जति नेता उति खेमा

जति नेता उति खेमा

काठमाडौं : सत्तारूढ नेकपा जति ठूलो दल छ, त्यत्ति नै ठूलो गुटबन्दीमा रुमल्लिएको छ। पार्टी संस्थागत रूपमा भन्दा शीर्ष नेताका तजबिजीका आधारमा सञ्चालन भइरहेको छ। वैचारिक/राजनीतिक कार्यदिशाका आधारमा गुट बनेको छैन। मौलाएका छन् त परम्परागत गुटमात्रै। त्यही गुट ‘प्रभावी’ बन्दा कतिपय संगठनात्मक निर्णयसमेत अवरुद्ध छ।

एकीकरण भएको एक वर्षसम्म पार्टी संरचना तल्लो तहमा पुग्न नसक्नु, केन्द्रीय नेताहरूले नै कामको जिम्मेवारी नपाउनु र पोलिटब्युरो गठनमा सकस पर्नुमा आन्तरिक गुटबन्दी प्रमुख कारण रहेको नेताहरू नै स्वीकार्छन्।

गुटबन्दी मौलाएकै कारण तत्काल पोलिटब्युरो नबन्ने भएको छ। केन्द्रीय नेताको कार्य विभाजनमा पनि एक पक्षले अर्काे पक्षको बनिबनाउ गुट भत्काउने र एकअर्कामा अविश्वास पैदा गराउने रणनीति अवलम्बन हुन थालेको छ। त्यसको पछिल्लो उदाहरण हो– पार्टीभित्र प्रभावशाली मानिने संगठन विभाग, स्कुलिङ विभाग र अन्तर्राष्ट्रिय विभागमा नेताहरूका आआफ्नै स्वार्थ टकराव।

नेकपामा अध्यक्ष केपी ओली, पुष्पकमल दाहाल र वरिष्ठ नेता माधव नेपालको बलियो गुट केन्द्रदेखि तल्लो तहसम्मै छ। वरिष्ठ नेता झलनाथ खनाल गुट बनाउने कसरतमा छन्। प्रवक्ता नारायणकाजी        श्रेष्ठ आफ्नो गुट रक्षामा लागेका छन्। वामदेव गौतम भत्किँदै गएको गुट सम्हाल्ने कोसिसमा छन्। रामबहादुर थापा गुटलाई तलसम्मै विस्तारित गर्ने योजनामा छन्। ईश्वर पोखरेल र महासचिव विष्णु पौडेल अध्यक्ष ओलीसँगै रहेर आफू मातहत छुट्टाछुट्टै गुट बनाउन सक्रिय छन्।

सचिवालयका ९ नेताको ९ थरी गुट सतहमै टकराउन थालेको एक स्थायी समिति सदस्य बताउँछन्। आफू सुरक्षित हुने गरी सबै नेता पार्टीभित्र आआफ्नै समूह निर्माणमा कस्सिएका छन्। कोही आफ्नो छुटै मूल गुट नै चलाउँछन् त कोही मुख्य नेताको साथ लिएर सहयोगी गुट।

पार्टी र सरकार सञ्चालनबारे नेताहरू माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठको मत मिलेको छ। अध्यक्ष ओलीलाई महासचिव पौडेल र सचिवालय सदस्य ईश्वर पोखरेलको साथ देखिन्छ। अर्का अध्यक्ष दाहाल पार्टीभित्र देखिन थालेका गुटबन्दीमा सन्तुलनकारी भूमिकामा देखिन खोजिरहेका छन्। ओलीसँग पार्टी एकताका क्रममा भएको ‘भित्री सहमति’ का कारण दाहाल सन्तुलनकारी भूमिकामा देखिन खोजेका हुन्। थापा भने मौन बस्न रुचाइरहेका छन्। निकटता देखाउनैपर्दा दाहाल नेपालसहितको चार नेताको सचिवालय सदस्यतिर नजिक देखिएका छन् भने थापा ओलीतिर।

दाहालले पार्टी एकता पूर्वप्रधानमन्त्री ओलीसँग लिखित सहमति भएको र त्यो सहमति कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको अभिव्यक्ति दिइसकेका छन्।

‘एउटा नेताका हैसियतले मेरो जिम्मेवारी पनि राम्रोसँग परिभाषित हुनुपर्छ। त्यसो भएमा सरकारको नेतृत्व एउटा अध्यक्षले, पार्टीको नेतृत्व एउटा अध्यक्षले गर्दा सन्तुलन मिल्छ र म फेरि प्रधानमन्त्री भइराख्न पर्दैन। म पार्टी अध्यक्षको भूमिका राम्रोसँग खेल्छु। अहिले हाम्रो पार्टी पंक्ति र लिडरसिप लेबलमा छलफल चलिराखेकै छ’, दाहालले एक टेलिभिजन अन्तरवार्तामा भने।

दाहालको यो अभिव्यक्तिले पनि नेकपाभित्र अब चर्काे बहस हुने देखिन्छ। नेताहरूका आआफ्नै पूर्ववत् समूह यथावत् छ। तर एकअर्काे समूहका बीचमा नेताहरूले स्वार्थ केन्द्रित चलखेल सुरु गरेको देखिन्छ।

नेकपामा दुई अध्यक्षका मात्र होइन, सचिवालका ९ जनाकै प्रत्यक्ष–अप्रक्ष गुट छन्। कोही आफ्नो छुट्टै मूल गुट चलाउँछन् त कोही मुख्य नेताको साथ लिएर उप–गुट। नेकपामा वैचारिक लाइन बनिनसक्दै संगठनात्मक गुटबन्दी फस्टाएको छ।

तत्कालीन एमाले खेमाले तत्कालीन माओवादी खेमाभित्र र माओवादी खेमाले एमाले खेमाभित्रका समूहमा खेल्न खोजेका छन्। गृहकार्यमा रहेको केन्द्रीय नेताहरुको कार्य विभाजनअन्तर्गत संगठन विभागमा चार नेतामा देखिएको रस्साकस्सी यसैको परिणति हो।

अध्यक्ष दाहालसहितका नेताहरूले संगठन विभागमा नेता वामदेव गौतमलाई प्रस्ताव अगाडि सारिरहँदा ओलीले मानेका छैनन्। उनी पार्टी सचिवालयकै बहुमत सदस्यले गौतमलाई अगाडि सारिरहँदा माओवादीभित्र चलखेल गर्न थापालाई अगाडि सार्न तयार देखिएका छन्। कतिपय नेताहरुले यसलाई एकअर्काे समूहभित्रको चलखेलका रूपमा अथ्र्याउन थालेका छन्।

संगठन विभागमा नेता ईश्वर पोखरेल र विष्णु पौडेलले पनि रुचि देखाएका छन्। तर सचिवालयका ५ भाइविरुद्ध मोर्चा कस्न ओलीको प्रस्तावमा थापालाई अगाडि सार्न पौडेल र पोखरेल पनि लचिलो बनेको नेकपा स्रोत बताउँछ। अध्यक्ष ओलीले आफूविरुद्ध हुन खोजेको मोर्चाबन्दी भत्काउन थापा कार्ड फ्याँक्न खोजेको बुझाइ ओलीइतर नेताहरूको छ। एक नेता भन्छन्, ‘पूर्ववत् समूह भत्काउने र नयाँ समीकरण बनाउने प्रयास नेकपामा जारी छ। यस्तो प्रयास नेताहरूलाई दिइने जिम्मेवारी र गठन हुने संगठनात्मक कमिटीमा मुखरित भइरहेका छन्।’

कुन गुट कस्ता ?       

अध्यक्ष ओलीसँग स्थायी गुट छ। उनको गुटका नेताहरू एकढिक्का छन्। अन्य नेताहरूसँग रहेका नेतालाई आफ्नो समूहभित्र ल्याउन उनले अनेक उपाय खोजिरहेका छन्। तत्कालीन एमालेभित्र रहँदै सुरुमा आफ्नो शक्ति बलियो बनाउन वामदेव गौतमसँग सम्झौता गरेका ओलीको आँखा अहिले आफ्नै क्याबिनेटमा गृहमन्त्रीसमेत रहेका थापाको समूहमाथि पर्न थालेको छ।

दाहाल र नेपालको समूह मिल्दा आफू अल्पमतमा पर्न सक्ने भय अध्यक्ष ओलीलाई छ। त्यसैले उनले साना समूहका थापालाई आफूतिर आकर्षित गर्न तत्कालीन माओवादीभित्र चलखेल गर्ने योजना बनाएको आँकलन छ। गृहमन्त्री थापासँग केन्द्रीय समितिदेखि पार्टीका प्रदेश, जिल्ला कमिटी र जनवर्गीय संगठनमा उपस्थिति अध्यक्ष ओली, दाहाल र नेता नेपालपछि चौथो पोजिसनमा छ। थापा गुटमा नेताहरू देवप्रसाद गुरुङ, पम्फा भुसाल, हितमान शाक्य, कुलप्रसाद केसी, सावित्रीकुमार काफ्ले र सूर्यप्रकाश सुवेदी, श्रीराम ढकाल, सुरेश आलेमगर, अमृता थापामगर, इन्द्र आङबो, नरेश भण्डारी, महेश्वर दाहाल, लेखनाथ न्यौपाने, मायाप्रसाद शर्मा, यशोदा सुवेदीलगायत नेता छन्।

अध्यक्ष ओलीसँग सचिवालय सदस्य ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरेल, प्रदीप ज्ञवालीलगायत छन्। ओलीले विगतमा वामदेव गुटमा रहेका नेताहरू किरण गुरुङ र रघुवीर महासेठलगायतलाई पनि आफ्नो समूहमा तान्न सफल भइसकेका छन्। सत्यनारायण मण्डल, छविलाल विश्वकर्मा, विष्णु रिमाल पनि उनको गुटमा छन्।

अध्यक्ष दाहालसँग अहिलेसम्म पूर्ववत् पार्टीका नेताहरू साथमा छन्। यतिबेला उनको नजर नेताहरू वामदेव गौतम र झलनाथ खनालतिर परेको छ। आफ्नो पूर्ववत् समूहको रक्षा गर्दै तत्कालीन एमाले खेमाबाट गौतम, खनाल, घनश्याम भुसाल, योगेश भट्टराईलाई आफूतिर तान्ने प्रयत्नमा दाहाल छन्। नेपाल पनि आफूतिर तानेर उनी नेता बन्न खोज्दैछन्। तर नेता नेपाल आउँदो महाधिवेशनमा अध्यक्ष लड्ने कसरतमा छन्। यी दुई नेताको मिलापले गुट निर्माणमा भूमिका खेल्ने नेपाल निकट एक स्थायी समिति सदस्य बताउँछन्।

ती नेताका अनुसार दाहाललाई दह्रो रूपमा अड्याउन माधव नेपालले आफ्नो शक्ति देखाउनुपर्छ। ‘दाहाल पनि ओलीको कार्यशैलीबाट आजित छन्। ओलीसँग सौदाबाजी हुन्न। भए पनि ओलीलाई ठूलो बनाउने गरी मात्र हुन्छ। बराबरको सौदाबाजी हुन्न भन्नेमा दाहालजी कन्भिस हुनुहुन्छ’, ती नेता भन्छन्, ‘प्रचण्डलाई दरिलो गरी अड्याउन माधव नेपालले शक्ति देखाउन सक्नुपर्छ।’

दाहालसँग नेताहरू वर्षमान पुन, जनार्दन शर्मा, अग्नि सापकोटा, हरिबोल गजुरेल, लेखराज भट्ट, शक्ति बस्नेत, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, चक्रपाणि खनाल छन्।

प्रवक्ता नारायणकाजी श्रेष्ठ, गिरिराजमणि पोखरेलतगायत नेता पनि दाहालसँगै छन्। तर श्रेष्ठको नेतृत्वमा अलग्गै समूह छ। श्रेष्ठसँग गिरिराजमणि पोखरेल, विश्वनाथ साह, अन्जना बिसंखे, राजु खड्का, जीवन गौतमलगायत छन्। मणि थापा, मातृका यादवलगायत पनि दाहालसँगै छन्।

वरिष्ठ नेता नेपाल अध्यक्षद्वयको कार्यशैलीमा सन्तुष्ट छैनन्। पार्टीभित्र दुई नेताले अन्य नेतालाई बाइपास गरेको, संगठनात्मक निर्णय प्रक्रियामा तत्कालीन एमालेभित्र ओलीले आफ्नो पक्षलाई पेल्ने रणनीति अवलम्बन गरेको जस्ता विषयमा नेपाल असन्तुष्ट छन्।

उनले यसका लागि बेलाबेला असन्तुष्टि पोख्दै मात्र आएका छैनन्, खरो रूपमा आवाज पनि उठाइरहेकै छन्। उनीसँग भीम रावल, वेदुराम भुसाल, युवराज ज्ञवाली, रघुजी पन्त, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, योगेश भट्टराईलगायत छन्। झलनाथ र वामदेवले पनि उनका एजेन्डामा भने साथ दिइरहेका छन्।

वामदेव चुनावमा आफ्ना विरुद्ध अन्तरघात गर्नेमाथि कारबाही नगरिएको, अन्तरघात गर्नेलाई एकतापछि प्रदेश कमिटी सदस्य बनाइएको, उपचुनावमा लड्ने योजनामा रोक लगाएको र शक्तिशाली पुनर्निर्माण प्राधिकरण गठन गरेर नेतृत्व लिन खोज्दा राष्ट्रिय गौरवका आयोजना आपंmै मातहत राखेर प्रधानमन्त्री ओलीले जिम्मेवारी दिन नचाहेको भन्दै गौतम ओलीसँग चिढिएका थिए।

उनको गुटसमेत ओलीले भत्काइदिएको बुझाइमा यतिबेला गौतम छन्। उनी निकट नेताहरू किरण गुरुङ, रघुवीर महासेठलगायत ओलीतिर लागेका छन्। गौतमसँग उमादेवी कोइराला, केशवलाल        श्रेष्ठ, गणेशसिंह ठगुन्ना, दलबहादुर राना, पद्मा अर्याल, बलराम बास्कोटा, यामलाल कँडेल, राधाकुमारी ज्ञवाली, सावित्राकुमारी भुसाल, हरिप्रसाद पराजुली, जुलीकुमारी महतो, सुरेन्द्र मानन्धर, मोहन बानियाँ, लक्ष्मणराज ज्ञवालीलगायत छन्।

झलनाथ खनालसँग पनि भीम आचार्य, पुरुषोत्तम पौडेल लगायत छन्। ईश्वर पोखरेल भने पार्टीमा नयाँ धारको नेतृत्व गर्न खोज्दैछन्। पार्टी एकता नभएको भए उनी माधव नेपालसँग ओलीको साथ लिएर अध्यक्षमा प्रतिस्पर्धा गर्ने योजनामा थिए। तर एकतापछि भएको महासचिव पदसमेत गुमाएका पोखरेल अहिले आफूलाई असुरक्षित महसुस गरिरहेका छन्। त्यही कारण पनि उनी गुट बलियो बनाउने कसरतमा छन्। उनी निकट एक नेताका अनुसार क्षयीकरणपछि असुरक्षित महसुस गरिरहेका तत्कालीन एमालेका नेताकार्यकर्ताको सेन्टिमेन्ट क्याच गर्ने र आफू वरिपरि ती नेताकार्यकर्तालाई गोलबद्ध गर्ने दाउमा पोखरेल देखिएका छन्।

विगत २५ वर्षदेखि निरन्तर पार्टीको संस्थापन नजिक रहेर काम गर्दै आएका पोखरेलले पार्टीमा वैचारिक बहस सुरु गर्नुपर्ने भन्दै आफूलाई अगाडि बढाउन खोजेका छन्। एकताका क्रममा स्थगित जबजको राजनीतिक कार्यदिशालाई पार्टीले आत्मसात् गरेर जानुपर्ने भन्दै उनी देशव्यापी अभियानमा जान खोजेका छन्।

पार्टीभित्र बहुकेन्द्र भन्दा एउटै केन्द्रका पक्षमा छन् पोखरेल। पोखरेल र गौतमीच द्वन्द्व चलेको छ। ओलीको विश्वास जितेर छुट्टै समूह चलाउने उनको प्रयास रहेको उनी निकट नेताहरू बताउँछन्। सूर्य थापा, राजेन्द्र गौतम लगायत उनी निकट एक दर्जन नेताहरू केन्द्रीय कमिटीमा छन्।

भेनेजुयला प्रकरणमा अध्यक्ष दाहालसँग, रामवीर प्रकरणमा वामदेव गौतमसँग, प्रदेश पदाधिकारी चयनलगायत संगठनात्मक काममा वरिष्ठ नेता नेपालसँग पोखरेलले ‘टसल’ गरेका थिए।

नेपाल निकट केन्द्रीय सदस्य जगन्नाथ खतिवडा पार्टी कसरी चलाउने, कुन विधिमा पार्टीलाई हिँडाउने भन्नेमा केन्द्रित रहेर नेताहरूमा धु्रवीकरण भइरेहको बताउँछन्। ‘पार्टी संस्थागत रूपमा चलेको छैन। विधि र पद्धतिमा आधारित भएर पार्टी चलाउनुपर्छ। कुनै नेताको मात्र मनमौजीमा पार्टी चलाइनु हुन्न भन्ने र तजबिजीका आधारमा पार्टी चलाउने खोज्नेबीच धु्रवीकरण तीव्र हुन थालेको छ,’ खतिवडा भन्छन्, ‘यो लडाइँमा कसले कसरी आफ्नो भूमिका खेल्छ र पार्टीले कुन बाटो पक्डिन्छ भन्ने अहिल्यै भन्न सकिने अवस्था छैन।’

अर्का केन्द्रीय सदस्य रामदीप आचार्य नेकपामा विचार नै नबनिसकेको कारण तत्काल देखिएका गुटलाई पार्टीभित्रका समूहका रूपमा बुभ्mन नसकिने बताउँछन्। ‘नेकपामा विचार बनेको छैन। तत्कालीन एमालेको माओवादीले बोक्ने र तत्कालीन माओवादीको एमालेले बोकेर नेकपा बन्दैन। वैचारिक एकता नभएसम्म संगठनात्मक एकतामा परिणत हुदैन’, आचार्य भन्छन्, ‘अहिले जे जस्तो समीकरण बन्ने देखिए पनि विचारको बहसबाट नयाँ संश्लेषण गर्ने क्रममा पार्टीभित्र नयाँ धु्रवीकरण बन्छ।’

वैचारिक गुटबन्दी !

नेकपाभित्र वैचारिक क्षेत्रमा हुन थालेको बहसले नयाँ ध्रुवीकरण निम्ताउने नेताहरूको बुझाइ छ। वैचारिक बहसका क्षेत्रमा तत्कालीन माओवादीभित्र एकमत देखिने भए पनि एमालेभित्र भने धु्रव्रीकरण हुने सम्भावना देखिएको छ।

‘पीएमको जबजका विषयमा आइरहेको भाषणमा यो छोडेर जाने कहाँ भन्ने देखिन्छ। एमालेभित्र यही पक्डिने वा त्यसबाट नयाँमा जाने भन्नेमा वैचारिक धार छन्’, एक नेताले भने, ‘घनश्याम भुसाल छोडेर नयाँ विकासमा जानुपर्छ भन्नेमा छन्। ईश्वर पोखरेलले जबजकै पक्षमा उभिएर अभिव्यक्ति दिइसक्नुभयो। माओवादी पक्षका नेताहरू भने विचारको बहसमा एक ठाउँमै देखिन्छन्, नयाँ संश्लेषण गरेर जानका लागि।’

उनका अनुसार दाहाल, थापा र नारायणकाजीको यसमा समान धारणा छ– समाजवादको आधार तयार पार्दै अगाडि बढ्ने। एक नेता भन्छन्, ‘विचारका आधारमा संगठन निर्माण गर्ने कम्युनिस्ट हुन् भने त्यही आधारमा समूह बन्छन् र भत्कन्छन्। अहिले देखिएका समीकरण स्थायी नबन्न सक्छन्। तर अहिले त आफ्नो मान्छे सेटिङका लागि मात्र गुट बनेका छन्। गुट स्थायी नहुन सक्छन्।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.