वा कम्युनिस्टहरूभन्दा एक कदम अगाडि बढेर विदेशीको स्वार्थपूर्तिको माध्यम बनेर सत्ता स्वार्थको बाटो समात्ने ऐतिहासिक परीक्षणको घडीमा कांग्रेस उभिएको छ। अहिले यो पार्टीको मूल आदर्श र सिद्धान्त एकातिर, क्रियाकलाप अर्काेतिरजस्तो देखिएको छ। पार्टीका मञ्चहरूमा आउने विविध विचारहरूलाई समेट्दै आधारभूत विषयमा नीति, सिद्धान्त र व्यवहारमा एकरूपता नभए पार्टी सांगठनिक रूपमा एकैसूत्रमा नरहन सक्छ।
मापदण्डमा स्पष्टता/पारदर्शिता
कांग्रेसमा दशकौं जेलजीवन बिताएका, स्थापनाकालदेखि नै निरन्तर समर्पित नेता कार्यकर्तादेखि भर्खर पार्टी प्रवेश गरेका मानिसको लामो पंक्ति छ। बिहान साँझ छाक टार्न मुस्किल हुने निमुखादेखि नेपालका सबैभन्दा धनी व्यक्ति यसमा छन्। अनपढ निरक्षरदेखि पठित विद्वान कहलिएकाहरूसम्म आबद्व छन्। मजदुरदेखि मालिकसम्म पार्टी संयन्त्रमा जोडिएका छन्। यस्तो विशाल विविधता र विषमता बोकेको पार्टी सञ्चालनमा सबैले आआफ्नोे हिस्सेदारी खोजेका हुन्छन्। पार्टी सञ्चालन र जिम्मेवारी बाँडफाँटको कुनै स्पष्ट मापदण्ड बनाइएको छैन। भएका मापदण्ड पनि पालना गरिएको छैन। मुलुक र पार्टीलाई रगत दिनेहरूभन्दा नेतृत्वलाई नगद दिनेहरूको बोलवाला छ।
गत निर्वाचनमा पार्टीका लागि कुनै उल्लेख्य योगदान नभएका डन, ठेकेदार र व्यापारी अटाउने उम्मेदवारको सूचीमा पार्टी र मुलुकले आशा गरेका संघर्षमय इतिहास बोकेका गुरुराज घिमिरे र धनराज गुरुङजस्ता ऊर्जावान युवा नेता अटाउन सकेनन्। पार्टी नेतृत्वका गतिविधि पूर्णतः अपारदर्शी र शंकास्पद देखिन्छन्। जिम्मेवारीको बाँडफाँट नेतृत्वको तजविजीमा होइन स्पष्ट मापदण्डका आधारमा पारदर्शी हुनुपर्छ। सर्वाधिक शक्तिशाली र महत्त्वपूर्ण भातृसंस्था नेविसंघको उच्च नेतृत्वमा गुटमैत्री तर नियमित पढाइ छाडेका र कलेज सञ्चालकसम्म रहे। अन्य भातृसंस्थाहरूमा समेत उपयुक्त नेतृत्व छैन। सम्बन्धित समुदायको मर्म र भावना बुझ्नेलाई नेतृत्वमा ल्याउने वातावरण र मापदण्ड निर्माण गर्नुपर्छ। पार्टीमा गरेको योगदान, क्षमता, इच्छाशक्ति समेतका आधारमा उपयुक्त व्यक्तिलाई उपयुक्त जिम्मेवारी दिने गरेमात्र पार्टीमा सार्थक एकता कायम हुनसक्छ।
सामूहिक जवाफदेहिता
आन्दोलनमा देखिने एकता उद्देश्य मिलेकै कारण सम्भव भएको हो। त्यसबेला सबैको लक्ष्य व्यवस्था वा सत्ता परिवर्तन हुन्छ। जब सत्ता प्राप्त हुन्छ, तब कुरा मिल्दैन। सत्तामा पुगेपछि पार्टीमा नयाँ वर्गको उदय हुन्छ। सत्ता भेट्ने नितान्त व्यक्तिगत स्वार्थमा मात्र केन्द्रित हुन्छ। आन्दोलनका सहयात्री र लक्ष्यित वर्गप्रतिको उदासीनताले बाँकी समाजबाट सत्ता एक्लिनु स्वभाविक पनि हो। निर्वाचन जस्तो नियमित कार्यसम्पन्न हुनुको जस लिन पार्टी विधानको प्रस्तावनामै नामसहित उल्लेख गर्नेले गत निर्वाचनमा हारको जिम्मा नलिनेलाई के भन्ने ? योभन्दा गैरजवाफदेहिता के हुन्छ ? जिम्मेवारी र जस अपजस सामूहिक रूपमा लिनु पर्दैन ?
सामूहिक नेतृत्व र सामूहिक जवाफदेहिताको पद्धति नबसाली सबैको अपनत्व कायम हुँदैन। मुखले भन्दैमा मनले एकता हुँदैन। सत्ताको अवसर आउँदा कोही नचाहिने, सहभागिता स्वेच्छाचारी बनाउने व्यवहारले कसरी हुन्छ एकमना एकता ? अवसर आउँदा अवसरको र परिआउँदा कामको उपयुक्त जिम्मेवारी नदिई सामूहिक जवाफदेहिताको वातावरण बन्दैन। अनि अवसर नपाउनेको मन फाट्छ। पाउने र नपाउनेबीच दूरी बढ्न जान्छ। यसबाट सबै मिलेर अगाडि बढ्ने वातावरण बनाउन छाडेर एकले अर्कालाई खुइल्याउनेतर्फ सबै पक्ष केन्द्रित हुन्छन्। यस प्रवृत्तिको अन्त्य भए मात्र अगाडि आउने चुनौतीको सामना गर्न एकाकार भइन्छ।
आन्तरिक लोकतन्त्रको अभ्यास
कांग्रेस आफैंभित्रको लोकतान्त्रिक अभ्यासमा पटकपटक चुकेको छ। एकपटक नेतृत्वमा पुगेपछि फेरि आधारभूत तहबाट अनुमोदित हुनु नपर्ने कुरा पूर्ण निरंकुश र तानाशाह बन्ने प्रपञ्चबाहेक केही होइन। तल्लो तहबाट निर्वाचित नभई नेतृत्वमा रहिरहने धृष्टता लोकतान्त्रिक आचरणको बर्खिलाप हो। यस्तो स्वेच्छाचारीतालाई पार्टी अनुशासन ठान्ने र यसमा विमति राख्नेबीच द्वन्द्व बढ्दो छ। कम्युनिस्ट अधिनायकवादविरुद्ध जसरी बाहिर आफूलाई मुखरित गर्न खोज्दै छ, त्यसरी नै पार्टी सत्तापक्ष आफूभित्र चरम एकाधिकार र अधिनायकवादको अभ्यास गर्दैछ। पार्टी तथा भातृसंस्थामा हुने नेतृत्वको प्रतिष्पर्धा स्वच्छ छैन। पार्टीभित्र फरक मत राख्नेहरूको कुरै नसुन्ने प्रवृत्ति र रवैया लोकतान्त्रिक पार्टीमा सुहाउँदैन। फरक धारले पनि आफ्ना मतभिन्नतालाई प्राज्ञिक वा राजनीतिक ढंगले भन्दा पनि व्यक्तिगत अभीष्टबाट प्रेरित भई सार्वजनिक गर्नु लोकतन्त्रमा शोभयमान हुँदैन।
लोकतन्त्र भनेको खराबहरूबीच एकअर्कालाई अझ खराब देखाएर आफू अगाडि जाने प्रतिस्पर्धा होइन। बरु राम्रा र उत्कृष्टका बीच सर्वाेत्कृष्ट बन्ने प्रतिस्पर्धा हो। तसर्थ आन्तरिक लोकतन्त्रको पूर्ण अभ्यासबाट आफैंमा लोकतान्त्रिक संस्कारयुक्त आचरण र निष्ठा बोकेको नेतृत्व कांग्रेसले स्थापित गर्नुपर्छ। जसले लोकतन्त्रको सान्दर्भिकता जीवित राखोस्। मुलुक र कांग्रेस दुवैलाई लोकतान्त्रिकरण गर्नसक्ने नेतृत्व स्थापित गरेमा सफलताका सम्भावना छन्। यसले मात्र पार्टीभित्र लोकतान्त्रिक पद्धति सुदृढ भई आन्तरिक एकता कायम हुन्छ। सबैको अपनत्व कायम हुनेगरी बृहत सहभागितामूलक लोकतान्त्रिक अभ्यास पार्टीभित्र गर्नुपर्छ। अन्यथा पार्टीलाई खल्तीमा राख्न खोजे खल्तीमै अटाउने साइजको बन्नेमा द्विविधा छैन।
अन्त्यमा,
वर्तमान सरकारको कार्यशैलीबाट जनतामा निराशा बढ्दो छ। यो निराशालाई आफूप्रतिको आडभरोसामा परिणत गर्नुपर्ने वैकल्पिक सत्तापक्ष भनिएको कांग्रेस आफैं अस्तव्यस्त छ। यो सरकारको अलोकप्रियताले कांग्रेस स्वतः बलियो र लोकप्रिय बन्दैन। ऊ आफंैमा कार्यक्रमिक हिसाबले आकर्षक बन्नुपर्छ। यसका लागि अवसर पाउँदा आफ्नोे पदीय स्वार्थका लागि पार्टी र लोकतन्त्रलाई अप्ठेरोमा नपार्ने र गुटभन्दा सिद्धान्तमैत्री नेतृत्व स्थापित गर्नुपर्छ। जसरी पनि सत्तामा पुग्ने, सत्ताशक्तिको प्रयोग गरी आफैं मात्र त्यसमा टिकिरहने अभीष्ट बोकेको नेतृत्व पार्टी एकताको सर्त वा आधार बन्न सक्दैन। आफैंमा आदर्शवान् नेतृत्वले मात्र पार्टीभित्र हार्दिक एकता कायम गर्दै समस्त नागरिक समाजलाई सँगै लिएर हिँड्न सक्छ।
अहिले केही स्वघोषित गुटाधीशहरूबीच बाझिएको स्वार्थी एकताभन्दा नेता–कार्यकर्ता, कार्यकर्ता–समर्थक शुभचिन्तक, अनि समष्टिमा पार्टी र जनताबीच खल्बलिएको सम्बन्ध गम्भीर छ। जनता र पार्टीबीच सेतुको रूपमा रहनुपर्ने कार्यकर्ता नेतृत्वको कार्यशैलीले अलमल छन्। यसमा सुधार गर्दै अब कांग्रेसको आधार स्तम्भको रूपमा रहेको सीमान्तकृत समुदाय र लोकतन्त्रवादी नागरिक समाजसँगको सम्बन्ध पुनस्र्थापित गर्नुपर्छ। सिद्धान्त र व्यवहारबीच स्पष्ट तालमेल हुनुपर्छ। कांग्रेसलाई लोकतान्त्रिक मूल्य र मान्यतामा दृढ नागरिक समाज सम्मिलित अभियान बनाउनुपर्छ। माथिल्लो तहका केही नेताको पदीय व्यवस्थापनमा नअल्मलिई मुलुक र लोकतन्त्रको रक्षार्थ नागरिक समाजसँग एकाकार भई पार्टीलाई पूर्णतः जनउत्तरदायी बनाउनुपर्छ। गौरवमय इतिहास बोकेको कांग्रेस वर्तमानमा जिम्मेवार बनेर उज्यालो भविष्य सुनिश्चित गर्नुपर्छ।
प्रतिक्रिया दिनुहोस !