ह्विलचेयर एसिया कपको पहिलो खेलमा नेपाल पराजित (फोटो)
![ह्विलचेयर एसिया कपको पहिलो खेलमा नेपाल पराजित (फोटो)](https://annapurnapost.prixacdn.net/media/albums/asia-cup-2019-wheelchair-criket-at-TU-by-sunita-dangol-01-13_20190515151836_EduNUJ1u4H.jpg)
काठमाडौं : ह्विलचेयर एसिया कप टीट्वेन्टी क्रिकेट प्रतियोगिताको आफ्नो पहिलो खेलमा नेपाली टोली पराजित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपाली टोली भारतसँग ६ विकेटले पराजित भयो।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ४० रन बनाएको थियो। जवाफी ब्याटिङमा ओर्लिएको भारतले १५.१ ओभरमा चार विकेट गुमाएर विजयलक्ष्य पूरा गर्यो।
पहिले ब्याटिङ गरेको नेपालका लागि दिगम चेम्जुङले ६६ रन बनाए। उनले ६६ बलको सामना गरी सात चौका पनि हिर्काए। विपिन पौडेलले पनि २५ बलमा ६ चौकाको मद्दतले ३३ रन जोडे। रमेश खत्रीले १५ र सागर पाण्डेले सात रन थपे। जवाफी ब्याटिङमा ओर्लिएको भारतका लागि विश्वनाथ गुरवले ३२ बलमा नौ चौकाको मद्दतले ५० रनको योगदान गरे। उनी म्यान अफ दी म्याच घोषित भए। परशुराम देसलीले १९, निकुल प्रजापतिले १६ र सन्तोष रंजाग्नेले १६ रन बनाए।
अर्को खेलमा पाकिस्तानले बंगलादेशलाई आठ विकेटले पराजित ग¥यो। टस हारी पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित ओभरमा चार विकेट गुमाएर एक सय ७७ रन बनायो। बंगलादेशका लागि सजाद होसैनले ७४ र मोहम्मद रिपोन उद्दिनले ३२ रन जोडे। पाकिस्तानका बलर मुहम्मद आमिनले दुई विकेट लिए। जवाफमा पाकिस्तानले १६.३ ओभरमै केवल दुई विकेट गुमाउँदै विजयलक्ष्य पूरा गर्यो।
पाकिस्तानको जितमा मोहम्मद साजिद अली अब्बासी र मुहमद लतिफले ५१÷५१ रनको योगदान गरे। मुहमद बिलालले ३९ रन बनाए भने मुराद बक्सले २३ रन बटुले। उक्त खेलमा पाकिस्तानका मुहमद अतिफ म्यान अफ दी म्याच घोषित भए।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)