पाकिस्तानको सानदार पुनरागमन, इङ्ल्यान्डका दुई शतक खेर
नटिङ्घम : पाकिस्तानले आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा सानदार जित हात पारेको छ । नटिङ्घममा सोमबार भएको खेलमा पाकिस्तानले घरेलु टोली इङ्ल्यान्डलाई १४ रनले हरायो । पहिलो खेलमा निराशाजनक प्रदर्शन गर्दै वेस्ट इन्डिजसँग सात विकेटले पराजित भएको पाकिस्तानले दोस्रो खेलमा जित हात पारेको हो ।
टस हारी पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर ३४८ रन जोड्यो । पाकिस्तानका लागि तीन खेलाडीले अर्धशतक बनाए । मोहम्मद हाफिजले टोलीका लागि ८४ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका मोहम्मद हाफिजले केवल ६२ बलको सामना गरी दुई छक्का र आठ चौका प्रहार गरे ।
बाबर आजमले पनि टोलीको खातामा ६३ रन थपे । उनले ६६ बलको सामना गरी एक छक्का र चार चौका हिर्काए । कप्तान सरफराज अहमदले पनि ५५ रन बटुले । विकेटकिपर ब्याट्सम्यान सरफराज अहमदले ४४ बलको सामना गरी पाँच चौका प्रहार गरे । त्यसअघि इमाम उल हक र फाखर जामनले ओपनिङ विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए ।
इमाम उल हकले ५८ बलमा एक छक्का र तीन चौकाको मद्दतले ४४ रन बनाए । फाखर जामनले भने ४० बलको सामना गरी ६ चौकाको मद्दतले ३६ रन बटुले । आसिफ अली १४ रनमा पेभेलियन फर्किए भने । हसन अली र सदाब खानले अविजित १०÷१० रन थपे । घरेलु टोली इङ्ल्यान्डका बलर क्रिस वाक्स र मोइन अलीले तीन÷तीन विकेट लिए । मार्क उडले पनि दुई विकेट हात पारे ।
यसैगरी ३४९ रनको विजय लक्ष्य पछ्याएको घरेलु टोली इङ्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३३४ रन बनाउन सकेको थियो । इङ्ल्यान्डका लागि जोय रुट र जोस बटलरले शतकीय प्रदर्शन गरेपनि टोलीलाई जिताउन सकेनन् । रुटले सर्वाधिक १०७ रन बनाएका थिए । १०४ बलको सामना गरेका रुटले एक छक्का र १० चौकाको मद्दतमा उक्त रन बनाएका थिए । यस्तै जोस बटलरले १०३ रन बनाए । ७६ बलको सामना गरेका बटलरले दुई छक्का र नौ चौका हानेका थिए ।
जोनी बइरस्टोले ३२ रन बनाए । ३१ बलको सामना गरेका जोनीले एक छक्का र चार चौका हानेका थिए । क्रिस वेक्सले २१ र मोइन अलीले १९ रन बनाए । बेन स्टोक्स १३ रनमै पेभेलियन फर्किए । मार्क उडले अविजित १० रन बनाएका थिए ।
पाकिस्तानका वाहव रियाजले सर्वाधिक तीन विकेट लिए । सदाव खान र मोहम्मद अमिरले दुई÷दुई तथा मोहम्मद हाफिज र सोयव मलिकले समान एक÷एक विकेट लिएका थिए । मोहम्मद हाफिज म्यान अफ दी म्याच भए । पाकिस्तानसँगको हारले घरेलु टोली इङ्ल्यान्डलाई केही धक्का लागेको छ । ङ्ल्यान्डले उद्घाटन खेलमा दक्षिण अफ्रिकालाई १०४ रनको फराकिलो अन्तरले हराएको थियो ।
पहिलो खेलमा वेस्ट इन्डिजसँग लजास्पद हार व्यहोरेको पाकिस्तानले दोस्रो खेलमा बलियो इङ्ल्यान्डविरुद्ध उत्कृष्ट खेल प्रस्तुत गरी आफूलाई विश्वकपको प्रबल दाबेदारकोरुपमा प्रस्तुत गरेको छ।