फ्लपै फ्लपको बाढी

फ्लपै फ्लपको बाढी

काठमाडौं : व्यापारका हिसाबले २०७५ साल नेपाली फिल्म उद्योगका लागि निराशाजनक रह्यो। वैशाख ७ गते प्रदर्शनमा आएको रामकृष्ण बजगाईंको फिल्म स्वर्ग मेरो गाउँदेखि चैत २९ गते प्रदर्शनमा आएका ए मेरो हजुर– ३ र यात्रासम्म आइपुग्दा ९९ वटा नेपाली फिल्म रिलिज भए। अघिल्ला वर्षको तुलनामा फिल्म उद्योगमा लगानी ह्वात्तै बढे पनि फिल्मको व्यापार भने ओरालो लाग्यो।

औसत एउटा फिल्म तयार हुन एकदेखि डेढ करोड लगानी हुने गरेको छ। तर प्रदर्शनमा आएका १० प्रतिशत फिल्मले मात्र लगानी सुरक्षित गर्न सफल भए भने एकाध फिल्मले मात्रै नाफा कमाए। यसरी हेर्दा यो वर्ष फिल्ममा लगानी भएको आधा अर्बभन्दा धेरै लगानी डुब्यो।

अघिल्लो वर्ष ९० वटा फिल्म रिलिज भएकोमा झन्डै ४० प्रतिशत फिल्मले लगानी सुरक्षित गरेका थिए तर यो वर्ष फिल्मको संख्या बढे पनि व्यापार भने चार गुणा घटेको छ। केही फिल्म हलमा पुगेको दुई दिन पनि टिक्न सकेनन्, केही हलसम्मै नपुगी युट्युब र सामाजिक सञ्जालबाट मात्रै रिलिज भए। केहीले पोस्टर प्रचारप्रसारको पैसा पनि उठाउन सकेनन् भने धेरैले ३० प्रतिशतभन्दा कम व्यापार गरे।

भदौ ८ गते रिलिज भएको विकास आचार्यको निर्देशनमा निर्माण भएको नाइँ नभन्नु ल– ५ ले केही आशा जगायो। स्वस्तिमा खड्का, अनुभव रेग्मी, निरुता सिंहलगायतका कलाकार अभिनीत यो सिक्वेलले अघिल्ला भागको साख जोगायो। भदौ २२ मै प्रदर्शनमा आएको सुदर्शन थापा निर्देशित रामकहानीले केही चर्चा बटुल्यो। केदार घिमिरे, पूजा शर्मा, आकाश       श्रेष्ठलगायतका कलाकार अभिनीत यो फिल्मबाट निकै अपेक्षा गरिए पनि त्यो भने पूरा गर्न सकेन। निकै तामधामका साथ निर्माण तथा रिलिज गरिएको रेनेशा राईको निर्देशनमा बनेको फिल्म इन्टु मिन्टु लन्डनमाले दर्शकको अपेक्षा पूरा गर्न सकेन। बेलायतमा छायांकन गरिएको यो फिल्मको व्यापार अपेक्षाकृत नभए पनि यसै फिल्मबाट डेब्यु गरेका नायक धीरज मगर भने एकाएक स्टार बने। पहिलो फिल्मबाटै उनी धेरैको नजरमा परे।

दसैंको छेको पारेर असोज २४ गते रिलिज भएको दीपा श्री निरौला निर्देशित फिल्म छक्का पञ्जा– ३ वर्षकै सर्वाधिक व्यापार गर्न सफल फिल्म बन्यो। दीपकराज गिरी, दीपिका प्रसाईं, केदार घिमिरे, जितु नेपाललगायतका कलाकार अभिनीत यो फिल्मले लगानीको तीन गुणा बढी नाफा कमायो। फिल्मको लगानी डेढ करोड भएको बताइएको छ।

१२ वर्षपछि फिल्म उद्योगमा फर्केका अशोक शर्माको निर्माण तथा निर्देशन रहेको फिल्म जय भोलेले पनि चर्चा राम्रै पायो। फिल्मले लगानी उठाए पनि अपेक्षाकृत व्यापार गर्न नसकेको विश्लेषकको भनाइ छ। यो फिल्म असोज ३० गते रिलिज भएको हो। छायांकनको क्रममा प्रयोग भएको नक्कली नोट काण्डमा फसेका निर्माता माधव वाग्लेले निर्माण गरेको चलचित्र चंगा चेटको चर्चा जति भएको थियो त्यसअनुरूप व्यापार भएन। दीपेन्द्र के खनाल निर्देशित फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशीलगायतका कलाकारले अभिनय गरेका थिए।

मंसिर २१ गते रिलज भएको दिनेश राउत निर्देशित फिल्म प्रसाद विषयवस्तु र प्रस्तुतिका कारण चर्चामा रह्यो। विपिन कार्की र नम्रता       श्रेष्ठ अभिनीत यो फिल्मले जातीय विभेद र बलात्कारजस्तो जघन्य अपराधले समाजमा ल्याएको समस्या उठाएको छ। निकै ठूलो लगानीमा निर्माण भएको रणवीर र विपिन कार्की अभिनीत गोपीबाट उद्योगले निकै आश गरेको थियो तर दुवै फिल्मले निराश बनाए। दीपेन्द्र लामा निर्देशित फिल्म गोपीमा पशुपालनलाई महŒव दिइएको छ।

विनोद पौडेलको निर्देशनमा बनेको फिल्म बुलबुलले भने नजानिँदो पाराले चर्चासँगै पैसा पनि उठायो। यो फिल्ममा टेम्पो ड्राइभर बनेकी नायिका स्वस्तिमा खड्काको निकै तारिफ भयो भने उनको जोडी बनेका मुकुन भुसालको अभिनयको पनि तारिफ भयो। फागुन १७ गते प्रदर्शनमा आएको भुवन केसीले निर्माण गरेको फिल्म क्याप्टेनले लगानी उठाए पनि अनमोलको क्रेजअनुसारको आम्दानी गर्न सकेन। फुटबल खेलाडीको जीवनमाथि निर्माण गरिएको यो फिल्मको प्राविधिक पक्षको भने आलोचना भयो। यही फिल्मबाट दुई युवती उपासना सिंह र प्रियंका एमभी रजतपटमा उदाए।

वर्षको अन्त्यमा प्रदर्शनमा आएका ए मेरो हजुर– ३ र यात्राले भने सकारात्मक सुरुआत गरेका छन्। पहिलो दिनको व्यापार सकारात्मक देखिए पनि यसले गर्ने व्यापारको मूल्यांकन भने एक साताको बक्स अफिस रिपोर्टले देखाउनेछ।

व्यापारिक हिसाबले यो वर्ष सिक्वेल फिल्मको वर्चस्व देखियो। छक्का पञ्जा–३, नाई नभन्नु ल– ५ र ए मेरो हजुर– ३ ले आफूलाई अग्र स्थानमा देखाए। नायिकाहरूले निर्माण गरेका फिल्म भने निकै पछाडि देखिए। रेखा थापाको मालिका, ऋचा शर्माको सुनकेशरी, केकी अधिकारीको कोहलपुर एक्सप्रेस, दीपशिखा खड्काको प्रेमलीलालगायतका फिल्म बक्स अफिसमा कमजोर देखिए।

यो वर्ष फिल्मका केही गीत चर्चामा आए। लोकलय प्रयोग गरेर फिल्ममा गीत राख्ने परिपाटी विकास भयो। पुराना गीतलाई रिमेक गरेर पनि केही फिल्ममा प्रयोग भए। युट्युबमा करोड भ्यु पाउने गीत पनि निकै देखिए।

फिल्म ‘चंगाचेट’ को ‘गोजीमा दाम छैन’ बोलको गीतले चार करोडमाथि भ्यु पाएको छ। राजनराज शिवाकोटीको संगीत रहेको गीतमा राजनराज र मेलिना राईको स्वर छ। ‘छक्का पञ्जा–३’ मा समावेश ‘पहिलो नम्बरमा’ गीत साढे तीन करोड पटक हेरिएको छ। गीतमा शंकर र विन्दुको आवाज छ।

फिल्म ‘रोज’ को ‘फूल होइन’ लाई दुई करोड पटक हेरिएको छ भने फिल्म प्रसादको लोक लयमा आधारित ‘वनकी चरी’ र ‘कोहलपुर एक्सप्रेस’को ‘सीओडब्ल्यू काउ’ लाई पौने दुई करोड पटक हेरिएको छ।

फिल्म ‘जय भोले’ मा समावेश ‘उम्लियो भने पोखिन्छ’ लाई एक करोड ५७ लाख पटक हेरिएको छ भने ‘इन्टु मिन्टु लन्डनमा’ मा समावेश ‘उडायो हावाले’ बोलको गीतलाई डेढ करोड पटकभन्दा बढी हेरिएको छ।

दीपकराज गिरी अभिनीत फिल्म छक्का पञ्जा– ३ ले यो वर्ष सर्वाधिक व्यापार गरे पनि चर्चा र स्टारडमका हिसाबले अनमोल केसीले आफ्ना समकक्षीहरूलाई पछि पारे। उनको क्याप्टेन र ए मेरो हजुर– ३ गरी यो वर्ष दुई फिल्म प्रदर्शनमा आए। बलिउड फल्मको अफरदेखि पारि श्रमिकसम्मका कारणले अनमोल अगाडि देखिए। यस्तै अर्का नायक प्रदीप खड्काका पनि दुई फिल्म प्रदर्शनमा आए। रोज र लभ स्टेसन प्रदीपका यो वर्ष रिलिज भएका फिल्म हुन्। रोज व्यापारिक रूपमा सफल हुन सकेन भने लभ स्टेसन सामान्य रह्यो। विपिन कार्कीका तीन फिल्म रिलिज भए। फरक फरक विषयवस्तु समेटेका दुई फिल्म हरि र गोपी बक्स अफिसमा कमजोर देखिए भने प्रसाद यीभन्दा माथि देखियो।

वर्ष २०७५ मा रजतपटमा केही नायकले डेब्यु गरे। यीमध्ये फिल्म ‘इन्टु मिन्टु लन्डनमा’ बाट आएका धीरज मगर चर्चामा रहे। यस्तै ‘शुभ लभ’ बाट हरिहर अधिकारी, ‘समर लभ’ बाट आशिष पिया, बुलबुलबाट मुकुन भुसाल, ‘बाँध मायाले’ बाट किशोर खड्का ‘अनुराग’ बाट समुद्र पण्डित, लम्फुबाट कविर खड्का, बोबीबाट उमेश थापा, ची मुसी चीबाट सुनील क्षेत्री, नाइँ नभन्नु ल— ५ बाट अभिषेक नेपाललगायतका नायक रजतपटमा देखिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.