९ महिनाको व्यापार घाटा १० खर्ब
काठमाडौं : यस आर्थिक वर्षको ९ महिना (साउनदेखि चैत) मै व्यापार घाटा ९ खर्ब ९१ अर्ब रूपैयाँ पुगेको छ।
आयात उच्च दरको वृद्धिको तुलनामा निर्यात सुस्त हुँदा व्यापारघाटा चुलिएको हो। अघिल्लो आर्थिक वर्षको ९ महिना अवधिसँग तुलना गर्दा २२ प्रतिशतले व्यापार घाटा बढेको भन्सार विभागले जनाएको छ। चैत महिनाको वैदेशिक व्यापारमा मात्र एक खर्ब ३ अर्ब रूपैयाँको घाटा छ।
अहिलेकै दरमा व्यापारघाटा वृद्धि भए यो आर्थिक वर्षको अन्त्यसमम १४ खर्ब ३० अर्ब व्यापारघाटा हुने अनुमान गरिएको छ। यो आकार चालु आर्थिक वर्षको बजेटभन्दा ठूलो हो। सरकारले १३ खर्ब १५ अर्ब रूपैयाँको बजेट ल्याएकोमा मध्यावधि समीक्षामा गरिएको संशोधित अनुमान अनुसार ११ खर्ब ९९ अर्ब रूपैयाँ खर्च हुनेछ।
सरकारले विलासी वस्तु तथा गुणस्तरहिन वस्तुको आयात निरुत्साहीत गर्ने भने पनि आयातमा आधारित राजस्व नीतिका कारण कडाइँ गर्न सकेको छैन। सवारी साधनमा २२९ प्रतिशत हाराहारीमा कर र बैंकले दिने ऋणमा पनि मूल्यको ५० प्रतिशत मात्र ऋण दिन पाइने व्यवस्थाले पनि सवारी साधन आयातलाई निरुत्साहीत गरेको छैन।
नेपाल राष्ट्र बैंकले दुई वर्ष अघि गरेको अध्ययनमा सरकारले गर्ने खर्चको ७१ प्रतिशत आयातका लागि बाहिरिने गरेको थियो। विकास खर्चतर्फको रकम भने मुलुकमा बढी मूल्य अभिवृद्धिमा उपयोग हुन्छ। संघीय संरचना अनुसार तीन तहको सरकार गठनसँगै तल्लो तहका सरकारमा सवारी साधन खरिद फेसन बनेको छ।
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नरबहादुर थापा पुँजी निर्माण गर्ने प्लान्ट, मेसिनरी प्रविधि, हवाइजहाज जस्ता आयातले अर्थतन्त्रको उत्पादनशील क्षमता वृद्धि गर्ने बताउँछन्। ‘तर उपभोग्य वस्तुको आयातबाट व्यापारघाटा चुलिदाँ त्यसले विदेशी मुद्रा सञ्चितिमा चाप पर्नुका साथै शोधनान्तर थप ऋणात्मक भई बाह्य क्षेत्र स्थायित्वमा दबाब सिर्जना हुन्छ,’ उनले भने, ‘बैंक वित्तिय संस्थामा तरलतामा दबाब सिर्जना हुन्छ।’
उनले आगामी बजेटले तत्काल उत्पादन वृद्धिमा जोड दिएर सम्भव हुने वस्तुको आयात प्रतिस्थापन गर्नेमा केन्द्रीत गर्नुपर्ने बताए। ‘माथिल्लो तामाकोसी जलविद्युत् आयोजना समयमा सम्पन्न गर्न सके भारतबाट बिजुली आयात गरिरहनुपर्ने बाध्यात्मक अवस्था रहँदैन,’ उनले भने, ‘विद्युत् उत्पादन बढाएर पेट्रोलियमको प्रयोगलाई कम गर्ने उपायहरु हेर्नुपर्छ।’
आगामी बजेटले आयात प्रतिस्थापन गर्ने वस्तु उत्पादनमा निजी क्षेत्रलाई प्रोत्साहीत गर्ने, उत्पादनमा अनुदान दिएर पूर्वाधार विस्तार गरेर या प्राविधिक सहयोग दिएर उत्पादन बढाउनुपर्ने उनको सुझाव छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार, साउनदेखि चैत महिनासम्म कुल १० खर्ब ६१ अर्ब रूपैयाँको आयात भएको छ। निर्यात करिब ७० अर्ब रूपैयाँ हाराहारीमा छ। आयात र निर्यातको हिस्सालाई विश्लेषण गर्दा नेपालले १ रूपैयाँ मूल्यको वस्तु निकासी गर्दा १५ रूपैयाँ २० पैसा बराबरको वस्तु आयात गरिरहेको हुन्छ।
यो अवधिमा आयात भएका प्रमुख वस्तु पेट्रोलियम हो। पेट्रोलियम आयातमा मुलुकबाट एक खर्ब ८२ अर्ब बाहिरिएको छ। त्यस्तै, एक खर्ब ८ अर्बको फलाम र स्टील, ९० अर्ब जतिको अर्बको मेसिनरी, ७० अर्बको सवारी साधन र ६६ अर्बको विद्युतीय सामग्री आयात भएको छ।
निर्यातमा भने पहिलो सूचीमा पामको तेल छ। यो अवधिमा ७ अर्ब ३४ करोड रूपैयाँको पामको तेल निर्यात भएको छ। त्यस्तै, ७ अर्ब २४ करोडको धागो, ५ अर्ब ७६ करोडको गलैंचा, ५ अर्ब ६८ करोडको चिया तथा कफी र ५ अर्ब जतिको फलाम र स्टीलका सामग्री निर्यात भएको छ।
यो अवधिमा प्रमुख व्यापार साझेदार भारत र चीनबाट हुने आयातको हिस्सा कुल आयातको क्रमशः ६४.८ र १४.५ प्रतिशत छ भने कुल निकासी मध्ये भारत र अमेरिकाको हिस्सा क्रमशः ६३.४ र ११.४ प्रतिशत रहेको छ।