शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा एक सैनिक घाइते
पोखरा : गण्डकी प्रदेश सभा भवन अगाडि भेटिएको शंकास्पद वस्तु डिस्पोज गर्ने क्रममा नेपाली सेनाका एक नायक घाइते भएका छन्। विप्लव समूहले आह्वान गरेको बन्दको दिन बिहीबार बिहान ९ बजेतिर नदीपुरस्थित प्रदेश सभा भवनअघि भेटिएको शंकास्पद वस्तु सेनाले निस्क्रिय पार्न लागेको थियो।
निस्क्रिय बनाउने क्रममा हातमै बारूद पड्किएर धर्म थापा घाइते भएका हुन्। औंलामा चोट लागेका थापाको पोखराकै फिस्टेल अस्पतालमा उपचार भइरहेको कास्कीका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले जानकारी दिए।
यसैगरी पोखरा महानगरपालिका २९ सैनिकबस्तीमा पनि सुतली बम फेला परेको छ। सुतली बमलाई सेनाले निस्क्रिय पार्दैछ। विप्लव समूहले आह्वान गरेको बन्दका कारण पोखरामा पसलहरू बन्द छन्। सार्वजनिक यातायात चलेका छैनन् भने निजी साधन भने चलेका छन्।
प्रतिक्रिया दिनुहोस !