सविताको समर्पण

सविताको समर्पण

भक्तपुरको सुकुमबासी टोलमा देखिएको दृश्यले उनलाई घोचिरह्यो। अनि, सरकारी अधिकृतबाट राजीनामा दिइन्। अहिले उनी अटिजम भएका ४५ बालबालिकाको स्याहारमा तन–मन–धन खर्चिरहेकी छन्।


सविता उप्रेती (३३) हरदम अटिजम भएका बालबालिकाले घेरिएकी हुन्छिन्। उनीहरू सविताको मुहार चिथोर्छन्। बदलामा उनी स्नेह साट्छिन। शौच गर्न नसक्नेलाई आमाले झैं स्याहार्छिन्। खान नसक्नेलाई आमाले झैं खुवाउँछिन्। आफ्नै सन्तानझैं गरी सुम्सुम्याउँछिन्। यसैमा उनलाई खुसी मिल्छ। ‘कपाल लुछ्ने, टोक्ने, चिथर्ने व्यवहार सामान्य लाग्न थालिसकेको छ। अब त बानी नै परिसक्यो’, उनी मुस्कुराइन्।

अटिजम भएका बालबालिकाका लागि खोलिएको विशेष स्कुल तथा पुनस्र्थापना केन्द्र (एसएसडीआरसी)की संस्थापक अध्यक्ष सविता अटिजम भएका बालबालिकाको सेवामा तन, मन, धनले लागिपरेकी छिन्।
 
टर्निङ प्वाइन्ट

एघार वर्षअघि फिल्ड जाने क्रममा उनी भक्तपुरको सुकुमबासी टोल पुगिन्। फोहोरमाथि बसेर अपांगता भएका बालकले किताब पल्टाइरहेका थिए। यो दृश्य उनले एकोहोरो हेरिरहिन्। आँखाको चेपबाट आँसु आएछ।

दोलखा, बैतेश्वर गाउँपालिका–६, नाम्दुकी उप्रेती आर्थिक कारणले काठमाडौं आउन सक्ने अवस्था थिएन। मामाका छोरा शिव कार्कीको घरमा बसेर अध्ययन अघि बढाइन्। पकेट खर्चका लागि जागिर खोजिन्। बिहान कलेज पढ्ने र हतार हतार दिउँसो सरस्वती स्कुलमा पढाउने गर्न थालिन्। छुट्टै डेरा लिइन्। गाउँबाट भाइबहिनी पनि बोलाई आर्थिक व्ययभार आफ्नै काँधमा बोकिन्।

सात वर्षको शिक्षण अनुभवले गर्दा सहज भयो। समाज कल्याण परिषदन्तर्गत राष्ट्रिय अपांग कोषको शारीरिक पुनस्र्थापना केन्द्रमा केन्द्र व्यवस्थापन अधिकृत भइन्। यही बेला फिल्ड जाने क्रममा उनी भक्तपुर पुगेकी थिइन्। ‘त्यो भक्तपुरको सुकुमबासी टोलमा देखिएको दृश्यले घोचिरह्यो। अधिकृतबाट दिएको राजीनामा मेरो जीवनमा टर्निङ प्वाइन्ट बन्यो’, उनले भनिन्।
त्यसपछि उनी भारत गइन्। केही बालबालिकाको स्याहारसम्बन्धी तालिम लिइन्। ज्ञानको दायरा फराकिलो भयो। उनीसँग मन थियो तर धन थिएन।

विवाह पन्छाउँदै समाजसेवा

उमेर पुगेकी छोरीलाई घरमा ज्वाइँ खोज्ने सुरसार थियो। हुनेवालासँग सामान्य कुराकानीसमेत भइसकेको थियो। केटाकेटीबीच हेराहेर मात्र बाँकी। तर, उनको चाहना अर्कै। अभिभावकलाई भनिन्, ‘विवाह पछि गर्छु। बिहे गर्दा लाग्ने खर्च वा उपहार अहिले दिनुस्। आमाले मनको कुरा बुझ्नुभयो।’

पाँच लाख रुपैयाँ जुट्यो। त्यही पैसाको आडमा संस्था जन्मियो। दुई बच्चालाई साथमा राखिन्। तीमध्ये एउटा बच्चा झक्तपुरको सुकुमबासी टोलमा एक कोठामा साङ्लोले बाँधेर राखिएको थियो। अर्कोचाहिँ ओखलढुंगामा मन्दिरमा अलपत्र अवस्थामा फालिएका अनाथ बच्चा थिए। यिनै दुई बच्चालाई लिएर उनले ०६७ सालदेखि संस्थामार्फत सेवा सुुरु गरिन्।
‘आफ्नै बच्चा स्याहारेर नबसी अरूका बच्चा स्याहारेर बसिछे’, यस्ता शब्दहरू उनले धेरै पटक सुनिन्। तर, अहिले कुरा काट्नेहरू नै उल्टो प्रशंसा गर्न थालेका छन्।

‘घरघरमा गई अटिजम भएका बालबालिका छन् कि भन्दै सोध्दा उल्टो कुकुरसमेत लगाएर लघार्थे। कुकुरले टोकेको खत नै छ’, उनले संघर्ष देखाइन्। उनलाई देखेपछि अभिभावकले नै पत्याएनन्।

यो एक दशकमा बाग्मतीमा धेरै पानी बग्यो। यही बाग्मतीछेउ पुरानो सिनामंगलस्थित पेप्सीकोलामा स्थापना गरिएको संस्थाले दुई सय ८० जना बालबालिकालाई सेवा दिइसकेको छ। अहिले सेवा लिन सयौं बालबालिका प्रतीक्षारत रहेको उनी सुनाउँछिन्। अहिले ४५ जना अटिजम भएका बालबालिकाको स्याहारमा तन–मन–धन खर्चेकी छन्।

उनी चारदेखि १२ वर्षको उमेर समूहका बालबालिकाको शारीरिक, बौद्धिक एवं मानसिक विकासमा ध्यान दिन्छिन्। ती बच्चालाई ठूलो हुन्जेलसम्म स्याहार गरी आत्मनिर्भर बन्न सघाउँछिन्।
अटिजमबारे बुझाउन उनी गाउँगाउँमा पुग्छिन्। हालसम्म उनले जनचेतना फैलाउने क्रममा विभिन्न जिल्लामा एक सय ६० वटा कार्यक्रम सञ्चालन गरिसकेकी छन्। ०७४ सालमा उनले राष्ट्रिय युवा प्रतिभा पुरस्कार पाइन्। मुलुकका उत्कृष्ट ७५ महिला नेत्रीका रूपमा पनि उनी सम्मानित भइसकेकी छन्।

अटिजम भएका बालबालिका अझै पनि कोठामा बन्दीसरह छन्। उनीहरूका रहर कैद छन्। उमेरअनुसार बच्चाको शारीरिक वृद्धि त भइरहेको हुन्छ तर मानसिक अवस्था स्थिर भइदिन्छ। उमेर र शरीरअनुसार व्यवहार गर्न पटक्कै नजान्दा बाबुआमालाई तनाव हुन्छ। विद्यालयले भर्ना लिनसमेत हिच्किचाउँछन्।

अटिजम भएका बालबालिकालाई अध्ययनका लागि सरकारी स्कुलमा सहज छैन। उनको संस्थामा अटिजम भएका बालबालिकालाई आवश्यकताअनुसार विशेष शिक्षा दिइन्छ। बालबालिकाको अवस्थाअनुसार फरक फरक सिकाइ हुन्छ। उनीहरूलाई स्पिच थेरापी, बिहेबियर थेरापी, अकुपेसनल थेरापी, सेन्सोरी थेरापी, फिजियोथेरापी, म्युजिक थेरापी, नृत्य थेरापी दिइन्छ। कसैलाई योग गराइन्छ। आवश्यकताअनुसार स्वास्थ्य जाँच पनि गरिन्छ। ‘उनीहरूलाई आफ्नो हेरचाह आफैं गर्न सक्ने बनाउनु नै चुनौतीपूर्ण छ’, उनले भनिन्।

स्वरोजगारको यात्रा

विगतमा संस्थाको वार्षिक कार्यक्रम गर्न खोज्दा बालबालिकाले डिस्टर्व गर्थे। चिच्याउँथे। अतिथिलाई टोक्ने, चिथर्ने गर्दा कार्यक्रम गर्न पनि सकस पथ्र्यो। पत्रकारका क्यामेरा फुटाइदिएको उनी स्मरण गर्छिन्।

अस्वाभाविक व्यवहार गर्ने ती बालबालिकालाई सामाजिकीकरण हुन सिकाएकी छन्, उनले। सीपमूलक तालिमसँगै स्वरोजगार पनि बनाएकी छन्। उनीहरूले क्रिस्टलको गहना बनाउने, फेब्रिक पेन्टिङ, ढाका कपडाको निर्माणमा सहयोग गर्छन्। कोही प्याकिङ गर्छन्। कसैले माला बनाउँछन्। अहिले दस जनाले रोजगारी पाएका छन्। त्यसबाट हुने आम्दानी अन्य बालबालिकाका भान्छामा खर्चिन्छिन्।

बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था छ। आफूले तलब नलिए पनि अन्य कर्मचारीलाई भने मासिक तलब दिन्छिन्। ‘मैले समाजसेवा गरे पनि स्टाफलाई त तलब दिनुप¥यो नि। आर्थिक रूपले सबल अभिभावकबाट थेरापिस्टले लिने शुल्क लिन्छौं’, उनले भनिन्। अहिले संस्थामा २६ जना कर्मचारी छन्। स्टेसनरी सामान, फर्निचर कति बेला बच्चाले भाँचिदिने हुन् ठेगान हुँदैन। हरेक महिना हुने ६–७ लाख रुपैयाँसम्मको खर्च स्वेच्छाले सहयोग गर्ने व्यक्ति र संस्थाबाट उत्पादित सामानको बिक्रीबाट हुने आम्दानीले घरभाडा तिर्ने लगायतका खर्च टरेको छ। त्यस्तै मनकारी स्वदेशी र विदेशी दाजुभाइले सहयोग गरेका छन्। त्यसैबाट बालबालिकाको खाजा खर्च जुटेको छ।

सात वर्षअघि संस्थामा आउँदा एक बालक स्थिर बस्नै सकेनन्। दोहोरो कुराकानी गर्दैनथे। आँखा जुधाएर बोल्न सक्दैनथे। तर ती बालक १३ वर्षपछि अस्ट्रेलियाको मेलबर्न पुगे। विकासात्मक अपांगतासम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी भए। सन् २०१६ मा भएको त्यो अन्तर्राष्ट्रिय मञ्चमा ती बालकले नेपालको प्रतिनिधित्व गरे। आफ्नो सफलताको कथा सुनाए। ती बालक थिए, आदेशराज काफ्ले।

उनै काफ्ले नेपालको प्रतिनिधित्व गर्दै एक महिनाअघि दुबई पुगे। त्यहाँ भएको स्पेसल ओलम्पिकमा एक सय ९५ वटा मुलुक सहभागी थिए। उनले फुटसल खेले। रजत पदक जिते। अहिले उनी मूलधारको रेन्बो बोर्डिङ स्कुलमा ६ कक्षामा अध्ययनरत छन्। सविता गर्व गर्छिन्।

सोही अन्तर्राष्ट्रिय खेलमा अलिसा न्यौपानेले लङ जम्पमा कांस्य पदक ल्याइन्। ‘हरेक बालबालिकामा प्रतिभा हुन्छ। सिकाउने तरिका फरक हो। धैर्य गुमाउनु हुँदैन। अवसर पायो भने बालबालिकाको प्रतिभा प्रस्फुटन हुन्छ’, उनले भनिन्। अलिसा अहिले संस्थामा नै सहायक शिक्षकका रूपमा काम गर्दै छिन्।

अटिजम भएका बालबालिकालाई कोठामा थुनेको भेट्दा, सुन्दा उनी दुःखी हुन्छिन्। ‘सीमित स्रोतसाधनका कारण सबैलाई सेवा दिन नसक्दा खिन्न हुन्छु’, उनले भनिन्। आफैंले स्याहारेका बालबालिकाले शिक्षक एवं अन्य व्यक्तिलाई चिथर्ने, आक्रमण गरेको देख्दा पनि उनी भावुक हुन्छिन्। दुई तीन पटक त शिक्षकहरूलाई अस्पतालमा उपचारसमेत गर्नु परेको छ। शिक्षकको आँखाबाट आँसु आउँदा उनको मनमा खेल्छ, ‘कसैलाई स्याहार गरिरहँदा कसैलाई मेरै कारण पीडा पो भइरहेको छ कि क्या हो।’

नबोल्ने बच्चा जब बोल्न थाल्छ, असामान्य व्यवहार गर्ने बच्चा जब सामान्य व्यवहार गर्न थाल्छ, त्यो बेला उनको मुहार खुसीले चम्किलो हुन्छ।

समाजशास्त्रमा स्नातकोत्तर उप्रेती भन्छिन्, ‘विवाह घरजमभन्दा पनि संस्था र यस्ता बच्चाहरूको सुर्ता लाग्छ।’ हाल राष्ट्रिय युवा प्रतिभा तथा उद्यमी सञ्जालको उपाध्यक्षका रूपमा उनी युवाहरूको हित र उत्प्रेरणाका लागि दत्तचित्त भई लागिपरेकी छन्। उनी भन्छिन्, ‘एक पटक पाएको जीवनलाई सार्थक बनाउन मन लाग्छ। अर्को पल्ट मान्छे हुन पाइने हो कि होइन ? मानव हुनुको अवसरलाई गुमाउन चाहन्नँ। सेवामा सामेल हुन पाउँदा नै आनन्द लाग्छ। भोलि कसले देखेको छ र ? ’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.