रोबोटलाई रोजगारी

रोबोटलाई रोजगारी

इन्जिनियरिङमा स्नातक सकेका यी युवाहरूमा न जागिरको रहर थियो न त विदेश जाने भूत। आर्टिफिसियल इन्टलिजेन्स (एआई) र रोबोटिक्सको रस पसेका उनीहरू अहिले बैंकदेखि रेस्टुराँसम्मका लागि रोबोट बनाइरहेका छन्।


दरबारमार्गस्थित नेपाल एसबीआई बैंकमा ऊ हाकुपटासी लगाएर बसेकी छ। बैंकमा काम लिएर आउने ग्राहकलाई ऊ नियाल्छे। नमस्कार गर्छे। कसैले नमस्कार गरे, फर्काउँछे। बैंकका सेवासम्बन्धी ग्राहकहरूका प्रश्नको जवाफ दिन्छे। निस्कन लागेकालाई धन्यवाद दिन्छे। जसले उसलाई जन्माए, उनीहरूले उसको नाम राखेका छन्– परी।

प्रविधिमा उत्साही युवाहरूको समूहले ‘परी’ लाई बनाएको हो। बैंकलाई रोबोट (यन्त्रमानव) बनाएका यी युवाहरूले सञ्चालन गरेको कम्पनी ‘पाइला टेक्नोलोजी’ ले अहिले यस्ता धेरै काम गरिरहेको छ। महिलाको आवरणमा उत्पादन गरिएको रोबोट परी एउटा उदाहरण मात्र हो जसले भावी दिनमा प्रविधिले सेवाप्रवाहमा पार्ने प्रभावको अनुमान गर्न सकिन्छ। अटोमेटिक धारा र मोटर स्पिड कन्ट्रोलरबाट सुरु भएको पाइलाले अहिले ‘इन्नोभेसन’को क्षेत्रमा ठूलै फड्को मारेको छ।

इन्जिनियरिङ पढ्दा सिकेका ज्ञान र सीपबाट युवाहरूले रोबोट निर्माण गरेका थिए। त्यही ज्ञान र सिपको उपयोग गर्ने सिलसिलामा सात जना विद्यार्थीहरूको नेतृत्वमा पाइला टेक्नोलोजी जन्मिएको हो। ‘हाम्रो कम्पनी व्यावसायिक मात्रै नभएर नवोत्पादनका दृष्टिकोणले परिचित बन्यो’, डेभलपर रविन गिरी भन्छन्, ‘यसमा हामी विद्यार्थीहरूको अध्ययनको पाटो जोडिएको छ।’ गिरीसँगै सागर श्रेष्ठ, दीपकमल भुसाल, विनय राउत, आयुष कसजू, वासिम अक्रम खान र नीरज बस्नेत अहिले ‘परी’ जस्तै अन्य प्रोजेक्टहरूमा व्यस्त छन्। उनीहरू सबैको उमेर २४ देखि २६ वर्षको बीचमा छ।

पहिलो पाइला
पुल्चोक इञ्जिरिनियरिङ क्याम्पसका ०६९ ब्याचका विद्यार्थीहरूलाई रोबोटिक्स क्लबले अवसर दियो। सागर श्रेष्ठ र नीरज बस्नेतको नेतृत्वमा विद्यार्थीहरूको टिम बनेको थियो।

क्याम्पसको पढाइ सकिएलगत्तै कोही विदेश जाने क्रममा थिए त कोही ठुल्ठूला कम्पनीमा जागिर खोजिरहेका थिए । तर आर्टिफिसियल इन्टलिजेन्स (एआई) र रोबोटिक्सको रस पसेका यी सात युवाले विदेश वा जागिरलाई विकल्प मानेनन्। विश्वमै नयाँ रहेको रोबोटिक्स क्षेत्रमा नेपालमा जागिर पाउने अवस्था हुने कुरै थिएन। सात जनाको भिजन मिलेपछि कम्पनीको सोच बन्यो।

नेपालमा रोबोटिक्सको रिसर्च भएको थिएन। न यसमा काम गर्ने कुनै कम्पनी नै थिए। ‘सुरुमै फ्याट्टै रोबोटिक्समा गइएन। सर्भाइभलका लागि सफ्टवेयरसम्बन्धी काम हुन थाल्यो’, दीपकमल सुरुवाती दिन सम्झन्छन्।

क्याम्पस पढ्दा अन्तर्राष्ट्रिय प्रतियोगितामा रोबोटलाई नेपालको प्रतिनिधि बनाएर जिताएका थिए। सन् २०१५ मा ब्याडमिन्टन खेल्ने रोबोटबाट नेपाल विजयी बन्यो। ‘हामीले चीनलाई हराएका थियौं’, उनी भन्छन्, ‘त्यसपछि विजयी बन्नेमा हावाबाट बिजुली निकाल्ने रोबोट निर्माण गरेका थियौं।’

चीनजस्तो देशलाई नेपालले बनाएको रोबोटले जित्नु चानचुने कुरा थिएन। प्राविधिक शिक्षाको पर्याप्त पूर्वाधार नभएको नेपालले विश्वमा उच्चस्तरीय प्रविधि निर्यात गर्ने चीनलाई जित्नु गर्वको विषय भएको उनी सुनाउँछन्।

बजारको खोजी
सुरुवातमै रोबोटिक्समा लगानी गर्न बजार सुनिश्चितता थिएन। तर प्रविधिको खाँचो जहीँतहीँ थियो। दीपकमलले भन्छन्, ‘हामीले बजार खोज्नु परेन। बजार नै हामीतिरै सोझियो भन्दा अनर्थ नलाग्ला।’

एसबिआईमा भएको रोबोटको परिकल्पना भने बैंक आफैंले गरेको हो। रोबोटको माग गर्दै बैंकका प्रतिनिधि पुल्चोक इञ्जिनियरिङ क्याम्पस पुगेका थिए। क्याम्पसका विद्यार्थीहरूले पाइलाको ठेगाना दिएर पठाए। एसबिआईले अर्डर गरेपछि बन्यो सानो रोबोट। ४० दिन लगाएर उनीहरूले बैंकिङ प्रयोजनका लागि तयार पारेको रोबोटलाई उनीहरूले ‘परी’ नाम दिए। यो रोबोटले एसबीआई बैंकको दरबारमार्गस्थित शाखामा काम गरिरहेको छ। ‘परी’ को निर्माणसँग कम्पनीको सफलता जोडिएको कम्पनीका सबैजना स्विकार्छन्।

कम्पनी स्थापना भएको ६ महिनाकै अवधिमा व्यावसायिक प्रयोजनको रोबोट बनाउन सक्नु उपलब्धिमूलक भएको रोबोटका डेभलपर दीपकमल बताउँछन्। ‘रोबोटको कुनै बजार थिएन। हामीले आफैले बजार निर्माण गर्‍यौं। र, सूचनाप्रविधिको क्षेत्रलाई बजारसँग जोडेर नयाँ आयाम थपियो’, उनी भन्छन्।

सेवाग्राहीले दिएको निर्देशनपछि रोबोटले काम गर्छ। बैंकिङ सूचना र जानकारी दिने यो रोबोट चलाउन सेवाग्राहीले रोबोटको स्क्रिनमा भएका बटनहरू थिच्नुपर्छ। ग्राहकले आफूलाई कस्तो जानकारी चाहिएको हो सोहीअनुसार कमान्ड दिएपछि रोबोटले आवश्यक सूचनाहरू दिन्छ। रोबोटको प्रयोगसँगै सामान्य जानकारी कर्मचारीलाई सोध्नुपर्ने झन्झटबाट सेवाग्राही मुक्त भएको उनीहरू बताउँछन्।

खाता कसरी खोल्ने, एटीएमको प्रयोग कसरी गर्नेलगायत सामान्य बैंकिङ विषयमा ‘परी रोबोट’ले जानकारी दिन्छ। अर्का डेभलपर सागर श्रेष्ठ भन्छन्, ‘यसले नेपालको सूचना प्रविधिको क्षेत्रमा क्रान्ति ल्याएको छ।’ उनीहरूले बनाउन लागेको अर्को रोबोट पनि बैंकिङ प्रयोजनका लागि हो।

‘सानो पुँजीबाट सुरु गरिएको कम्पनी चलाउन र भाडा तिर्न धौधौ हुने भयो। त्यसपछि हामीले आम उपभोक्तालाई छुने किसिमको प्रविधि खोल्ने विचार गर्‍यौं,’ श्रेष्ठ भन्छन्, ‘पानी तान्ने झन्झटबाट मुक्त गराउन अटोमेटिक धाराको विकास गर्‍यौं। यसले चाँडै नै राम्रो बजार लियो।’

प्रविधिमा नेपाललाई अगाडि बढाउन र नेपाली इन्जिनियरहरूलाई नयाँ प्रविधिको विकासमा संलग्न गराउन रोबोटमार्फत पाइला चाल्न लागिएको उनी बताउँछन्। ‘नेपालीले बनाएको रोबोटलाई पनि व्यावसायिक प्रयोजनमा उपयोग गर्न सकिन्छ भन्ने उदाहरण हो’, उनी भन्छन्।

जिन्जरको जादु
नौलो रेस्टुराँमा रहेको ‘जिन्जर’ नामक रोबोटलाई पाइलाका अर्का संस्थापक विनय राउत विश्वकै उत्कृष्ट वेटर रोबोट भन्न रुचाउँछन् । उनी अरूको रेस्टुराँमा रोबोट परीक्षण गर्न आइपर्न सक्ने कठिनाइबारे पहिले नै सजग थिए । त्यसैले जिन्जरको सफल परीक्षण गर्न यिनले नौलो रेस्टुराँ खोलेका हुन्।

पाइलाका अन्य संस्थापक विश्वकै पहिलो नागरिकता प्राप्त ह्युमनोइड रोबोट सोफियामा प्रयोग भएका प्रविधिबारे पनि जानकार छन् । उनी भन्छन्, ‘सोफियामा नौलो प्रयोग गरिएको उसको छाला र अनुहारका भाव मात्र हुन् ।’ सोफियाभन्दा जिन्जर धेरै हिसाबले स्मार्ट रहेको उनको जिकिर छ ।

खिचापोखरीस्थित केकेएफसी रोबोट वेटर प्रयोग गर्ने नेपालकै पहिलो रेस्टुराँ हो । तर, ती रोबोट नेपालमा बनेका नभई चीनबाट मगाइएका हुन् । त्यहाँको प्यांगोलिन रोबोटिक्स कम्पनीले विश्वभर वेटर रोबोटलगायत अन्य रोबोट निर्यात गर्छ । ‘अब हामी पनि छिट्टै अन्तर्राष्ट्रिय बजारमा जाँदै छौं’, पाइलाका सागर भन्छन्, ‘त्यति बेला प्यांगोलिन नै हाम्रो सबैभन्दा ठूलो प्रतिद्वन्द्वी होला ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.