मितेरी पुल मुआब्जा विवाद टुंगियो
काँकडभिट्टा : झापाको काँकडभिट्टास्थित मेचीनदीमा निर्मार्णाधीन नेपाल–भारत जोड्ने पुलको मुआब्जा विवाद टुंगिएको छ। नेपाल तर्फको भागमा मुआब्जा विवाद हुँदा एक वर्षदेखि काम रोकिएको थियो।
नेपालतर्फको कामनै रोकिएको भन्दै राजनीतिक दल र मेचीनगर नगरपालिकाको पहलमा पुर्जा नभएकालाई पनि घर÷टहराको मूल्यांकन गर्दै मुआब्जाको व्यवस्था गर्ने निर्णय भएसँगै मुआब्जा समस्या सुल्झिएको हो।
पुल निर्माणका लागि नेपालतर्फ अधिग्रहण गरिएका ४४ मध्ये ४ घरको मात्रै लालपूर्जा छ र बाँकी ४० घर पूर्जाविहीन हुँदा मुआब्जा विवाद आएको थियो। पूर्जाविहीन परिवारले मुआब्जा नपाएसम्म ठाउँ नछाड्ने अडान लिएपछि नेपालतर्फको भागमा निर्माण कम्पनीले काम रोकेको थियो। पूर्जा भएका चार जग्गाधनीलाई जमीनको मूल्यांकन गरी यसअघिनै मुआब्जा रकम वितरण गरिएको छ ।
मुआब्जा निर्धारण समितिको निर्णय अनुसार चार घरलाई १ करोड १७ लाख २० हजार रुपैयाँमध्ये २ लाख ९३ हजार रुपैयाँ मालपोत कार्यालयबाट निर्धारित पूजीँगत लाभकर कट्टी गरेर कुल १ करोड १४ लाख २७ हजार रुपैयाँ वितरण गरिएको मेचीनगर नगरपालिकाले जनाएको छ।
यसअघि रकम वितरण नगरी सडकले चारजनाको ४४ धुर जमिन गत वैशाख ३ गते नै सडक डिभिजन दमकको नाममा रजिस्ट्रेसन पास गरिसकेको थियो। पूर्जा भएकालाई मात्र मूल्यांकन गरी रकम तोक्दै मुआब्जा वितरण गर्न थालेपछि पूर्जा नभएका स्थानीय विरोधमा उत्रिएका थिए। लामो समय सम्मको विवादकाबीच पटक पटक भएको छलफल र निर्णयले अहिले पूर्जा नभएकालाई पनि घर टहराको मूल्यांकन गरी मुआब्जा दिने तयारी भएको मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले बताए।
संघीय सडक सुपरिवेक्षक तथा अनुगमन कार्यालय सडक डिभिजनका प्रमुख श्यामकुमार यादवले बाँकी ४० घर÷टहराको पनि मूल्यांकन गरी स्थानीय तह र राजनीतिक दलमा भएको सहमति पछि मन्त्रालयमाा मूल्यांकन फाइल पठाएको बताए।
सहरी विकास तथा भवन निर्माण कार्यालयले घरटहराको मूल्यांकन गरी सडकलाई प्रतिवेदन बुझाएको थियो । ‘अर्थ मन्त्रालयमा फाइल पठाएका छौं, फाइल सदर हुने वित्तिकै रकम प्राप्त हुने छ र उनिहरुलाई पनि बितरण गर्नेछौ,’ प्रमुख श्यामकुमार यादवले भने। पूर्जा नभएका ४० घर÷टहराका लागि करिब एक करोड रकम छुटिन सक्ने उनको अनुमान छ।
यता पूर्जा नभएका ४० घर परिवारले घर÷टहराको मुआब्जा रकम पाउनसाथ स्थान छाड्नमा आफूहरू सहमत भएको बताएका छन्। ‘रकम हातमा परेको छैन, निर्णय भयो भन्ने सुनेका छौं, रकम हातमा परेपछि हामी पुल निर्माणमा अवरोध गर्नेछैनौं’ स्थानीय प्रदीप लिम्बुले भने।
दक्षिण एसिया उप–क्षेत्रीय आर्थिक सहयोग–सडक सञ्जाल परियोजना (एसएएसईसी) अन्तर्गत एसियाली विकास बैंक (एडीबी) को करिब डेढ अर्ब भारु ऋण सहयोगमा भारतले पुल निर्माण सुरु भएको हो ।
दुईवर्षअघि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको पाँचदिने भारत भ्रमणका क्रममा मेची नदीमा ‘मितेरी पुल’ निर्माणको सम्झौता भएको थियो। दुई देशका प्रधानमन्त्रीबीच भएको सहमतिपछि भारतले मेची नदीमा २०७४ फागुनबाट पिल्लर गाड्ने काम सुरु गरेको थियो। १५ सय मिटर लम्बाई रहेको पुलसँगै ८ सय २५ मिटरको ६ लेनको अप्रोच रोड पनि बनाउने योजना त्यसमा समेटिएको छ। निर्माणाधिन नयाँ पुलको नेपाल तर्फको एप्रोच रोड हालको पूर्वपश्चिम राजमार्गमा जोडिने छ । भारततर्फभने पानीट्यांकी बजार उत्तरको आकाशे पुलमा जोडिने छ । २०७४ फागुनबाट सुरु भएको पुल निर्मार्णको काम अवरोध नभए २०७७ माघमा सकिने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस !