मिडिया सोसाइटीको प्रश्न : यस्तै गणतन्त्र ल्याउन मिडिया लडेका थिए ?
काठमाडौं : सञ्चारमाध्यम सञ्चालकहरूको संस्था नेपाल मिडिया सोसाइटीले नेपाल मिडिया काउन्सिल विधेयकको विरोध गरेको छ। सोसाइटीका अध्यक्ष शुभशंकर कँडेलले आइतबार जारी गरेको विज्ञप्तिमा प्रेस स्वतन्त्रतामाथि कालो बादल मडारिन थालेकोले सचेत रहन भनिएको छ।
'के यस्तै गणतन्त्र ल्याउन नेपाली मिडिया लडेका थिए ? यो कस्तो प्रेस स्वतन्त्रता हो ? राज्यको कार्यशैलीप्रति के पत्रकारले प्रश्न गर्न पनि पाउँदैन ?' विज्ञप्तिमा भनिएको छ, 'सरकारका कतिपय गलत नीतिकै कारण आर्थिक रूपमा शिथिल हुँदै गए पनि नेपालका स्थापित मिडिया हाउस र क्रियाशील पत्रकारहरूले निरन्तर लोकतान्त्रिक मूल्यमान्यताका लागि सधैं संघर्ष गरिरहेका छन्।'
प्रेस स्वतन्त्रताको पक्षमा हुने सबै प्रकारका आन्दोलन र संघर्षमा ऐक्यबद्धता र अगुवाइ गर्न समेत तयार रहेको सोसाइटीले स्पष्ट पारेकाे छ।
नेपाल मिडिया काउन्सिल विधेयक वैशाख २ गतेको मन्त्रिपरिषद् बैठकले संसद्मा पेश गर्न स्वीकृति दिइसकेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रतिनिधिसभामा दर्ता गर्ने तयारी गरेको उक्त विधेयकका प्राबधानप्रति मिडिया सोसाइटीले आपत्ति जनाएको हो।
प्रस्तावित नेपाल मिडिया काउन्सिल विधेयकको दफा १८ मा ‘काउन्सिलबाट जारी भएको आचारसंहिता विपरीत कुनै सामग्री प्रकाशन वा प्रसारण गरेका कारण मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको भनी सम्बन्धित व्यक्तिले दफा १६ बमोजिम दिएको उजुरी उपर दफा १७ बमोजिम जाँचबुझ गर्दा कसैको मर्यादा वा प्रतिष्ठामा आँच पुर्याएको देखिएमा काउन्सिलले सम्बन्धित आमसञ्चार माध्यम, प्रकाशक, सम्पादक, पत्रकार वा संवाददातालाई २५ हजार रुपैयाँदेखि १० लाख रुपैयाँसम्म जरिवाना गर्न सक्ने’ उल्लेख छ।
हेर्नुस्, विज्ञप्तिकाे पूर्वपाठ