ढोकामै धोबी
आठ महिनासम्म पानीको अभाव र लन्ड्रीको बजारीकरणबारे अनुसन्धान गरी सुरु भएको ‘नेपाली धोबी’ले कपडा धोएर ग्राहकको घरमै पुर्याइदिने गरेको छ।
नर्सिङ, सूचना प्रविधि र व्यापार। तीन फरक पेसा। फरक फरक व्यक्ति। सबै आफ्नो शैक्षिक योग्यताअनुसारको पेसामा स्थापित भइसकेको अवस्था। प्रतिष्ठा र कमाइ दुवैमा धेरैको रोजाइका विषय हुन्, नर्सिङ र सूचना प्रविधि। व्यापारमा पनि कम प्रतिष्ठा छैन। त्योभन्दा पनि महŒवपूर्ण बन्यो जीवनमा आफूले भोगेको समस्या र जन्मियो ‘नेपाली धोबी’।
चार वर्षअघिको कुरा हो। विभिन्न कार्यक्रममा हुने भेट र त्यसपछिको सामाजिक सञ्जालमार्फत सूचना आदानप्रदानले निरन्तरता पाउँदै थियो। नर्स, सूचना प्राविधिक र व्यापारमा आफूलाई स्थापित गरिसकेका व्यक्तिबीच कुनै नयाँ काम गर्ने योजना बन्यो। र, आफ्नै लगानीमा नेपाली धोबी प्रालि स्थापना गर्ने निर्णयमा पुगे, चाबहिलका ऋचा धमला, झापाका निकुञ्ज भण्डारी र चितवनका विकास सुवेदी। धोबी नयाँ काम र नाम होइन। तर हाम्रो दैनिकीसँग जोडिएको विषय भने हो।
अंग्रेजीमा भनाइ छ, ‘एक्सपेरियन्स इज द मदर अफ विज्डम’। चितवन भरतपुरका विकास सुवेदी एसएलसी पास गरेपछि कलेज पढ्न काठमाडौं आए। उनका लागि सबैभन्दा ठूलो समस्या बन्यो पानी। भन्छन्, ‘कलेज पढ्दा मलाई सबैभन्दा ठूलो समस्या नै कपडा धुने थियो। त्यस क्रममा ड्राई क्लिनर्स खोज्दै म काठमाडौंका धेरै ठाउँ चाहारेको छु।’ त्यसमा पनि धुन दिएको कपडा बिगारिदिएपछि अर्को तनाव।
उनलाई त्यतिबेला नै लागेको थियो, पानी अभावमा हुने समस्या समाधानमा केही योगदान गर्छु। तर, सोचेजस्तो कहाँ हुन्छ र। परिस्थितिले अर्कै मोड लियो। उनी अध्ययनका लागि बेलायत गए। तीन वर्षसम्म बेलायतमा सूचना प्रविधिमा स्नातक पूरा गरेर उनी फर्किए। एउटा कम्पनीमा आईटीको जागिर पनि पाए। तर त्यहाँ मन रमाएन। मालिक बन्ने कि नेता ? उनले अन्तरनिहित सञ्चार गरे र निर्णयमा पुगे। मालिकभन्दा नेता नै ठीक। साथ मिल्यो नर्स र व्यापारीको।
यसरी थालियो
नयाँ काम गर्ने सोच आएपछि करिब आठ महिनासम्म उनीहरूले अनुसन्धान गरे। विषय थियो पानी अभाव र लन्ड्रीको बजारीकरण। सुवेदी भन्छन्, ‘हामीले विद्यार्थी, बूढापाका, पसल, होटेल र अस्पतालसम्मको प्रतिक्रिया लियौं। अनुसन्धानबाट हाम्रो योजना अनुसारकै बजार माग रहेको निष्कर्ष आयो।’ त्यसपछि २०७४ को चैतबाट उनीहरूले व्यवसायलाई औपचारिक रूप दिए।
अस्ट्रेलियबाट बीएन गरेकी ऋचालाई पनि नर्सभन्दा धोबीको व्यवसाय रमाइलो लाग्न थालेको छ। उनी बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म नेपाली धोबीको व्यवस्थापनमा खटिइरहन्छिन्। सुवेदी भन्छन्, ‘व्यवस्थापनको काम ऋचालाई छ। निकुञ्ज मार्केटिङ हेर्नुहुन्छ। म ग्राहकसँग कुराकानी र सम्झौताको काम गर्छु।’
सुरुमा केही व्यक्तिबाट सुरु भएको उनीहरूको यो व्यवसाय एक वर्षको अवधिमा होस्टल, अस्पताल र होटलसम्म विस्तार भइसकेको छ। सुवेदीले भने, ‘खासमा हाम्रा लक्षित वर्ग हुनेखानेभन्दा पनि विद्यार्थी हुन्।’ यसका दुईवटा कारण छन्— विद्यार्थी जीवनमा एउटै कोठमा बस्नुपर्ने बाध्यता र पानी अभाव। अर्को सहरी क्षेत्रमा मौलाउँदै आएको होस्टल संस्कृति। ‘हामीलाई कामको कमी छैन’, सुवेदीले भन्छन्, ‘विश्वसनीयता कायम गर्न केही समय लाग्यो। अहिले भ्याइनभ्याइ छ।’ वेबसाइट र फेसबुकमा दिइएको ठेगाना तथा फोनबाट नै ग्राहकले सम्पर्क गर्छन्।
सुरुमा सडकका पोलपोलमा पोस्टर टाँसेर विज्ञापन गर्दाका दिन निकै कठिन थिए। तर अहिले सामाजिक सञ्जाल र वेबसाइट नै विज्ञापनका लागि पर्याप्त भइसकेको छ। अनलाइनबाटै सेवा अर्डर गर्न मिल्छ। अनलाइन र होम डेलिभरी सेवा भए पनि सुरुमा मानिसहरू कपडा दिन डराउँथे। विकास भन्छन्, ‘समय र गुणस्तरमा धेरैलाई शंका हुँदो रहेछ। हाम्रो सेवा पाएपछि अहिले सबै दंग पर्नुहुन्छ।’
कपडा दिइसकेपछि आवश्यकताअनुसार छिटोमा त्यही दिन र ढिलोमा ४८ घण्टाभित्र डेलिभरी हुन्छ। सेवाअनुसार विभिन्न दर कायम गरिएको छ। वास एन्ड फोल्डको प्रतिकिलो १२० रुपैयाँ, वास एन्ड आइरनको प्रतिकेजी १५० र प्रिमियम लन्ड्री (विशेष सफा)का लागि केजीको १८० रुपैयाँ शुल्क छ। कोट, सारी र लेहंगाको भने ३०० देखि सात सय रुपैयाँसम्म तिर्नुपर्छ। अहिले काठमाडौं उपत्यकाका तीन जिल्लाबाट अर्डर आइरहेको विकास बताउँछन्। निकञ्ज भन्छन्, ‘हाम्रो फोकसचाहिँ कर्पोरेटमा हो। तर व्यक्तिलाई पनि सँगसँगै मिलाएर लाने हो।’ एक वर्षअघि बौद्धमा स्थापना गरिएको नेपाली धोबीको शाखा कुपन्डोलमा पनि विस्तार भइसकेको छ।
लगानी र चुनौती
थोरै लगानीमा सुरु गर्न सकिने व्यवसाय हो यो। तीनजना साझेदारको संयुक्त लगानी १७ लाख रुपैयाँबाट सुरु भएको हो नेपाली धोबी। ‘प्रथम चरणको लगानी अनुसन्धान र उपकरण खरिदमै बढी खर्च भयो। तर यसमा व्यापार बढेसँगै लगानी पनि थप्नुपर्छ’, विकास भन्छन्, ‘एक वर्षमै लगानी ४० लाख पुगिसकेको छ।’
हेर्दा सामान्य देखिने यो व्यवसायमा चुनौती पनि त्यत्तिकै छन्। सबैभन्दा प्रमुख समस्या पानीको छ। उनीहरूले कुपन्डोलको शाखामा पूरै ट्यांकरको पानी प्रयोग गरिरहेका छन्। हुन पनि पानी अभाव देखेरै उनीहरूले कुपन्डोलमा शाखा विस्तार गरेका हुन्। सरकारी कार्यसम्पादन चुस्त नहुँदा कर र कागजातको तयारी पनि निकै झन्झटिलो छ। ट्राफिक जाम र सडकका कारण समयमा सामान डेलिभरी गर्न सकिँदैन। यी समस्याले विश्वसनीयता गुम्ने खतरा हुन्छ। ग्राहकले विश्वास नगरेपछि पेसा नै सकिने डर पनि छ।
सुवेदी भन्छन्, ‘चुनौतीबीच पनि व्यस्त सहरी जीवनशैलीलाई थोरै भए पनि सहयोग पुर्याउने हाम्रो दीर्घकालीन लक्ष्य हो। यो अवधिमा खर्चको हिसाब भए पनि आम्दानीको लेखाजोखा भइसकेको छैन। लगानी निरन्तर थप्दै जानुपर्छ। मासिक डेढ लाख रुपैयाँ त कर्मचारीकै लागि खर्च हुन्छ।
भावी योजना
‘हामी आआफ्नो क्षेत्रमा स्थापित भइसकेका व्यक्ति फेरि नयाँ पेसामा आएका हौं, त्यसैले हाम्रो योजना भनेकै यो व्यवसायलाई नयाँ उचाइमा पुर्याउने हो’, उनीहरू भन्छन्। सुरुमा यो व्यवसाय थाल्दा आफन्त र साथीभाइबाट खासै सहयोग भएन।
आफन्त पनि कस्तो व्यवसाय गरेको भन्दै खुसी थिएनन्। अनलाइन लन्ड्री चल्दैन भन्नेको पनि कमी थिएन। ‘माथिल्लो तहमा स्थापित भइसकेका व्यक्ति पनि आईटी र नर्सिङ पढेका मान्छे कस्तो पेसा गरेको भनेर निरुत्साहित गर्थे। तर अहिले उहाँहरू पनि परिवर्तन हुनुभएको छ’, सुवेदी भन्छन्, ‘अहिले विस्तारै सबैको साथ पाउन थालिएको छ।’ यस्तै अनुभव छ निकुञ्जको पनि। आफ्नो व्यवसाय र त्यसमा मिलेको सफलताबाट हौसिएका छन् उनी। भन्छन्, ‘बजारीकरण अभियान प्रभावकारी भएका कारण नै अपेक्षाभन्दा बढी सफलता हात लागेको छ।’
भविष्यमा वर्षाको पानी संकलन गरी थोरै भए पनि पानीको समस्या समाधान गर्ने उनीहरूको योजना छ। शाखा विस्तार गरी काठमाडौं उपत्यकाका विभिन्न स्थान र बाहिरका ठूला सहरसम्म पुर्याउने हो। आफ्नै कम्पनीको ब्रान्डमा पानी र कपडा सफा बनाउने केमिकल उत्पादन गर्ने अबका योजना छन्। अहिले कम्पनीमा ११ जनाले रोजगार पाएका छन्।
रोजगारीमा पनि केही योगदान गर्न पाए हुन्थ्यो भन्ने चाहना उनीहरूमा छ। भन्छन्, ‘यो हाम्रो नयाँ स्वरूपको व्यवसाय हो। ड्राई क्लिनर्स त सहरबजारमा नभएको होइन तर डिजिटल मेसिन घरघरमा लगेर कपडा जोखेर लिने र धोएर होम डेलिभरी सेवा भने नयाँ प्रयोग हो नेपालका लागि।’ कपडामा प्रयोग गर्ने केमिकल, कपडा पट्याउने तरिका, होम डेलिभरी सिस्टम, सरसफाइमा अरूभन्दा फरक रहेको उनीहरू बताउँछन्।
‘कपडा धुनुअघि पानीमा केमिकल छ छैन त्यो परीक्षण गरेर मात्र प्रयोग गरिन्छ। प्रतिस्पर्धात्मक र व्यस्त जीवनशैलीमा अगाडि बढ्न प्रविधिको पनि साथ चाहिन्छ’, निकुञ्ज भन्छन्, ‘उपयुक्त प्रविधि नहुँदा केही समस्या छ। हामी समाधानको खोजीमा छौं। समयले साथ दिए यसलाई देशभर विस्तार गरी उद्योगको रूप दिने हो।’