दक्षिण अफ्रिकालाई रोक्ने दाउमा बंगलादेश

दक्षिण अफ्रिकालाई रोक्ने दाउमा बंगलादेश

लन्डन : आईसीसी विश्वकप क्रिकेटअन्तर्गत आइतबार दक्षिण एसियाली टोली बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्दै छ। यी दुई राष्ट्रबीचको खेल दी ओभल मैदानमा अपराह्न ३ः१५ मा सुरु हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेटमा स्थापित राष्ट्र भए पनि यी दुवै टोलीले हालसम्म विश्वकपको उपाधि जित्न सकेका छैनन्।

दक्षिण अफ्रिका वर्तमान विश्व क्रिकेटको शक्तिशाली राष्ट्र हो। तर, विश्वकपको उद्घाटन खेलमा दक्षिण अफ्रिका आयोजक इङ्ल्यान्डसँग एक सय चार रनले पराजित भएको थियो। पहिलो खेलको हारले पनि दक्षिण अफ्रिकामाथि बंगलादेशलाई हराउनैपर्ने दबाब थपिएको छ। बंगलादेश पनि दक्षिण अफ्रिकालाई हराएर विश्वकपमा सुखद सुरुआत गर्ने अभियानमा छ। पहिलो खेलमा दक्षिण अफ्रिकालाई पन्छाउँदै आत्मबल बलियो बनाउने दाउ बंगलादेशको छ।

विश्वकपको सुरुका चार संस्करणमा दक्षिण अफ्रिकामा व्याप्त रंगभेद नीतिका कारण दक्षिण अफ्रिकालाई सहभागी गराइएको थिएन। दक्षिण अफ्रिका सन् १९९२ मा सम्पन्न पाँचौं संस्करणदेखि विश्वकपमा सहभागी भएको हो। पहिलो विश्वकपमा भने पूर्वी अफ्रिकाले विश्वकपमा अफ्रिकी महादेशको प्रतिनिधित्व गरेको थियो।

विश्वकपमा दक्षिण अफ्रिकाको इतिहास त्यति गर्विलो छैन। हालसम्म फाइनलमा पुग्न नसकेको दक्षिण अफ्रिका सन् १९९२ को विश्वकपको सेमिफाइनलमा इङ्ल्यान्डसँग २० रनले पराजित भएको थियो। त्यसपछि सन् १९९६ मा वेस्ट इन्डिजसँग क्वार्टरफाइनलमा १९ रनले पराजित भएको थियो। त्यसपछि सन् १९९९ को विश्वकपको सेमिफाइनलमा अस्ट्रेलियासँग पछि परेको थियो।

त्यसपछि सन् २००३ को विश्वकपमा दक्षिण अफ्रिका समूहगत चरणबाटै बाहिरियो। सन् २००७ को विश्वकपको सेमिफाइनलमा दक्षिण अफ्रिकालाई अस्ट्रेलियाले सात विकेटले पराजित गर्‍यो। सन् २०११ विश्वकपमा क्वार्टरफाइनलमा न्युजिल्यान्डसँग ४९ रनले पराजित भएको दक्षिण अफ्रिका सन् २०१५ मा भने सेमिफाइनलमा डकवर्थ एन्ड लेविस नियमका आधारमा न्युजिल्यान्डसँग चार विकेटले स्तब्ध भयो। यस विश्वकपको पहिलो खेलमा आयोजकसँग हार खेपेकाले बंगलादेशसँगको खेललाई दक्षिण अफ्रिकाले निकै महत्व दिएको छ। विश्वकपअघि दक्षिण अफ्रिकाले दक्षिण एसियाली अर्को टोली श्रीलंकालाई अभ्यास खेलमा ८७ रनले हराएको थियो।

यसैगरी बंगलादेश पनि दक्षिण अफ्रिकालाई हराएर सुखद सुरुआत गर्न चाहन्छ। सन् १९९९ देखि विश्वकपमा प्रवेश गरेको बंगलादेशको यो छैटौं सहभागिता हो। विश्वकपमा बंगलादेशको प्रदर्शन त्यति सन्तोषजनक छैन। बंगलादेशले पछिल्लो दुई विश्वकपमा अन्तिम आठसम्म प्रवेश गरेको थियो। बंगलादेश यसअघि सन् २००७ र २०१५ मा सुपर आठमा प्रवेश गरेको थियो। बंगलादेशको विश्वकपमा छवि भनेको जुनसुकै टोलीलाई हराउन सक्ने क्षमता हो।

बंगलादेशी टोलीमा अनुभवी खेलाडीको वर्चस्व छ। मुस्फिकर रहिम प्रभावशाली खेलाडी हुन्। तीनवटा एकदिवसीय विश्वकप खेलिसकेका अनुभवी रहिमको ब्याटिङ बंगाली टोलीका लागि वरदान हुनेछ। सकिब अल हसनको उपस्थितिले पनि टोली थप बलियो देखिएको छ। टोलीका अलराउन्डर सकिव अल हसनले पनि दक्षिण अफ्रिकामाथि प्रभाव जमाउन सक्नेछन्।

टोलीमा आठ जना यसअघि विश्वकप खेलिसकेका खेलाडी छन्। मस्रफे मोर्तजाको कप्तानीमा रहेको बंगाली टोलीमा तमिम इकबाल, लिटन दास, सौम्य सरकार, मुस्फिकुर रहिम, महमुदुल्लाह रियाद, सकिब अल हसन, मोहम्मद मिथुन, सब्बिर रहमान, मासादेक हुसेन, मोहम्मद सैफुदिन, मेहिदी हसन, रुवेल हुसेन, मुस्ताफिजुर रहमान र अबु जायद जस्ता अनुभवी खेलाडी छन्। तमिम इकबाल शनिबार अभ्यासका क्रममा घाइते भएकाले खेल्न नसक्ने बताइएको छ। बंगलादेशले विश्वकपअघि वेस्ट इन्डिज र आयरल्यान्ड सम्मिलित त्रिदेशीय शृंखला जितेको थियो। पाकिस्तान र भारतसँगको अभ्यास खेलमा भने पराजित भएको थियो। बंगलादेश पाकिस्तानसँग आठ विकेट र भारतसँग ९५ रनले पराजित भएको थियो।

यद्यपि दक्षिण अफ्रिकासँगको विगत बंगलादेशको त्यति राम्रो छैन। यसअघि दुई देशबीच २० वटा एकदिवसीय भिडन्तमा दक्षिण अफ्रिका सबल देखिएको छ। दक्षिण अफ्रिकाले १७ खेल जितेको छ। बंगलादेशले तीन खेल मात्र जितेको छ। बंगलादेशले हालसम्म विश्वकपमा ३२ खेल खेलेको छ। ती खेलमा ११ जित र २० हार खेपेको छ।

दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो हतियार बलिङ हो। तीव्र गतिका बलर कागिसो राबडा र लुन्गी निग्दीबाट दक्षिण अफ्रिकाले निकै आशा गरेको छ। पहिलो खेल आयोजकसँग गुमाएपछि दुःखी देखिएको दक्षिण अफ्रिकाले बंगलादेशविरुद्ध बलिङमा कागिसो राबडा, लुन्गी निग्दी र इमरान ताहिर तथा ब्याटिङमा क्विन्टन डी कक, फाफ डु प्लेसिस र हासिम अमलाबाट ठूलो आशा गरेको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.