पोखराबाट सिधै लमजुङ जोड्न पक्की सडक
पोखरा : भूगोलको दुरी नाप्ने हो भने लमजुङको भोर्लेटारबाट पोखरा टाढाको सहर होइन। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पोखराबाट नजिकको भोर्लेटार बजारलाई स्याटेलाइट सिटी बनाउने योजना पनि बेलाबेला सुनाइरहन्छन्। तर भोर्लेटारका बासिन्दालाई भने पोखरा आउन तनहुँको सदरमुकाम दमौलीको बाटो रोज्नुपर्छ। कारण-नजिक पर्ने बाटो साँघुरो र कच्ची छ, दमौलीतिर पिचैपिच। पक्की र फराकिलो सडक हुन्थ्यो भने भोर्लेटारबाट पोखरा १ घन्टामै आउजाउ सम्भव पनि छ।
अबको २७ महिनामा पोखराबाट भोर्लेटार दमौली फन्को मार्दै जानुपर्ने बाध्यता अन्त्य हुन सक्छ। पक्की सडकबाट २ बजार जोडिने योजना सुरु भएको छ। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पोखराको बेगानातालदेखि भोर्लेटार जाने सडकको ११ किमी पक्की बनाउने कामको बुधबार सुरुआत गरेका छन्। २६ करोड ८७ लाख रुपैयाँमा पिच गर्ने गरी महालक्ष्मी दि कञ्चनजंगा जेभीसँग उक्त सडकको ठेक्का सम्झौता भएको प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव ईश्वर मरहट्टाले जानकारी दिए।
ठेकेदार कम्पनीका सञ्जय हिराचनले आउँदो बर्खाभित्र निर्माण सामग्री जम्मा गर्ने, चौडा पार्नुपर्ने ठाउँमा भित्ता खार्ने काम गर्ने जनाए। उनले भने, ‘विशेष परिस्थिति नभए समयभित्रै काम सक्छौं।’ हिराचनका अनुसार डबल बिटुमिन्स सर्फेस ट्रिटमेन्ट (डीबीएटी) प्रविधिमा उक्त बाटो पिच हुनेछ।
मुख्यमन्त्री गुरुङका अनुसार संघ सरकारबाट हस्तान्तरण भई आएको सडकको काम प्रदेशले गर्न लागेको हो। योजना र बजेट संघले हस्तान्तरण गरेको छ। यस्ता सडकहरु जोडिएका ठाउँमा उत्पादन वृद्धिमा जोड दिनुपर्ने मुख्यमन्त्रीले बताए। ‘सडक हामी बनाउँछौं, पुल पनि हामी बनाउँछौं’, स्थानीयलाई सम्बोधन गर्दै उनले भने, ‘अब निर्वाहका लागि व्यापारका लागि खेती गर्नोस्, उत्पादन बढाउनोस्।’
कृषिमा यान्त्रिकीकरण नगरी उत्पादन नबढ्ने भन्दै मुख्यमन्त्रीले कृषि क्षेत्रमा ५० प्रतिशतसम्म अनुदान दिइरहेको जानकारी दिए। ‘अब कृषि अनुदान ७० प्रतिशत पु¥याउने सोच्दैछौं’, उनले भने, ‘जाँगरिला हातहरुलाई प्रदेश सरकारको साथ हुन्छ। प्रदेश सरकार पौरखीहरुको साथमा छ।’
भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत सडक, पुल र खानेपानीबाट प्रदेश सरकारलाई चिनाउने बताए। उनले भने, ‘संघीयता ल्याएको गाउँको विकास गर्न हो।’
उक्त सडकको पूरै भाग कास्कीको रुपा गाउँपालिकामा पर्छ। त्यसपछि मादीनदीपूर्वमा भोर्लेटार बजार छ। पोखराको बेगनाशताल किनारबाट तालबेसीसम्म पिच सडक छ। अबको २७ महिनामा तालबेसीदेखि मादी किनार पिप्लेसम्मै पिच बन्नेछ।
प्रतिक्रिया दिनुहोस !