गल्फमा शुक्रको उदय

गल्फमा शुक्रको उदय

काठमाडौं : सामान्यतः धनाढ्य वर्गको खेल हो, गल्फ। आर्थिक हिसाबले महँगो यो खेलमा विस्तारै निम्न आय भएका नेपाली खेलाडीको पनि आकर्षण बढ्न थालेको छ। नेपालका चर्चित एमेच्योर गल्फर शुक्रबहादुर राईको अवस्था पनि आर्थिक दृष्टिले त्यति सबल छैन। तर, गल्फ उनको प्रिय र जीवनको अभिन्न खेल बनिसकेको छ। २१ वर्षीय शुक्र धरान–१९, जिमीमार्गका स्थायी बासिन्दा हुन्। गरिबीकै कारण उनी धनीहरूको खेल गल्फसँग साइनो गाँस्न पुगे।

शुक्रका बुवा लक्ष्मण राई घर बनाउने ‘हेल्पर’को काम गर्छन्। उनका एकजना दाजु छन्। दिदीको विवाह भइसकेको छ। शुक्र सानो छँदै उनकी आमाले अर्कैसँग घरजम गरिन्। त्यसले शुक्रको परिवारमा झनै तनाव निम्त्यायो। ‘हामीले सानैदेखि आमाको अभाव खेप्यौं। परिवारको लालनपालनमा बुवाले धेरै मेहनत गर्नुभएको छ। मेरो स्कुलको पढाइ पनि चलिरहेको थियो। आमाले छाडेर गएपछि झनै दुःख भयो’, शुक्रले तीतो विगत सम्झिए।

शुक्र १३ वर्षका थिए। धरानको घोपा क्याम्पस्थित निवार्णा कन्ट्री गल्फ क्लबमा त्यति बेला सूर्य नेपाल इस्टर्न ओपन गल्फ प्रतियोगिता चलेको थियो। उनका साथी तेजकुमार राई त्यहाँ क्याडीका रूपमा काम गर्थे। ठूलो प्रतियोगितामा तेजकुमारले क्याडी काम गर्नका लागि शुक्रलाई पनि लगे। शुक्रले पहिलो पटक गल्फको अनुभव त्यहीँ बटुलेका थिए।

शुक्र सानोमा साथीहरूसँग फुटबल खेल्थे। फुटबल खेलमा रम्दै आएका शुक्र त्यसपछि साथीकै संगतले गल्फमा रमाउनमा पुगे। पढाइ र गल्फलाई सँगै अगाडि बढाएका शुक्रले कक्षा ९ सम्म पढे। त्योभन्दा माथि उक्लन नसकेका शुक्रको गल्फको स्विङ भने राम्रैसँग चल्यो। शुक्रलाई गल्फमा लाग्न नेपाल गल्फ संघले सन् २०१२ मा सञ्चालन गरेको युथ गल्फ विकास परियोजनाले थप सहयोग पुर्‍यायो। जुनियर खेलाडीलाई लक्षित गरी सुरु गरिएको प्रशिक्षण क्याम्पमा उत्कृष्ट खेल देखाएपछि शुक्र युवा गल्फरका रूपमा उदाए।

विस्तारै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा पनि राम्रो प्रदर्शन गर्दै गए। शुक्रले अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा पनि उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। यस वर्ष उनी फाल्डो सिरिज गल्फअन्तर्गत यू–२१ समूहमा च्याम्पियन बन्दै अन्तर्राष्ट्रिय स्पर्धामा सहभागी भए। उनले बंगलादेशमा भएको अन्तर्राष्ट्रिय एमेच्योर ओपन गल्फ च्याम्पियनसिप पनि जिते। शुक्र अहिले नेपालमा नम्बर एक एमेच्योर खेलाडीको सूचीमा छन्। उनको घरैभरि मेडल र ट्रफीको चाङ लागेको छ।

सामान्य टहरोमा बस्दै आएका शुक्रको परिवारलाई नेपाल गल्फ संघले ६ महिनाअघि च्यारिटी गल्फ प्रतियोगिता आयोजना गरेर पक्की घरसमेत बनाइदिएको छ। शुक्रले हालै गोकर्ण फरेस्ट गल्फ रिसोर्टमा सम्पन्न सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिपमा व्यावसायिक गल्फरलाई पछि पार्दै उपाधि जिते। शुक्रले फाइनलमा व्यावसायिक गल्फर भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका थिए। चार दिनको ७२ होलमा शुक्रले ११ अन्डर दुई सय ७७ खेलेका थिए। अन्तिम राउन्डमा उनले पाँच अन्डर ६७ को उत्कृष्ट प्रदर्शन गरेका थिए।

सूर्य नेपाल गल्फ टुर नेपाली व्यावसायिक गल्फर र शीर्ष एमेच्योर खेलाडीका लागि प्रतिस्पर्धा गर्ने उत्कृष्ट थलो हो। सन् २००८ देखि सुरु भएको घरेलु टुरमा बर्सेनि नौदेखि ११ वटा प्रतियोगिता सञ्चालन हुँदै आएका छन्। व्यावसायिक गल्फरले आकर्षक धनराशि हात पार्ने टुरमा एमेच्योर गल्फरले तिनै व्यावसायिक गल्फरलाई पछि पार्दै दुर्लभ नतिजा निकालिरहेका छन्।

शुक्रले यो सिजन दोस्रो पटक व्यावसायिक गल्फरलाई हराएर मुख्य उपाधि जितेका हुन्। यसअघि शुक्रले इस्टर्न ओपन गल्फको उपाधि पनि हात पारेका थिए। यो वर्ष व्यावसायिक गल्फरलाई हराएर मुख्य उपाधि जित्ने शुक्र तेस्रो एमेच्योर खेलाडी हुन्। यसै सिजन टंकबहादुर कार्कीले टुर च्याम्पियनसिप र सुवास घिसिङले सूर्य नेपाल च्यालेन्जको मुख्य उपाधि जितेका थिए। यी तीनैजना खेलाडीलाई गल्फ संघले डिसेम्बर १ देखि १० सम्म नेपालमा आयोजना हुने १३औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जित्ने लक्ष्यका साथ प्रशिक्षण क्याम्पमा राखेको छ।

औसत चारदेखि पाँच अन्डर खेलिरहेका शुक्रको योजनाले गल्फमा नेपाललाई अन्तर्राष्ट्रिय पदक दिलाउने छ। यसका लागि उनी संघको सहयोगमा धरानमै बसेर तयारी गरिरहेका छन्। खेल्नका लागि धरान गल्फ क्लबले कोर्स र अन्य खर्चका लागि नेपाल गल्फ संघले मासिक आठ हजार रुपैयाँ सहयोग गरेको शुक्रले बताए। आठौं राष्ट्रिय खेलकुदको टिम स्पर्धामा स्वर्ण र व्यक्तिगत स्पर्धामा रजत पदक जितेका शुक्रले गल्फमै आफ्नो भविष्य देखेका छन्।

‘तयारी र मेहनत धेरै गरेको छु। सागमा नेपाललाई स्वर्ण दिलाउने मेरो अबको लक्ष्य हो। त्यसपछि व्यावसायिक गल्फर बन्ने सोच छ। भारतसम्म गएर राम्रो खेल्न सके आर्थिक हिसाबले राम्रो होला भन्ने ठानेको छु। गल्फमा यो स्थानसम्म आउन मलाई संघ र विशेषगरी अध्यक्ष तासी घलेले ठूलो सहयोग गर्नुभएको छ’, शुक्र भन्छन्, ‘उहाँहरूको लगानीलाई म खेर जान दिन्नँ।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.