कांग्रेस, जागरण र अपेक्षा
सन् १८२८ मा स्थापित अमेरिकन नेसनल डेमोक्रेटिक पार्टी हाल सक्रिय राजनीतिक दलहरूमध्ये संसारकै पुरानो मानिन्छ। १९१ वर्षे यो पार्टीमा अहिले ५८ वर्षीय थोमस एडवर्ड पेरेज अध्यक्ष छन्। यसअघि र पछि संसारमा सयौं पार्टी शक्तिमा आउने र जमानाको गति समात्न नसकेर हराउने क्रम जारी रह्यो।
सन् २०१६ मा स्थापित फ्रान्सको ‘रिपब्लिक अन द मुभ’ र २०१८ मा स्थापित युक्रेनको ’सर्भेन्ट अफ द पिपुल’ पार्टी अहिले सत्तारुढ छन्। यी दुई नयाँ पार्टीबाट क्रमश ४० वर्षीय युवा इमानुएल र ४१ वर्षीय भोलोदिमिरजेलेन्स्की आफ्नो मुलुककै नेतृत्वमा छन्। नीति र नेतृत्वको गतिशीलता नै कुनै पनि पार्टीको अस्तित्वको आधार हो। पुरानो वा नयाँ हुनुबाट यसमा कुनै फरक पर्ने होइन। नदीको जीवन र स्वच्छता यसको निरन्तरको बहाव र फेरिइरहने जलप्रवाहले कायम राख्छ।
नेपालको सबैभन्दा पुरानो दल कांग्रेसले लोकतन्त्र प्राप्ति र रक्षाको संघर्षमै सातदशक बढी पूरा गरेको छ। पटकपटकको सत्तागमन र अस्वाभाविक बहिर्गमन यसको नियति बन्यो। यसपाली भने सर्वस्वीकृत लोकतान्त्रिक पद्धतिबाटै यो पार्टी सत्ता बाहिर छ। लोकतान्त्रिक संविधान निर्धारित विधिबाट सत्तारोहण गरेको वर्तमान सरकारका कतिपय गतिविधि कांग्रेस र लोकतन्त्रकै निम्ति चुनौती बनेका छन्।
कम्युनिस्ट एकाधिकारवाद र सरकारी स्वेच्छाचारिताका बीच कांग्रेस अहिले अस्तित्व रक्षाको लडाइँमा छ। अहिले कांग्रेसको लोकतान्त्रिक छवि, संघर्षमय इतिहास, जुझारुपन र चुस्तदुरुस्त सांगठनिक अस्तित्वमाथि पनि खतरा छ। यो खतरा कम्युनिस्ट एकाधिकारवाद र सरकारी स्वेच्छाचारिताबाट भन्दा यसै पार्टीको शीर्ष नेतृत्वबाट रहेको आशंका लोकतन्त्रवादी नागरिक समाजमा व्याप्त छ।
कांग्रेसले यो वर्ष ‘हिमाल,पहाड, तराई–मधेस नेपाली कांग्रेस राष्ट्रिय अभियान’ नामक तीनचरणको कार्यक्रम गर्दैछ। पहिलो चरण यही वैशाख २५देखि जेठ २५ सम्म, दोस्रो, भदौ २४ गते बीपी जयन्तीको दिनदेखि असोज ७ सम्म र तेस्रो, पुस ७ देखि पुस १६ गते मेलमिलाप दिवससम्मका जागरण अभियानको कार्यसूची सार्वजनिक गरेको छ। पहिलो चरणको कार्यक्रमका लागि पार्टीले सतहत्तरबटै जिल्लामा प्रतिनिधिसमेत खटाएको छ।
पछिल्ला निर्वाचनले ल्याएका परिणाम र पार्टीप्रतिको जनवितृष्णाले नेतृत्वको कार्यशैली र क्षमताथि प्रश्नैप्रश्न छन्। आन्तरिक द्वन्द्वमा नराम्रोसँग फसेको कांग्रेसले यो अभियानबाट राष्ट्रव्यापीरूपमा पार्टी पंक्तिमा नविन ढंगको एकता, समन्वय, हार्दिकता सहित सुदृढीकरणका गतिविधि अघि बढाउने दाबी गरेको छ।
जनता, मतदाता र कांग्रेस पार्टीका विभिन्न तहको नेतृत्व र सदस्यबीचको सम्बन्धलाई जीवन्त र घनिष्ट बनाउन जनसंवादमार्फत जनताका मुद्दामा अग्रसर भई पार्टीलाई थप समर्पित गराउने बताइएको छ। साथै वर्तमान सरकारका भ्रष्टाचारलगायतका जनविरोधी क्रियाकलापबारे आम नागरिकमा प्रस्ट्याउने काम पनि गर्ने भनिएको छ।
‘जागरण’ शब्द आफंैमा बहुआयामिक र ओजपूर्ण छ। जागरण त्यो अवस्था हो, जसमा कुनै जाति, वर्ग, देश, समाज आदिलाई आफ्नो वास्तविक परिस्थिति एवं कारणको बोध हुन्छ। साथै ऊ आफ्नो विग्रदो वा गिर्दो अवस्थाबाट मुक्त भई प्रगति तथा रक्षा हेतु सचेत रहन्छ।
यसैगरी कुनै उत्सव, पर्व, व्रत आदिमा राती जाग्राम रहेको अवस्थालाई पनि जागरण भनिन्छ। तर आफूलाई व्यवस्थित र मर्यादित बनाउन नसक्दाको छटपटी वा अनिन्द्रालाई भने जागरणको अर्थमा लिइँदैन। कांग्रेसले चलाउन लागेको जागरण अभियानका सान्दर्भिकता र कार्यक्रम कतातिर परिलक्ष्यित हुन् ? यो विषय सम्बन्धित अभियन्ताहरूलाई दिइएको टीओआर (कार्यक्षेत्रगत सर्त) मा प्रष्ट होला। विगतमा पनि यस्ता कार्यक्रम गरेको कांग्रेसका लागि यो अभियान त्यति नौलो भने होइन। तर यो कार्यक्रमले थप के प्रभावकारिता ल्याउला भन्ने प्रश्न मूल हो।
अहिलेको प्रश्न–के साँच्चिकै यो जागरण अभियानले कांग्रेसलाई सुदृढ बनाउला त ? नेपाली राजनीतिमा, खासगरी लोकतन्त्रलाई आफ्नो जीवनपद्धति बनाएको नागरिक समाजको माझमा यो बहस प्रारम्भ भएको छ। आफ्नो नेतृत्वमा भएका राजनीतिक उपलब्धिबारे जनतालाई बुझाउने र साढे चार महिनाअघिको महासमिति बैठकबाट पारित नीति, कार्यक्रम र संशोधित विधानबारे पार्टीको स्थानीय तहसम्म व्यापक ढंगले सूसुचित गर्ने त भनेको छ।
तर, महासमितिको अभिमतविपरीत केन्द्रीय समितिको बहुमतले बलपूर्वक विधान पारित गरेको बारे पनि प्रश्न कार्यकर्ता पंक्तिबाट उठ्ने छ। कांग्रेस नेतृत्व आफैंभित्र स्वेच्छाचारिताको अभ्यासमा लीन छ। यस्तो अवस्थामा यो अभियान कति प्रभावकारी रहला ? फेरि पनि प्रश्न उही हो।
परिस्थिति हिजोभन्दा अलि फरक छ आज। सूचना र सञ्चारको तीव्रतम विकासले दूरदराजमा बस्ने मानिसहरू समेत राष्ट्रिय अन्तर्राष्ट्रिय घटना परिघटनाबाट बेखबर छैनन्। मानिसहरू सधैं नयाँ विकल्पको खोजी गरिरहेका हुन्छन्। कांग्रेसको पटकपटकको आरोह–अवरोह यही खोजीको परिणाम हो। नेपाली राजनीतिमा अर्को भरपर्दो लोकतान्त्रिक शक्ति नहुनुले कांग्रेसले पटकपटक अवसर पाएको हो। अहिलेचरम स्वेच्छाचारिताको अभ्यास र आन्तरिक लोकतन्त्रको अभावले पार्टीको लोकतान्त्रिक छवि नै धुमिल देखिन्छ।
यो अवस्थामा केन्द्रबाट गाउँटोलमा पुग्ने नेताहरूको नयाँ सन्देश के कस्तो रहन्छ ? ती नेताको भनाइ र गराइको यथोचित जाँच परीक्षण गर्ने हैसियत आम जनमानसमा छ। केन्द्रमा बसेर व्यक्तिगत स्वार्थका लागि गुटबन्दी गर्नेहरूका आदर्श, त्याग र एकताका कुरा सहजै पत्याइएला र ? कांग्रेसमा चासो हुनेहरूले यसको जवाफ पर्खिरहेका छन्।
जनजागरण अभियानमा खासगरी जनतालाई उनीहरूका हक अधिकारको बोध गराई त्यसको रक्षा र उपयोगका निम्ति ब्युँझाउने काम हुन्छ। अहिले कांग्रेस नेतृत्वले अनुमान गरेजस्तो जनता निन्द्रामा छैनन्। गत निर्वाचनमा कांग्रेको पक्षमा परिणाम आउन नसक्नु जनता नब्युँझेको कारण हो भन्न सकिँदैन।
बरु नेतृत्वका सबै गलत कामको अन्धसमर्थन गर्न सकिँदैन भन्ने संकेत दिएका हुन्। गत निर्वाचनमार्फत दिएको जनादेश नेताहरूलाई जथाभावी नगर्न र आफ्ना जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्न दिइएको चेतावनी हो। अहिले जनता जागेको र कांग्रेस सुतेको अवस्था छ। आफैं सुतिरहेको नेतृत्वबाट एक्काइसौं शताब्दीका सचेत जनतामा कस्तो जागरण आउने हो ? प्रश्न यो पनि छ।
यो जागरण अभियानले जनतालाई केन्द्र र नेताको सन्देश प्रवाह गर्नुभन्दा पनि जनताबाट सन्देश ग्रहण गर्ने अवसरको रूपमा लिनु उपयुक्त हुन्छ। पार्टीको तल्लो तहका कार्यकर्ता, शुभेच्छुक, मतदाता र लोकतन्त्रबादी नागरिक समाजको एकमुष्ठ सन्देश नेताहरूका लागि के रहन्छ ? अनि त्यो सन्देशलाई खटिएका प्रतिनिधिमार्फत पार्टीले कसरी ग्रहण गर्ला ? यस प्रश्नको सम्बोधनमा पार्टीको भविष्य निर्भर रहन्छ।
स्थानीय निर्वाचनमा आफ्नो सत्तास्वार्थ र लेनदेनमा माओवादीसँग तालमेल गरेको, तीनै तहका निर्वाचनमा जथाभावी टिकट बिक्री वितरण गरेको आरोप नेतृत्वमाथि छ। कांग्रेसकै शीर्ष नेतृत्वलाई विभिन्न ठूला भ्रष्टाचारका काण्डहरूमा मुछेर हेर्ने गरिएको छ। यसको कतैबाट विश्वसनीय र तर्कसंगत खण्डन, प्रतिवाद हुन सकेको छैन।
भ्रष्टाचारको दाग लागेको, विसंगति र विकृतिको बाहकको रूपमा आलोचित व्यक्तित्वलाई आम नागरिकले अब साथ दिँदैनन् र मतदान पनि गर्दैनन्। ठूलाठूला भ्रष्टाचारका काण्डविरुद्ध तल्लो तहका कार्यकर्ता र आम नागरिकले चिच्याउँदा शीर्ष तहको मौनताले थप संशय बढाएको छ। यो मेटाउन अभियान कति सहायक हुन्छ ? अर्को प्रश्न यो छ।
कांग्रेसले यो जागरण अभियानमार्फत मुख्यत दुई कुराहरू स्थापित गर्न सक्नुपर्छ। पहिलो, सत्ताभित्र वा बाहिररहँदा निर्वाह गरेको भूमिका सही थियो भन्ने पुष्टि गर्न सक्नुपर्छ। दोस्रो, योसँगै आफ्ना कमीकमजोरी निसंकोच स्वीकार गरी अब आफैं सच्चिएर अगाडि बढ्ने विश्वास नागरिक समाजलाई दिलाउन सक्नुपर्छ। यसका निम्ति कार्यशैलीमा रूपान्तरणर नेतृत्वमा पुस्तान्तरण जरुरी छ।
अहिलेको नेतृत्वको प्रयास आफू सफल बन्नभन्दा आफ्नो असफलता ढाकछोप गर्नेतर्फ बढी केन्द्रित छ। पार्टीभित्र बढ्दै गएको अस्वस्थ गुटबन्दी र विकृति विसंगति हटाउनु र सक्षम नयाँ नेतृतवका लागि मार्ग प्रशस्त गर्नु आजको मुख्य आवश्यकता हो। यसलाई विषयान्तर गर्ने वा नेता कार्यकर्ता अल्मलाउने र सर्वत्र उठिरहेको शीघ्र महाधिवेशनको मागलाई टार्ने काममा यो अभियान उपयोग हुने त होइन ? यसको पनि जवाफ अपेक्षित छ।
कुनै पनि राजनीतिक दलको जीवन तीनवटा तत्वले बनेको हुन्छ नीति,नेतृत्व र संगठन। यदि दलको नीति अस्पष्ट र नेतृत्व भ्रष्ट भयो भने संगठन अस्तव्यस्त हुन्छ। सपनामा उठेर हिँडेजस्तो आफ्नो पूर्वतयारी र गन्तव्यबिनाको हिँडाइले थप समस्या निम्त्याउन पनि सक्छ। अहिले कांग्रेसको नेतृत्वले आफूलाई समयानुकूल, प्रविधिमैत्री र युगसापेक्ष बनाउन सकेको छैन। आफ्नो आदर्श र दर्शन के हो ? सिद्धान्त र व्यवहारको कठघरामा उभिएर जनतासमक्ष कस्तो बयान दिन्छ ? कांग्रेसले जनतालाई आफ्नो पक्षमा निर्णय गर्न अनुरोध त गर्ला। तर, सार्वभौम जनताले यो नेतृत्वलाई माफी या दण्डित के गर्ला ? पुरस्कृत हुन त आफ्ना क्रियाकलापमा सुधार ल्याउनैपर्छ। आगामी दिनमा जनताले पुनः कांग्रेसलाई सरकार बनाउने अवसर दिए भने विगतभन्दा राम्रो गर्नसक्ने आधारहरू नेतृत्वको यही व्यवहारले देखिँदैन।
कांग्रेसले मुख्य मुख्य आन्तरिक कार्य समयमै र विधानसम्मत् सम्पादन गर्न सकेको छैन। सबैभन्दा प्रभावशाली भातृसंगठन नेपाल विद्यार्थी संघ नेतृत्वविहीन छ। तरुण दलले पूर्णता पाएको छैन। अन्य भातृ तथा शुभेच्छुक संगठन पनि प्रभावकारी बन्न सकिरहेका छैनन्। पार्टीका विभागहरूको अत्तोपत्तो छैन। संसदीय फाँटमा पनि सन्तोषजनक प्रस्तुति छैन। यस्तो अवस्थामा कांग्रेसले सञ्चालन गर्ने जागरण अभियानले ल्याउने परिणाम अनुमान गर्न कठिन छ। स्पष्ट पाठ योजना नबनाई र पर्याप्त तयारीबिना कक्षाकोठामा प्रवेश गरेको शिक्षकबाट के अपेक्षा गर्ने ? यदि विद्यार्थी सचेत रहेछन् भने कक्षा बहिष्कार गर्छन्, केही नजान्ने रहेछन् भने त झन कन्फ्युजनमा पर्छन्।अन्त्यमा,
कुनै पनि राजनीतिक दल सत्तामा रहोस् वा नरहोस् जनअपेक्षालाई सम्बोधन गर्नुपर्ने जिम्मेवारी र दायित्वबाट कहिल्यै मुक्त हुँदैन। सत्ताबाहिर वा भित्र रहेबाट मात्र दलको शक्ति मापन हुँदैन। यसले अवलम्बन गरेको नीति, संगठित क्रियाकलाप, नेतृत्वको आचरण अनि जनतामा रहेको विश्वास नै उसको ऊर्जाका स्रोत हुन्। उमेर धेरै हँुदैमा जीर्ण हुनु र कम हुँदैमा कच्चा नै रहनु राजनीतिक दलको स्वभाव होइन। नवीनतम र स्पष्ट सोचसहित उच्च नैतिक नेतृत्व र गतिशील संगठनमार्फत समाजलाई सिर्जना र समृद्धिको मार्गमा हिँडाउनु यसको स्वभाव हो। आफू हरसमय जागा रही जनतालाई जाग्रित गर्नु उसको जिम्मेवारी हो। यसमा कुनै सीमा र अवधि हुँदैन। इतिहास गौरवमय हुँदैमा वर्तमानमा जिम्मेवार नभए उज्यालो भविष्यको सपना साकार पार्न सकिँदैन।
प्रतिक्रिया दिनुहोस !