पुँजीपतिहरु नेताबाट गल्ती गराउन सिपालु हुँदा रहेछन् : पुष्पकमल दाहाल
काठमाडौं : नेकपा अध्यक्ष पुष्पकमल दाहालले पुँजीपतिहरु नेताबाट गल्ती गराउन सिपालु हुने बताएका छन् । नेताहरुबाटै गल्ती गराउन सके प्रतिक्रान्ति गराउन सकिने सोचमा कतिपय पुँजीपतिहरु अहिले नेपालमै लागिरहेको आरोप दाहालले लगाएका छन् ।
नेपालका कम्युनिष्ट पार्टीहरुको एकता, झण्डै दुई तिहाईको सरकार प्रतिक्रियावादीहरुलाई पच्न नसकेको भन्दै दाहालले नेताहरुबाट कसरी गल्ती गराउने भन्नेमा उनीहरु लागि परेको बताएका हुन् ।
खुमलटारमा गोरखा लगायत देशका विभिन्न ठाउँबाट नयाँ शक्ति छोडेर नेकपा प्रवेश गर्न आएका नेता–कार्यकर्तालाई पार्टी प्रवेश गराँउदै दाहालले त्यस्तो बताएका हुन् ।
दाहालले भने,‘देशभित्रकै सामान्तवादी, प्रतिक्रियावादीहरुले हाम्रो एकता, झण्डै दुई तिहाईको सरकारलाई रुचाइरहेको छैन । के गरी नेताहरुबाट गल्ती गराउन सकिन्छ भनेर कुरेर बसेका छन् । ठूला–ठूला गल्ती गराउन पुँजीपतिहरु सिपालु हुँदा रहेछन् ।’
सोभियत संघ विघटनमा पनि प्रतिक्रियावादीहरुले नेताहरुबाटै गल्ती गराएर विघटन गराएको स्मरण गर्दै दाहालले नेपालमा पनि त्यही कोसिस भइरहेको बताए ।
दाहालले जनयुद्दका क्रममा आफुले दायाँबायाँ डाक्टर र वैद्यलाई राखेर क्रान्तिको नेतृत्व गर्दा जनतामा डाक्टर र वैद्य नै ठूलो भन्ने भ्रम रहेको तर अहिले त्यो सबै स्पष्ट भएको पनि बताए ।
‘जनयुद्धका बेला दुईतिर दायाँबायाँ डाक्टर र वैद्य बीचमा म बसेर क्रान्तिको नेतृत्व गर्ने, चलाउने हुन्थ्यो । उनीहरु नै ठूलो भन्ने थियो । ती सबै भ्रम हुन् भन्ने स्पष्ट भएको छ ।’ दाहालले भने ।
उनले डाक्टर र वैद्य भनेर डा. बाबुराम भट्टराई र माहेन वैद्यलाई संकेत गरेका हुन् ।
वैद्य अहिले सानो कम्युनिष्ट पार्टी नेकपा (क्रान्तिकारी माओवादी)को नेतृत्व गरिरहेका छन् । डा. भट्टराई उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष दिएर समाजवादी नेपालमा संघीय परिषद्को अध्यक्ष भएर बसेका छन् ।