नीति तथा कार्यक्रम टुंग्याउन प्रधानमन्त्री र प्रचण्डबीच छलफल
काठमाडौं : सत्तारुढ नेकपाका दुई अध्यक्षले सरकारको नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिने भएका छन्। त्यसका लागि प्रधानमन्त्री निवास बालुवाटारमा अहिले प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भइरहेको छ।
२० वैशाखमा सरकारका तर्फबाट संसदका दुवै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूचि बनिसकेको छ।
‘संसदमा प्रस्तुत हुने सरकारको नीति तथा कार्यक्रमको अन्तिम सल्लाह हामी गदैछौं,’ प्रधानमन्त्रीसँग छलफलका लागि बालुवाटार जानु अघि अध्यक्ष दाहालले भृकुटीमण्डपस्थित मजदुर दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘नीति, कार्यक्रम र बजेटको तयारीमा पनि छलफल हुन्छ। पोहोरका राम्रा– नराम्रा कार्यक्रम, कमजोरी र सफलताको कार्यक्रमका विषयमा छलफल गछौं।’
चालु आर्थिक वर्षको नीति कार्यक्रम र बजेट निर्वाचन घोषणापत्र अनुसारको नआएको, जनताले अपेक्षा गरेअनुसार हुन नसकेको भन्दै नेकपामा पार्टीभित्रै असन्तुष्टि थियो। तर सरकारले अघिल्लो वर्षलाई आधार वर्ष भएको भन्दै अब समृद्धिको यात्रा अगाडि बढ्ने बताउँदै आइरहेको छ।
नेकपाले नीति तथा कार्यक्रम केन्द्रित रहेर १६ वैशाखमा सचिवालयमा समेत छलफल गरेको थियो।