२० जनालाई नइ पुरस्कार
काठमाडौं : वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले सय वर्ष टेकेकै दिन २० जना स्रष्टालाई नइ पुरस्कार प्रदान गरेका छन्। नइ प्रकाशनले हरेक वर्ष जोशीको शुभजन्मोत्सवका अवसरमा वार्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ। स्रष्टाद्वय प्रा.राजेन्द्र सुवेदी र प्रा.डा. महादेव अवस्थीले दूबोको माला लगाएर वाङ्मय शताब्दी पुरुषको थप कीर्तिमय र दीर्घ जीवनको कामना गरे।
समारोहमा शताब्दीपुरुष जोशीले दुई लाख रुपियाँ राशि र ताम्रपत्रसहित ‘नइ देरुनीख अन्तर्राष्ट्रिय पुरस्कार’ भारतका साहित्यकारद्वय १०१ वर्षीय हाइमनदास राई किरात र ८६ वर्षीया डा.लक्खीदेवी सुन्दासलाई समर्पण गरे।
त्यसैगरी सनातन हिन्दू धर्म, संस्कृतिको संवद्र्धन, संरक्षण तथा जागरणका लागि श्री १००८ स्वामी रमणानन्द गिरीलाई ‘नइ चन्द्रधन पुरस्कार’ समर्पण गरियो। नेपालको राष्ट्रियता र राष्ट्रिय भौगोलिक अखण्डतामा योगदानका निम्ति चन्द्रप्रकाश मैनालीलार्ई ‘नइ कीर्तिनिधि पुरस्कार’ समर्पण गरियो।
त्यसैगरी नेपाली भाषाको श्रीवृद्धिका लागि समर्पित प्रा.डा.चूडामणि बन्धुलाई ‘नइ देरुनीख सुकीर्ति पुरस्कार’ समर्पण गरिएको छ। नेपालको इतिहासको अध्ययनमा समर्पित प्रा.डा. त्रिरत्न मानन्धरलाई ‘नइ भूपालदुर्गा पुरस्कार’ समर्पण गरिएको छ। नेपालबाहिर रहेर भाषासाहित्यको अन्तर्राष्ट्रिय विस्तारका लागि अमेरिकाका गोविन्द गिरी प्रेरणालाई ‘नइ गणेशदुर्गा अन्तर्राष्ट्रिय पुरस्कार’ समर्पण गरियो।
सात दशकदेखि चित्रकलामा समर्पित नेपालमा पहिलोपल्ट एकल चित्रकलासमेत प्रदर्शनी गर्ने गेहेन्द्रमान अमात्यलाई ‘नइ यउजा पुरस्कार’ समर्पण गरिएको छ। काठमाडौं उपत्यकाबाहिर रहेर नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि महत्त्वपूर्ण योगदान पुर्याउने स्याङ्जाका श्री देवीप्रसाद वनवासीलाई ‘नइ धनरुप पुरस्कार’ समर्पण गरियो। यी सातैैवटा पुरस्कार ताम्रपत्रसहित जनही एक/एक लाख रुपियाँ राशिका छन्।
समारोहमा ताम्रपत्रसहित तीनजनालाई जनही ५० हजार रुपियाँ राशिका पुरस्कार समर्पण गरिएको थियो। जनस्वास्थ्यमा पुर्याएको योगदानका निम्ति प्रा.डा. महेश खकुरेललाई ‘नइ देरुनीख प्रदीप्ति पुरस्कार’ र नेपाली भाषा र साहित्यको गरिमा बढाएबापत श्री मोहन दुवाललाई ‘नइ ईश्वरवल्लभ पुरस्कार’ समर्पण गरियो।
उपत्यकाबाहिर बसेर नेपाली भाषासाहित्य र शिक्षासेवामा निरन्तर समर्पित नेपालगन्जकी श्रीमती किरण आचार्यलाई ‘नइ बुलु शर्मा पुरस्कार’ समर्पण गर्ने निर्णय गरियो। आफ्नो अध्ययनमा संलग्न भई विविध वाङ्मयिक गतिविधिमा समर्पित १५ वर्षसम्मका पाँच बालबालिकालाई ताम्रपत्रका साथ जनही १० हजार रुपियाँ राशिसहित ‘नइ बाल पुरस्कार’ समर्पण गरिएको छ। पुरस्कृत हुनेमा बहुआयामिकतर्फ जेनी मानन्धर, साहित्यतर्फ प्रारम्भ अधिकारी, चित्रकलातर्फ विमल शाही, नृत्यतर्फ पालिस्था नापित र खेलकुदतर्फ निशान पन्थी छन्। १० वर्ष उमेर समूहका गायनमा हिमानी प्रधान र नृत्यमा अपेक्षा शेरचनलाई ताम्रपत्रका साथ जनही सात हजार रुपियाँ राशिसहित ‘नइ कोपिला पुरस्कार’ समर्पण गरियो।
त्यसै गरेर तीन वर्षीय स्वीकृति दाहाललाई ताम्रपत्रका साथ पाँच हजार रुपियाँ राशिसहित ‘नइ चिचिला पुरस्कार’ समर्पण गरिएको छ। इन्दिरा प्रसाईको सभापतित्वमा सञ्चालित समारोहमा वाङ्मय शताब्दीपुरुष जोशी, प्रा.डा. चूडामणि बन्धु र नइ प्रकाशनका सदस्यसचिव नरेन्द्रराज प्रसाईले बोलेका थिए। नइ प्रकाशनका कार्यक्रम संयोजक श्रीमती भगवती बस्नेतले नइ प्रकाशनको प्रतीक चिह्न प्रदान गरिन्। समारोहमा कविता वाचन, पुरस्कृत बालबालिकाद्वारा नृत्य र गायन प्रस्तुत गरिएको थियो।