प्रिमियर गल्फमा जयरामको अग्रता
काठमाडौं : सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपको पहिलो दिन जयराम श्रेष्ठले अग्रता लिएका छन्। पार ७२ को गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सोमबारदेखि सुरु भएको प्रतियोगितामा जयरामले चार अन्डर ६८ खेलेका छन्।
पहिलो नौ होलमा चार अन्डर ३२ खेलेका जयरामले पछिल्लो राउन्डको नौ होलमा इभन पार ३६ मा खेल सकेका थिए। एमेच्योर गल्फर सुवास घिसिङ दोस्रो स्थानमा छन्। तीन अन्डर ६९ खेलेका सुवासले पहिलो राउन्डमा दुई अन्डर ३४ र पछिल्लो राउन्डमा एक अन्डर ३५ खेलेका थिए। दुई अन्डर ७० खेलेका सूर्यप्रसाद शर्मा, कृष्णमान राजवाहक र चूडाबहादुर भण्डारी संयुक्त तेस्रो स्थानमा छन्।
एक अन्डर ७१ खेलेका रामे मगर, विकास अधिकारी र एमेच्योर गल्फर टंक कार्की संयुक्त चौथो स्थानमा छन्। सूर्य नेपाल टुरअन्तर्गत वर्षको अन्तिम स्पर्धाको रूपमा रहेको च्याम्पियनसिपमा ४० प्रो र २० जना एमेच्योर खेलाडीले भाग लिएका छन्।
चारदिने प्रतियोगितामा ३६ होलपछि शीर्ष २४ प्रो ६ एमेच्योर थप ३६ होलको फाइनल चरणमा प्रवेश गर्नेछन्। च्याम्पियनसिपमा प्रोतर्फ विजेताले दुई लाख ३० हजार र उपविजेताले एक लाख ४० हजार रुपैयाँ प्राप्त गर्नेछ। तेस्रो हुनेले ९५ हजार, चौथोले ७७ हजार पाँच सय र पाँचौंले ६६ हजार पाँच सय रुपैयाँ हात पार्नेछन्। फाइनल चरणमा पुगेका सबै खेलाडीलाई आकर्षक नगद प्रदान गरिने आयोजकले जनाएको छ। एमेच्योरको हातमा आकर्षक ट्रफी पर्नेछ।