सरकारले जनअपेक्षा अनुसार काम गरेन : रामचन्द्र पौडेल
बैतडी : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । बैतडीको मेलौलीमा शुक्रबार द्वारीकादेवी ठकुरानी नामक पुस्तकको विमोचन कार्यक्रममा बोल्दै उनले जनताले वर्तमान सरकारको विकल्प खोज्न थालिसकेको बताएका हुन् ।
उनले भने ‘वर्तमान सरकार दुई तिहाइको बलियो सरकार हो । तर जनताको अपेक्षा अनुसार काम गर्न सकेको छैन। सरकार आफ्नो अलोकतान्त्रिक चरित्र देखाउँदैछ ।’
सरकार आफैँ भ्रष्टाचारमा लागेको नेता पौडेलको आरोप छ । उनले भने, ‘सरकारले कार्यकर्तालाई बजेट बाँडlरहेको छ । हरेक ठाउँमा भ्रष्टाचार मौलाएको छ । सरकार कानमा तेल हालेर बसेको छ ।’
नेता पौडेलले नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियान अन्तर्गत मेलौली कांग्रेस नेता कार्यकर्तालाई एक भएर अघि बढ्न निर्देशन पनि दिएका छन् । बलियो कांग्रेस भएमात्रै देशको समुन्नती हुने उनको तर्क छ । शुक्रबार बैतडी पुगेका नेता पौडेल शनिबार दार्चुला पुग्ने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस !