आउट भएपछि फेड्रिक्सको कीर्तिमान
विश्वकप क्रिकेटको इतिहासमा ‘हिट दी विकेट’ भएर आउट हुने पहिलो ब्याट्सम्यान वेस्ट इन्डिजका रोय फेड्रिक्स हुन् । सन् १९७५ मा इङ्ल्यान्डमा सम्पन्न पहिलो विश्वकपको फाइनल खेलका क्रममा उनी ‘हिट दी विकेट’ का रूपमा आउट भएका थिए । ओपनर ब्याट्सम्यान फेड्रिक चर्चित अस्ट्रेलियन बलर डेनिस लिलीको बाउन्समा बाउन्ड्री प्रहार गर्ने क्रममा ‘हिट दी विकेट’ भएका थिए ।
फेड्रिकले डेनिसको बाउन्समा छक्का त प्रहार गरे तर, सन्तुलन बिग्रिएर उनको बायाँ खुट्टा स्टम्पमा ठोक्किन पुग्यो । त्यसपछि अम्पायरले उनलाई आउट दिए । सोही कारणले १३ बलमा केवल सात रन बनाएर आउट भए पनि फेड्रिक ऐतिहासिक खेलाडी बन्न पुगे । सो विश्वकपको फाइनलमा वेस्ट इन्डिजले अस्ट्रेलियालाई १७ रनले हराउँदै उपाधि चुमेको थिए ।
फेड्रिक एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिताको इतिहासमा पनि यसरी आउट हुने पहिलो खेलाडी हुन् । उनले वेस्ट इन्डिजका लागि १२ वटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगितामा मात्र खेलेका थिए ।
१२ खेलमा उनले कुल तीन सय ११ रन बनाएका थिए । एकदिवसीय प्रतियोगिताको एक खेलमा उनले एक सय १२ रन बनाएका थियो । सन् २००० को सेप्टेम्बरमा केवल ५७ वर्षको उमेरमा घाँटीको क्यान्सरका कारण उनको निधन भएको थियो ।