फेरिन नसकेको कर्णाली
भौगोलिक विकटताका कारणले कर्णाली जनता अनेक समस्याले ग्रसित छन्। विशेषगरी महिला तथा बालबालिका कुपोषणका सिकार छन्। महिला साक्षरता न्यून छ। उनीहरू दैनिक १६ घन्टासम्म मल, घाँस, दाउराको भारी आदि घरायसी काममा व्यस्त छन्। छाउपडी प्रथा, बालविवाह, बहुविवाह र अज्ञानताको सिकार भएका छन्। समग्रमा हेर्दा कर्णालीवासी बाटोघाटो, स्वस्थ खानेपानी, शिक्षा, स्वस्थ्य, रोजगार एवं खाद्य सुरक्षाजस्ता आधारभूत आवश्यकताबाट वञ्चित छन्। त्यहाँको प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदाहरूलाई राष्ट्रको पहिचानसँग जोड्न सकेमा मात्र कर्णाली समृद्ध बन्न सक्छ।
कर्णालीको अवस्था
प्राचीन जुम्ला राज्य र त्यसवरिपरिका जिल्ला समेटेर बनेको ६ नम्बरको कर्णाली प्रदेश पिछडिएको क्षेत्रमा पर्दछ। यो एक सम्भावना बोकेको प्रदेश पनि हो। मानव विकासको सूचकांकमा ०.४१ प्रतिशत, प्रतिव्यक्ति औसत वार्षिक आय ८०८.५६ अमेरिकी डलर रहेको यस प्रदेशमा ४२.८४ प्रतिशत जनसंख्या गरिबीको रेखामुनि रहेका छन्। वयष्क साक्षरता दर ४८.०२ प्रतिशत छ भने रणनीतिक सडक सञ्जाल ११५२.०३ किमि छ।
चुनौती
लगभग सबैजसो विकासका सूचांकहरूमा पछाडि परेको प्रदेश नं ६ को कर्णालीका अगाडि चुनौतीका चाङ छन्। मुलुकमै सबैभन्दा धेरै अर्थात् ३५.९ घरधुरीलाई पानीको अभाव छ भने ४७.९ प्रतिशत घरमा चर्पी छैनन्। यसैकारणले यस प्रदेशको बाल मृत्युदर धेरै अर्थात् ५५.९ प्रतिशत छ भने पोषण तत्वको अभावमा यहाँ ३८.५१ प्रतिशत जनसंख्यामा पुड्कोपन देखिन्छ। ५१.९३ प्रतिशत जनसंख्यामा कम तौलको समस्या छ। मुलुकमा सात प्रदेशमध्ये सबैभन्दा कम रणनीतिक सडक सञ्जाल पनि यही प्रदेशमा छ।
सधैं देशको शासन फेरियो, शासन गर्ने व्यक्ति फेरिए तर कर्णालीलाई हेर्ने पद्धति र प्रविधि नफेरिँदा कर्णालीका जनताको अनुहार पनि अहिलेसम्म फेरिन सकेन।
यस प्रदेशको भन्डै ३९ प्रतिशत क्षेत्रफल जंगलले ढाकेकोमा मुलुकमै सबैभन्दा बढी ९५ प्रतिशत जनता खाना पकाउन दाउराको प्रयोग गर्ने अहिलेको परिस्थितिले पर्यवरणीय दुर्घटना निम्त्याउने सक्ने पनि देखिन्छ। आजै पनि सडक नपुगेका जिल्ला (डोल्पा, हुम्ला यसै प्रदेशमा छन्। विकासको अभावमा रोजगारका अवसरहरू यस प्रदेशमा निकै कम छन्। यस प्रदेशका निम्न साक्षरता दर र विकट भौगोलिक अवस्था विकासको गति प्राप्त गर्नेतर्फ मुख्य चुनौती हुन्।
अथाह सम्भावना तर संवर्धनको कमी
यस प्रदेशमा अथाह सम्भावना छन्। कर्णाली भन्नेबित्तिकै अहिले पनि धेरै अभाव र समस्याले ग्रस्त रहेको पिछडिएको क्षेत्रको रूपमा मात्र परिकल्पना गरिन्छ। तर यस प्रदेशभित्र रहेका विविधता र सुन्दरता पहिचान गरेर संवर्धन गर्न सक्यौं भने यसलाई स्वर्गको भूमि वा सुन्दरताको मनोरम स्थल बनाउन सकिन्छ। बाहिरबाट हेर्दा कर्णाली जति गरिब छ त्यत्तिकै धनी पनि छ। किनभने नेपालमा कतै पनि उत्पादन नहुने बालीनाली, पर्यटक स्थल, खानी, बहुमूल्य जडिबुटीदेखि दुर्लभ रैथाने बालीनाली पनि पाइन्छन्। संसारकै अग्लो ठाउँमा पाइने कालीमार्सी धानदेखि नेपालमा स्पेनबाट आयात गरिने चिनो धान पनि कर्णाली क्षेत्रमै फल्छ।
कागुनो धान, सेतो उवा, गहत, जिम्बु, रातो चामल, रातो सिमी, कालो सिमी, फापर, जहु, गहुँ, आरूलगायतका बालीनाली कर्णालीमै फल्छन्। यो बालीलाई परम्परागत रूपमा भन्दा पनि आधुनिक रूपमा खेती गर्न सकेमा खाद्यान्नमा कर्णाली आत्मनिर्भर मात्र नभई मनग्य निर्यातको पनि सम्भावना रहन्छ। त्यसैले कर्णालीलाई खाद्यान्न बालीका रूपमा पनि विकास गर्न सकिन्छ। अर्को कर्णालीलाई पर्यटकीय हबका रूपमा पनि विकास गर्न सकिन्छ। कर्णाली प्रदेशका दैलेख, डोल्पा, हुम्ला, जाजरकोट, जुम्ला, कालीकोट, मुगु, सल्यान, सुर्खेत र पश्चिमी रुकुम सबै ठाउँमा सुन्दर पर्यटकीय स्थल रहेका छन् भने दैलेखमा ऐतिहासिक, पौराणिक र संस्कृतिको उद्गमस्थल धुलेश्वर, श्रीस्थान, पञ्चकोशी, नाभिस्थान, पादुका, तल्लो ढुंगेश्वरलगायतका पर्यटकीय स्थल छन्।
डोल्पामा से–फोक्सुन्डो ताल र तालैसँग जोडिएको से–फोक्सुन्डो राष्ट्रिय निकुञ्ज मुख्य पर्यटकीय स्थल हो। यस्तै विश्वको पुरानो मानिने से–गुम्बालगायत अनेक हिमशृंखला पनि हेर्न पाइन्छ। कालिकोटको पञ्चाल झरना मुख्य पर्यटकीय स्थल हो भने मुगुको राराताल पर्यटकको परिचय दिन काफी छ। सल्यानको कपुरकोट, खौला, सल्लीबजार, कुपिन्डे दहलगायतका ठाउँ पनि उत्तिकै मनोरम छन्। यस्तै हुम्लाको मानसरोबार, सुर्खेतको देउती बजै, काँक्रे विहार, बुलबुले ताल, खस भाषाको उत्पत्ति भएको जुम्लाको सिञ्जा, तातोपानी, चन्दनाथ मन्दिरलगायतका ठाउँ पनि कर्णालीका मुख्य पर्यटकीय स्थल हुन्।
यस्तै कर्णालीको पहिचानका रूपमा रहेका हुड्के नाच, कालिकोटको दमाहा नाच, मुगुको देउडा र कोइकी नाच, सल्यानको सांरगे नाच, डोल्पाको पैसारु नाच, दैलेखको मरुनी नाचलगायत सांस्कृतिक विविधतामा कर्णाली धनि छ। जलविद्युत् क्षेत्रमा नलसिङगाड जलविद्युत् आयोजना भएको जाजरकोटको निकै सम्भावना छ। यसरी अथाह सम्भावना बोकेको कर्णालीलाई एउटा धार्मिक, सांस्कृतिक, पर्यटकीय हबका रूपमा विकास गर्न जरुरी छ।
सरकारको कहिल्यै पनि प्राथमिकतामा परेन
नेपालमा प्रजातन्त्रको पुनर्बहालीपछि बनेका लोकतान्त्रिक सरकारका प्रधानमन्त्रीहरूले थुप्रै आयोजना अघि सारे तर कर्णालीको अनुहार फेरिने गरी प्राथमिकतामा परेको देखिएन। यहाँका जनताको दुःख, पीडा, आवाजलाई सरकारले सम्बोधन गर्न सकेन। आज तीनै तहको सरकार छ।
स्थानीय, प्रदेश र संघ यी सबैले प्राथमिकताका साथ कर्णालीका जनताको अनुहार फेरिने गरी, उनीहरूको विकासमा पहुँच हुने गरी विकासका योजना अघि सारेर समृद्ध कर्णाली, समृद्ध जनता बनाउनै पर्छ। यसो गर्न सकेमा मात्र जनताले यो युगलाई विकासको एवं पुनर्जागरणको युगका साथै सिंहदरबारको अधिकार घरघरमा पुगेको अनुभूति गर्न सक्छन्। त्यसैले अन्य प्रदेशभन्दा पनि यो प्रदेशलाई विशेष प्राथमिकताका साथ बजेट छुट्ट्याएर विकासको मूल फुटाउनै पर्छ।
विशेष परस्थितिमा विशेष योजना
अन्य प्रदेशको तुलनामा कर्णालीको परिवेश, भौगोलिक विकटता, अशिक्षा, अज्ञानता, गरिबी, भोकमरीजस्ता समस्याले कर्णालीका जनता अहिले पनि ग्रसित छन्। त्यसैले कर्णालीका जनतालाई राष्ट्रको मूल प्रवाहमा र पिछडिएको क्षेत्रबाट माथि उठाउने हो भने विशेष परिस्थितिमा विशेष कार्ययोजना तयार गरी कर्णाली जागरण एवं समृद्धि र विकासको अभियानका साथ राज्यको ध्यान जान जरुरी छ। तर सधैं देशको शासन फेरिँदा पनि कर्णालीका जनताको अनुहार नफेरिनु र शासन गर्ने व्यक्तिले जहिले पनि बेग्लै चस्मा लगाएर कर्णालीका जनतालाई हेर्ने पद्धति र प्रविधिको अन्त्य नगरेसम्म कर्णालीका जनताले लोकतन्त्र र विकासको अनुभूति गर्न सक्दैनन्।
दुईतिहाइको कम्युनिस्टको सरकार छ। यो सरकारले अघिल्लो सरकारहरूले सुरु गरेको माथिल्लो कर्णाली जलविद्युत् परियोजना सुर्खेत, दैलेख, मुगु हुँदै जोड्ने पहाडी लोकमार्गजस्ता आयोजनालाई निरन्तरता दिँदै अब आउने बजेटमा कर्णालीलाई विशेष प्राथमिकताका साथ बजेट छुुट्ट्याउनु पर्छ।
सांसद संग्रौला नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पनि हुन्।