अमेरिकामा सिस्‍नुपानी

अमेरिकामा सिस्‍नुपानी

काठमाडौं : नेपाली हास्यव्यंग्य साहित्यकलाको प्रचारप्रसार, प्रवद्र्धन र व्यंग्य साहित्यमार्फत राज्यलाई खबरदारी गर्दै आएको अभियन्ता संस्था सिस्नुपानी नेपालले देशमा मात्र नभई विदेशमा पनि थुप्रै कार्यक्रम आयोजना गर्दै आएको छ।

वैदेशिक रोजगारीमा रहेका श्रमशील नेपालीमाझ मनोरञ्जन, स्वास्थ्य, योग तथा सचेतना अभिवृद्धि गर्ने लगायतका उद्देश्य बोकेर खाडी क्षेत्रका थुप्रै मुलुकको भ्रमण सम्पन्न गरिसकेको यस संस्थाका कविकलाकारको समूहले हालै अमेरिकाका विभिन्न राज्यमा सिस्नुपानी हास्यव्यंग्य यात्रा सम्पन्न गरेको छ।

विगतमा यूएई, कतार, मलेसिया, बहराइन, ओमानलगायत मुलुकमा ‘दुई थोपा हाँसो’ शीर्षकमा हास्यव्यंग्य कार्यक्रम गरेको यस संस्थाले अमेरिकामा भने पहिलोपटक यसप्रकारको कार्यक्रम आयोजना गरेको हो। नयाँ वर्ष २०७६ को उपलक्ष्यमा नेपाली समाज टेक्सास (एनएसटी)को निमन्त्रणामा संस्थाका अध्यक्ष लक्ष्मण गाम्नागे, उपाध्यक्ष अर्जुन पराजुली र महासचिव टंक आचार्यसहित तीन सदस्यीय टोली अमेरिका भ्रमणमा गएको हो।

एनएसटी र इन्द्रेणी सांस्कृतिक परिवारको संयुक्त आयोजनामा २०७५ चैत ३० गते टेक्सास राज्यको ड्यालसमा आयोजना गरिएको एक भव्य सांस्कृतिक कार्यक्रमबाट सिस्नुपानी नेपालको हास्यव्यंग्य यात्रा प्रारम्भ भएको थियो। एनएसटीका अध्यक्ष सुमन थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गायकहरू नीमा रुम्बा, भगवान भण्डारी, शीला आलेलगायतका कलाकारले सांगीतिक प्रस्तुति दिए। सिस्नुपानी नेपालका तर्फबाट कविहरू लक्ष्मण गाम्नागे, अर्जुन पराजुली र टंक आचार्यले व्यंग्य कवितालगायत विविध हास्यव्यंग्य प्रस्तुत गरेका थिए।

दोस्रो कार्यक्रम टेक्सासको राजधानी अस्टिनमा २०७६ वैशाख ७ गते शनिबार सम्पन्न भयो। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) अस्टिनको आयोजनामा भएको कार्यक्रममा स्थानीय कवि देवराज न्यौपानेलगायतले कविता र कलाकारले नृत्य तथा गीत प्रस्तुत गरेका थिए। दुई घण्टासम्म चलेको कार्यक्रममा व्यंग्यकविले स्वदेश र परदेशका विभिन्न विकृति विसंगतिमाथि काव्यिक झटारोको वर्षा गराएका थिए। स्थानीय दर्शक श्रोताको विशेष माग भएका कारण सिस्नुपानीले नेपाल र अमेरिकाका समसामयिक विषयहरू समेटिएको नमुना देउसी पनि प्रस्तुत गरेको थियो।

तेस्रो कार्यक्रम वैशाख ८ गते नेपाली समाज टेक्सस (एनएसटी)को आयोजनामा डलासस्थित पशुपति मन्दिरको सभाकक्षमा सम्पन्न भएको थियो। त्यसैगरी वैशाख १५ गते कनेक्टिकट राज्यको हार्डफोर्डमा यात्राको चौथो कार्यक्रम सम्पन्न भयो। लायन्स क्लबको आयोेजनामा सम्पन्न कार्यक्रममा हार्डफोर्ड, बोस्टोन तथा मिलफोर्डदेखिका दर्शक तथा श्रोता उपस्थित थिए।

वैशाख २१ गते भर्जिनियाँ राज्यको फेयरफ्याक्समा सम्पन्न कार्यक्रमको आयोजना अनेसास भर्जिनियाले गरेको थियो। अमेरिकाका लागि नेपाली राजदूत अर्जुनबहादुर कार्कीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा सिस्नुपानी नेपालका कविलगायत स्थानीय व्यंग्यकार पुष्कर पन्तले कविता वाचन गरेका थिए भने विविध सांस्कृतिक प्रस्तुतिहरूसमेत प्रस्तुत गरिएको थियो।

वैशाख २२ गते मेरिल्यान्ड राज्यको बाल्टिमोरमा सिस्नुपानी यात्रा कार्यक्रम सम्पन्न भयो। बाल्टिमोर नेपलिज एसोसिएसन इन अमेरिका (बाना)ले आयोजना गरेको कार्यक्रम संस्थाको आफ्नै सभाकक्षमा भएको थियो। नेपाली महावाणिज्य दूत एवं वरिष्ठ कलाकार प्रेमराजा महतको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रमलाई सम्बोधन गर्दै महतले सिस्नुपानी नेपालको यस कार्यक्रमबाट आफू अत्यन्त प्रभावित भएको र यसप्रकारका कार्यक्रम अमेरिकाभरि सञ्चालन गर्न आफूले सक्दो सहयोग गर्ने बताए।

वैशाख २३ गते सिस्नुपानी यात्राको अन्तिम कार्यक्रम राजदूत निवासको सभाकक्ष वासिङ्टन डीसीमा सम्पन्न भयो। राजदूत डा. कार्कीले सिस्नुपानी नेपालको स्वागतमा आयोेजना गरेको कार्यक्रममा साहित्यकार सीता पाण्डे, प्रेम संग्रौलालगायतले कविता वाचन गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.