अनुदानको मल प्लाइ उद्योगमा

अनुदानको मल प्लाइ उद्योगमा

तौलिहवा : किसानले रसायनिक मल नपाइरहेका बेला कृषि मन्त्रालयले भने प्लाइ उद्योगका लागि मल उपलब्ध गराएको पाइएको छ। कपिलवस्तुका दुई प्लाइ उद्योगले मन्त्रालयको सिफारिसमा मल भित्याएका छन्। कपिलवस्तु कृषिमन्त्री चक्रपाणी खनालको गृह जिल्ला हो। यहाँका सात प्लाइ उद्योगले विगतदेखि अनुदानको मल प्रयोग गर्ने गरेको आरोप थियो।

शनिबार मात्रै कपिलवस्तुको प्लाइ उद्योगमा १ सय ३२ टन चाइनिज युरिया मल फेला परेको छ। जिल्लाको पश्चिमी क्षेत्र शिवराज नगरपालिका ७ स्थित २ वटा प्लाइउड उद्योगमा झार्न लागेको मल स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ। अनुदानको मल दुरूपयोग गरेर उद्योगमा शनिबार बिहान ट्रकबाट झार्न लागेको अवस्थामा फेला पारिएको हो।

जिल्ला प्रहरीले उक्त मलसहित ट्रक नियन्त्रणमा लिएको छ। प्रहरीले पशुपति प्लाइर जय अम्बे प्लाइ उद्योग परिसरबाट ६ वटा भारतीय मालबाहक ट्रकसहित मल नियन्त्रणमा लिएको हो। कृषि प्रयोजनका लागि प्रयोग हुने चाइनिज युरिया मल ती दुई उद्योगमा भित्याइएको विशेष सूचनाका आधारमा स्थानीय प्रशासनको निर्देशन पछि मल नियन्त्रणमा लिइएको इलाका प्रशासन कार्यालय चन्द्रौटाका प्रमुख जगदीश अर्यालले बताए।

‘कृषि कार्यमा प्रयोग हुने चाइनिज युरिया मल भित्रिएको सूचना पाएपछि त्यसलाई नियन्त्रणमा लिन निर्देशन दिएको हुँ’, प्रमुख जिल्ला अधिकारी अर्जुनप्रसाद पोख्रेलले भने, ‘नियन्त्रणमा लिएको मलबारे अनुसन्धान गर्छौं।’

उद्योगका सञ्चालकलाई सो विषयमा फाइल र आवश्यक कागजातसहित प्रशासन कार्यालयमा हाजिर हुन निर्देशन दिइएको पोख्रेलले बताए। ती दुवै उद्योगमा ५० केजीका १३ सय २० बोराका दरले मल भित्याइएको छ।

पशुपति प्लाइ उद्योगमा एनएल ०१ एबी ५४४८, एनएल ०१ एबी १७३८ र डब्लु बी ११ टी ७००५ नम्बरको मालबाहक ट्रकमा मल ल्याइएको थियो।

जय अम्बेमा एनएल ०१ जी ७५१२, एनएल ०१ जी ६२१२ र एनएल ०१ एबी १७४८ नम्बरको मालबाहक ट्रकमा मल भित्याइएको थियो। अर्यालका अनुसार जय अम्बेमा ट्रकबाट ४ सय ४० बोरा र पशुपतिमा ६ सय बोरा मल गोदाममा झारिएको थियो। मल राखिएको गोदाम सिलबन्दी गरिएको उनले जानकारी दिए। झार्न बाँकी मल र ट्रकलाई वडा प्रहरी कार्यालय चन्द्रौटामा राखिएको उनले बताए।

उता पशुपति प्लाइका सञ्चालक अशोक अग्रवालले आफूहरूले सबै प्रकृया पूरा गरेर चीनको सांघाइबाट भारतको कलकत्ता हुँदै सुनौली नाकाबाट चाइनिज मल ल्याएको दाबी गरे। उनले उद्योगमा बन्ने प्लाइ काठलाई चप्काउन चाहिने युरिया कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र प्रदेश ५ अन्तर्गत रहेको घरेलु तथा साना उद्योग कार्यालयको सिफारिसमा सो मल वैद्यानिक तवरले भित्याएको बताए। उनको चाइनिज कम्पनीलाई तिरेको रकम, भन्सार महसुललगायत सबै कागजात दुरुस्त रहेको दाबी छ।

कागजातअनुसार कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत फागुन १० गते पशुपति प्लाइउड उद्योगलाई टेक्निकल ग्रेडको युरिया मल आयात गर्न निर्देशन दिएको थियो। मन्त्रालयका वरिष्ठ कृषि प्रसारअधिकृत नेत्रप्रसाद भण्डारीको हस्ताक्षर रहेको सो पत्रमा औद्योगिक प्रयोजन र मात्र एकपटकका लागि आयात गर्न दिन भनिएको छ। त्यसको प्रतिवेदन मासिक रूपमा मन्त्रालयमा पठाउनसमेत उल्लेख गरिएको छ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख गोविन्दप्रसाद पाण्डेयले सामान पैठारीका लागि सिफारिस दिएका छन्। तर उनले दिएको सिफारिसमा युरिया मलको कुरा उल्लेख छैन। किसानलाई मल दिन नसक्ने मन्त्रालयले उद्योगलाई भने मल आयातका लागि सहज वातावरण बनाएकोमा कृषकले विरोध जनाएका छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.